२०८३ जेष्ठ २७

काठमाडौँको बसुन्धारामा गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बुधबार बिहान करिब २: ५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा पनि क्षति पुगेको छ । त्यसैगरी लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

फ्लाइ दुबईलाई पोखराबाट उडान सञ्चालन गर्ने अनुमति

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो ।

उच्चस्तरीय सुरक्षा, सुरक्षित सञ्चालन र प्राविधिक निरीक्षण सम्पन्न भएपछि उक्त सेवा सञ्चालनको बाटो खुलेको हो । यससँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने आधार तयार भएको बताइएको छ ।

फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो। 

पोखरा महानगरका नगर प्रमुख धनराज आचार्यले यो निर्णयलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसरका रूपमा लिएका छन् । उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार र काठमाडौँ केन्द्रित हवाई चाप घटाउन सहयोग गर्नेछ ।

उनले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने ऐतिहासिक यात्रामा सबैको साथ, सहयोग र शुभेच्छा आवश्यक रहेको बताएका छन् ।

करिब २२ अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरी १ मा उद्घाटन गरिएको भएपनि हाल आन्तरिक उडानमा मात्र सीमित रहेको छ ।

Read More

सुन एकैदिन तोलाको १० हजार एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९२५ मा कारोबार भएको थियो ।

Read More

धनगढीबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ।  कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सत्कार चोक नजिकबाट कटुवा पेस्तोल तथा विभिन्न शंकास्पद सामग्रीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय साहिल खान रहेका छन् ।

मंगलबार राति करिब १०: २५ बजे प्राप्त विशेष सूचनाका आधारमा प्रहरीले खान बस्दै आएको कोठामा खानतलासी गरेको थियो । सो क्रममा प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान रेन्च, एक थान चाँदीको करुवा, चाँदीजस्तो देखिने दुई थान घाँटीमा लगाउने माला, दुई थान टर्चलाइट, एक थान फलामको रड, एक थान डिजिटल काटा तथा एक थान खुकुरी बरामद गरेको जनाएको छ ।

बरामद गरिएका सामग्रीसहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

नेपाल थाइल्याण्डसँग पराजित, महिला एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपालले महिला एशिया कपमा छनौट हुन असफल भएको छ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टिम एशिया कपमा छनौट हुन असफल भएको हो ।

क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

यसअघि पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १३० रन बनाएको थियो ।    

त्यस्तै सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एशिया कपमा पुगेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र एशिया कपमा छनौट भएको छ ।   

Read More

पाकिस्तानको अफगानिस्तानमा हवाई आक्रमण, ११ बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानको डुरान्ड सीमारेखा नजिकका विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको छ ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान हवाई क्षेत्र उल्लङ्घन गर्दै केही तस्बिर सार्वजनिक गर्दै मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तानी सेनाले अफगानिस्तानको कुनार, खोस्त र पक्तिका प्रान्तमा रहेका सर्वसाधारणका घरमा बमबारी गरेको बताएका छन् ।

उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्धको मृत्यु भएको छ। साथै १४ जना महिला र बालबालिका घाइते भएका छन् ।

तालिबान सरकारका प्रवक्ताले घटनालाई ‘मानवताविरुद्धको अपराध’ तथा ‘आक्रामक कार्य’को संज्ञा दिँदै कडा निन्दा गरेका छन् । घटनाबारे पाकिस्तान सरकारले भने समाचार सार्वजनिक हुँदासम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

पछिल्ला केही महिनायता तालिबान सरकार र पाकिस्तानबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ। यसै वर्षको मार्च महिनामा पाकिस्तानले अफगानिस्तानभित्र एक केन्द्रमा आक्रमण गरेको बताइएको थियो। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहायता नियोगका अनुसार उक्त आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो। वास्तविक मृतक संख्या अझ बढी हुन सक्ने पनि नियोगले जनाएको थियो।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानको तालिबान सरकारमाथि आफ्नो भूमिमा हुने आतङ्कवादी गतिविधिलाई प्रोत्साहन दिएको आरोप लगाउँदै आएको छ। तर तालिबा

Read More

अर्थमन्त्री वाग्लेको दाबि- आर्थिक विधेयकमा त्रुटी सच्याइएको हो, करको सुचना चुहावट भएको छैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटी सच्याइएको स्पष्ट गरेका छन् ।

बुधबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा ५-६ वटा कुरा सच्याएको र सांसद्लाई विधेयकसँगै जानकारी गराइएको स्पष्ट गरेका हुन् ।

उनले अर्थमन्त्रीलाई बदनाम गराउन संगठित गिरोह लागेको दाबी गर्दै सवारी साधन नियमित प्रक्रियामा आएकाले कर छलेको भनेर बीवाईडी भनेर गलत प्रचार भइरहेको गुनासो गरे । 

आर्थिक विधेयक सच्याइएको विषय सांसदलाई नै दिएको बताउँदै आफू र आफ्नो टिमबाट सूचना चुहावट नभएको दाबि गरेका छन् । उनले आफूमाथि लागेको आरोप प्रथम दृष्टिमै खण्डित रहेको बताउदै आर्थिक विधेयक र करमा विषयमा प्रकाशन भएका विषयप्रति अर्थमन्त्री डा. वाग्ले सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन् । 

अर्थमन्त्री वाग्लेआफुले उत्कृष्ट बजेट ल्याएको दाबि गर्दै बदनाम गर्न सकिन्छकी भनेर प्रयास गरिरहेको धारणा राखेका थिए ।

Read More

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको २०३० सम्म अन्त्य, प्रशान्त महासागरमा खसालिने

काठमाडौँ । पृथ्वीबाट करिब ४०० किलोमिटर माथि विगत २५ वर्षदेखि मानव जातिको सबैभन्दा ठूलो अन्तरिक्ष प्रयोगशालाका रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अब आफ्नो अन्तिम चरणमा पुगेको छ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ देखि प्रक्रिया सुरु गर्दै सन् २०३० भित्र यसलाई सुरक्षित रूपमा पृथ्वीमा खसाल्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नासाले करिब एक अर्ब अमेरिकी डलर अर्थात् झण्डै ९ हजार ५०० करोड रुपैयाँ बराबरको योजना तयार गरेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले आफ्नो निर्धारित आयु पूरा गरिसकेको छ। यसको सञ्चालन अवधि पटक–पटक थपिए पनि पछिल्ला वर्षहरूमा विभिन्न प्राविधिक समस्या देखिन थालेका छन्। केन्द्रलाई सुरक्षित राख्न हरेक वर्ष अर्बौं रुपैयाँ खर्च हुने भएकाले नासाले अब आफ्ना स्रोतसाधन चन्द्रमा र मंगल ग्रहसम्बन्धी अभियानमा केन्द्रित गर्ने निर्णय गरेको हो। यही कारण केन्द्रलाई सम्मानजनक र सुरक्षित रूपमा अवकाश दिने योजना बनाइएको छ।

करिब ४ लाख ५० हजार किलोग्राम तौल रहेको अन्तरिक्ष केन्द्रलाई सिधै पृथ्वीतर्फ खस्न दिइने छैन । सन् २०२८ आसपासदेखि यसलाई कक्षामा कायम राख्ने प्रक्रिया क्रमशः बन्द गरिनेछ। त्यसपछि विशेष अन्तरिक्षयानको सहयोगमा केन्द्रलाई नियन्त्रित रूपमा पृथ्वीको वायुमण्डलतर्फ धकेलिनेछ। वायुमण्डलमा प्रवेश गरेपछि अधिकांश भाग घर्षणका कारण जलेर नष्ट हुनेछ ।

यद्यपि केही ठूला टुक्रा पृथ्वीमा खस्न सक्ने सम्भावना रहेकाले नासाले दक्षिण प्रशान्त महासागरको एक सुनसान क्षेत्र छनोट गरेको छ । वायुमण्डलमा नजलेका अवशेषहरू त्यही समुद्री क्षेत्रमा खस्ने गरी योजना बनाइएको छ । नासाका अनुसार अन्तरिक्ष केन्द्रलाई दक्षिण प्रशान्त महासागरस्थित ‘पोइन्ट निमो’ क्षेत्रमा खसालिनेछ । यो क्षेत्र पुराना अन्तरिक्ष केन्द्र, उपग्रह तथा अन्य अन्तरिक्षीय फोहोर व्यवस्थापनका लागि विश्वभर परिचित स्थान हो । यहाँ मानिसको बसोबास छैन र जहाजको आवागमनसमेत निषेध गरिएको छ। सन् १९७१ यता करिब ३०० प्रकारका अन्तरिक्षीय अवशेष यही क्षेत्रमा खसालिएको बताइएको छ, जसमा अधिकांश अमेरिकी र रुसी अन्तरिक्ष सामग्री रहेका छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले दिनमा १६ पटक पृथ्वीको परिक्रमा गर्छ। यो पृथ्वीबाट करिब ४०० किलोमिटर उचाइमा सञ्चालनमा रहेको छ। यसको निर्माण र सञ्चालनमा हालसम्म करिब ९ लाख ५० हजार करोड रुपैयाँ बराबर खर्च भइसकेको छ। नोभेम्बर २००० देखि यसमा निरन्तर मानव उपस्थिती कायम रहेको छ ।

अमेरिका, रूस, युरोप, जापान र क्यानडाको संयुक्त परियोजनाका रूपमा निर्माण गरिएको यस केन्द्रमा अन्तरिक्ष यात्रीका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। यहाँ एकपटकमा ६ देखि ८ जना अन्तरिक्ष यात्री करिब ६ महिनासम्म बस्न सक्छन्। हालसम्म १९ देशका २५० भन्दा बढी अन्तरिक्ष यात्रीले यस केन्द्रको भ्रमण गरिसकेका छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको अवकाशसँगै अब निजी क्षेत्रद्वारा सञ्चालित नयाँ अन्तरिक्ष केन्द्रहरूको युग सुरु हुने अपेक्षा गरिएको छ। नासाको सहकार्यमा विभिन्न निजी कम्पनीहरूले आफ्ना अन्तरिक्ष केन्द्र निर्माण गरिरहेका छन्। यसैबीच चीनले आफ्नो अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याइसकेको छ भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थानले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष केन्द्र स्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।

Read More

विश्वकप सुरु हुनुअघि विवादै विवाद: भिसा समस्या, महँगो टिकट र अस्तव्यस्त व्यवस्थापन

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी छ । तर मैदानमा खेल सुरु हुनुअघि नै यो प्रतियोगिता विभिन्न विवादका कारण चर्चामा आएको छ । खेलाडी र अधिकारीहरूले प्रवेशाज्ञा तथा आगमन प्रक्रियामा समस्या भोगिरहेका छन् भने प्रवेशपत्र बिक्रीलाई लिएर पनि फिफामाथि आलोचना बढेको छ ।

सबैभन्दा ठूलो विवाद सोमालियाका रेफ्री उमर अब्दुलकादिर आर्टनसँग सम्बन्धित रहेको छ । रिपोर्ट अनुसार उनलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमति नदिइ पुनः इस्तानबुल फर्काइएको छ । यस घटनापछि सोमालियाका प्रधानमन्त्री हसन अली खैरेले कडा असन्तोष व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘अफ्रिकाका उत्कृष्ट र विश्वकै प्रमुख रेफ्रीमध्येका उमर आर्टनले प्रवेशाज्ञा सम्बन्धी समस्याका कारण विश्वकपमा रेफ्रीको भूमिका निभाउन नपाउने खबरले म अत्यन्तै निराश छु । उमरले आफ्नो प्रतिभा, कडा मेहनत, व्यावसायिकता र इमानदारीका आधारमा यो स्थान हासिल गरेका हुन् ।’

यो विवाद केवल रेफ्रीमा मात्र सीमित रहेन । इराकका उपकप्तान तथा प्रमुख स्ट्राइकर अयमान हुसेनलाई पनि अमेरिका पुगेपछि करिब सात घण्टा सोधपुछका लागि रोकिएको थियो । उनी त्यही खेलाडी हुन् जसले इराकलाई विश्वकपमा पुर्‍याउने निर्णायक गोल गरेका थिए ।

उनका साथै टोलीका एक अन्य खेलाडी र एक फोटोग्राफरलाई पनि सोधपुछ गरिएको थियो । पछि अयमान हुसेनलाई प्रवेश अनुमति दिइयो तर फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन ।

रिपोर्ट अनुसार अमेरिका र ईरानबीचको राजनीतिक तनावको असर फुटबलमा पनि परेको छ । ईरानी खेलाडीहरूले प्रतियोगिता सुरु हुन १० दिनअघि मात्र प्रवेशाज्ञा पाएका हुन् । ईरानी प्रतिनिधिमण्डलका केही प्रशासनिक सदस्यलाई भने प्रवेश अनुमति दिइएन । ईरानका राजदूत अली पसंदीदेहले ७० सदस्यीय टोलीमध्ये १५ जनालाई अमेरिका प्रवेश नदिइएको दाबी गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईरानी टोलीको सहभागिताबारे टिप्पणी गर्दै सुरक्षा कारण देखाउँदै प्रश्न उठाएका थिए ।

प्रतियोगिताका प्रवेशपत्रको मूल्यलाई लिएर पनि फिफा आलोचनाको केन्द्रमा परेको छ । युरोपका धेरै समर्थक समूहहरूले महँगो मूल्यको गुनासो गरेका छन् । रिपोर्ट अनुसार समूह चरणको सबैभन्दा सस्तो प्रवेशपत्र करिब १३ हजार रुपैयाँ बराबर १४० अमेरिकी डलरबाट सुरु हुन्छ भने फाइनलको प्रवेशपत्र करिब ८ लाख ३० हजार रुपैयाँ बराबर ८ हजार ६८० डलरसम्म पुगेको छ । माग बढ्दै जाँदा मूल्य स्वतः बढ्ने प्रणालीले समस्या झनै बढाएको आरोप छ ।

स्कटल्यान्डका केही समर्थकहरूले पहिले अनुमति पाए पनि पछि स्थिति परिवर्तन भएको गुनासो गरेका छन् । यसले उनीहरूको यात्रा र होटल खर्च डुबेको बताएका छन् । त्यस्तै केही समर्थकहरूले मैदान नजिकको सिट खरिद गरे पनि पछि थप अस्थायी संरचना बनाइएकाले दृश्य अवरुद्ध भएको आरोप लगाएका छन् ।

१२ जुनबाट सुरु हुने फिफा विश्वकप २०२६ मा ४८ टोली सहभागी हुनेछन् र कुल १०४ खेल खेलाइनेछ । तर प्रतियोगिता सुरु हुनुअघि नै देखिएका भिसा समस्या, रेफ्री विवाद, प्रवेशपत्रको महँगो मूल्य र समर्थकका गुनासाले आयोजक तयारीमाथि प्रश्न उठाएको छ ।

विश्व फुटबलको यो महाकुम्भ समयमै सुरु हुने तयारीमा भए पनि, सुरुवातअघि नै देखिएको विवादको लामो सूचीले प्रतियोगिताको चमक केही हदसम्म धमिलो बनाएको देखिन्छ।

Read More

रास्वपा दैलेखको कार्यालयमा तालाबन्दी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणनामा गम्भीर त्रुटि र अपारदर्शिता भएको आरोप लगाउँदै सभापति पदका उम्मेदवार प्रकाश बुढाले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

निर्वाचनमा विजेता उम्मेदवारभन्दा २४ मतले पछि परेका बुढाले मतगणनामा धाँधली र लापरवाही भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

उनले आवश्यक छानबिन सम्पन्न नभएसम्म निर्वाचनसँग सम्बन्धित प्रमाण नष्ट हुन नदिन तथा निष्पक्ष अनुसन्धानको वातावरण सिर्जना गर्न कार्यालयमा तालाबन्दी गरिएको बताएका छन् ।

निर्वाचन परिणामअनुसार सभापति पदमा बखतबहादुर भण्डारी ९३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बुढाले ६९ मत प्राप्त गरेका थिए । त्यसैगरी बिनी शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत पाएका थिए । निर्वाचनमा ६ मत बदर भएको जनाइएको छ भने कुल २४० मत खसेको निर्वाचन समितिले जनाएको थियो ।

तर सार्वजनिक गरिएको विवरणमा गम्भीर गणितीय असंगति देखिएको भन्दै विवाद उत्पन्न भएको छ । उम्मेदवारहरूले प्राप्त गरेको मत मात्रै जोड्दा २४६ पुग्ने देखिन्छ, जुन खसेको भनिएको कुल मत २४० भन्दा ६ मत बढी हो । त्यसमाथि बदर मत ६ समेत जोड्दा गणना भएको कुल मत २५२ पुग्ने अवस्था देखिएको छ ।

जम्मा २४० मत खसेको निर्वाचनमा २५२ मत कसरी गणना भयो भन्ने प्रश्न उठाउँदै बुढाले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि नै गम्भीर शंका उत्पन्न भएको बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् ।

यस विषयमा निर्वाचन समिति तथा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

Read More