२०८३ जेष्ठ ३०

नेपालमा सार्वजनिक भयो Xiaomi 17T, Leica 5X क्यामेरा र शक्तिशाली ब्याट्री मुख्य आकर्षण

काठमाडौँ । स्मार्टफोन निर्माता Xiaomi ले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन Xiaomi 17T सार्वजनिक गरेको छ। उत्कृष्ट क्यामेरा क्षमता, शक्तिशाली ब्याट्री र आँखाको सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको डिस्प्लेसहित कम्पनीले यो फोन नेपालमा भित्र्याएको हो।

नयाँ Xiaomi 17T को प्रमुख आकर्षण यसको Leica 5X टेलिफोटो क्यामेरा हो। ५० मेगापिक्सेलको मुख्य क्यामेरा, अप्टिकल इमेज स्टेबलाइजेसन (OIS), १० गुणासम्मको अप्टिकल जुम र १२० गुणासम्मको एआई जुम सुविधाले प्रयोगकर्तालाई उच्च गुणस्तरका तस्बिर खिच्ने अनुभव दिने कम्पनीको दाबी छ।

फोनमा 4K 60fps सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि उपलब्ध छ। ‘लाइभ मोमेन्ट’ नामक विशेष फिचरमार्फत प्रयोगकर्ताले तस्बिरसँगै क्षणको भावना र गतिविधिलाई समेत जीवन्त रूपमा कैद गर्न सक्ने कम्पनीले जनाएको छ।

फोटोग्राफी अनुभवलाई अझ प्रभावकारी बनाउन Xiaomi 17T मा ठूलो इमेज सेन्सर, Leica Summilux लेन्स तथा उन्नत प्रकाश व्यवस्थापन प्रणाली समावेश गरिएको छ। यसले कम उज्यालोमा पनि स्पष्ट र आकर्षक तस्बिर खिच्न सहयोग गर्ने बताइएको छ।

डिस्प्लेतर्फ, फोनमा पहिलोपटक Vision Care Technology प्रयोग गरिएको छ। ३,५०० निट्ससम्मको ब्राइटनेस भएको AMOLED डिस्प्लेले निलो प्रकाश, फ्लिकर र मोसन ब्लर नियन्त्रण गर्दै लामो समयसम्म प्रयोग गर्दा पनि आँखालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

फोनमा ६,५००mAh क्षमताको ब्याट्री र ६७ वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ। साथै MediaTek Dimensity 8500 Ultra प्रोसेसरले गेमिङ, मल्टिटास्किङ र एआई आधारित कामलाई थप सहज र प्रभावकारी बनाउने बताइएको छ।

Xiaomi 17T नेपालमा बैजनी, निलो र कालो गरी तीन रंगमा उपलब्ध हुनेछ। १२GB RAM र ५१२GB स्टोरेज भएको भेरियन्टको मूल्य रु. ९८ हजार ९९९ तोकिएको छ। कम्पनीका अनुसार फोन खरिद गर्ने ग्राहकले Redmi Buds 6 Play निःशुल्क उपहार पनि प्राप्त गर्नेछन्।

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार संविधान, परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धका मान्यताअनुसार सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गरिरहेको बताएका छन् ।

विहिबार राष्ट्रिय सभामा बोल्दै मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र नागरिक सुरक्षाको संरक्षणलाई प्राथमिकतामा राखिएको स्पष्ट गरे । मन्त्रालयले संसद र सम्बन्धित समितिहरूलाई नियमित रूपमा कामको विवरण दिँदै आएको पनि उनले बताए ।

भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमण भएको बताए । भ्रमणका क्रममा दुवै देशबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन र जनस्तरको सम्बन्धबारे विस्तृत छलफल भएको उल्लेख गरे ।

भ्रमणका क्रममा तीन वटा संयुक्त सहमति भएको पनि जानकारी दिइयो । जसमा सीमापार डिजिटल भुक्तानी, भूकम्पपछि भारतको सहयोगमा बनेका स्वास्थ्य र सांस्कृतिक परियोजनाको हस्तान्तरण तथा डिजिटल भाषा अनुवाद प्रविधि विकास सम्बन्धी सहकार्य समावेश छन् ।

यसै क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटघाट तथा सीमा व्यवस्थापन र सुरक्षा विषयमा छलफल भएको पनि उनले बताए । भ्रमणलाई उनले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भनेका छन् ।

उनले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिदै भने- ‘ प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खासगरी दशगजा क्षेत्र अतिक्रमण र “क्रस बोर्डर अकुपेसन” सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले “क्रस बोर्डर अकुपेसन” भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ ।’

नेपाल–भारत सीमा सम्बन्धमा उनले सुगौली सन्धि आधार रहेको उल्लेख गर्दै लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको विषय कूटनीतिक वार्ताबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताए । दशगजा अतिक्रमण र सीमा क्षेत्रमा देखिएको समस्याबारे संयुक्त प्राविधिक टोलीले अध्ययन गरिरहेको जानकारी पनि दिए ।

उनका अनुसार सीमा समस्या द्विपक्षीय संवादबाट समाधान गर्ने नीति नेपालले निरन्तर अघि बढाइरहेको छ । साथै, सरकारको परराष्ट्र नीति राष्ट्रिय हित र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न केन्द्रित रहेको उनले दोहोर्याए ।

Read More

विश्वकपको पहिलो खेलमा आजराति मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२६ को विश्वकप आज रातिदेखि सुरु हुँदैछ ।

उद्घाटन दिन आज राति पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटी रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीच हालसम्म चार खेल भएका छन् । तीमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ ।

एक खेल बराबरीमा सकिएको थियो । विश्वकप इतिहासमा यी दुई टोली एकपटक मात्र आमनेसामने भएका थिए। सन् २०१० को विश्वकपको उद्घाटन खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । विश्व वरीयताका आधारमा मेक्सिको बलियो अवस्थामा छ । मेक्सिको हाल विश्व वरीयताको १५औँ स्थानमा रहेको छ भने दक्षिण अफ्रिका ६०औँ स्थानमा छ ।

मेक्सिकोले कप्तान एडसन अल्भारेज र अनुभवी अग्रपंक्तिका खेलाडी राउल हिमेनेजबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । यता दक्षिण अफ्रिकाले कप्तान रोनवेन विलियम्ससँगै लाइल फोस्टर र ओसविन अपोलिसको जोडीबाट राम्रो प्रदर्शनको आशा राखेको छ ।

सम्भावित सुरुआती टोली:

मेक्सिकोको सम्भावित सुरुआती टोली :

राउल रान्गेल; हेसुस गालार्दो, जोहान भास्केज, सेसर मोन्टेस, इस्राएल रेयेस; ब्रायन गुटिएरेज, एरिक लिरा, अल्भारो फिदाल्गो; जुलियन किन्योनेस, रोबर्टो अल्भारादो र राउल हिमेनेज ।

दक्षिण अफ्रिकाको सम्भावित सुरुआती टोली: 

रोनवेन विलियम्स; खुलिसो मुदाउ, इमे ओकोन, म्बेकेजेली म्बोकाजी, औब्रे मोडिबा; तेबोहो मोकोएना, स्फेफेलो सिथोले, थालेंटे म्बाथा; त्सेपाङ मोरेमी, लाइल फोस्टर र ओस्विन अपोलिस ।

Read More

अर्थमन्त्रीको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो- पदमा अर्याल

काठमाडौँ । नेकपा एमालेकी नेतृ पदमा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद अर्यालले करका दर हेरफेर गरेको विषयमा अर्थमन्त्रीले अन्तरविरोधी भनाई राखेको आरोप लगाउदै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएकी छन् । 

उनले भनिन्- ‘अर्थमन्त्रीज्यू तपाइँको प्रकाण्ड विद्धता चिनियाँ गाडीमा बसेर दुर्घटना भयो, शायद हेर्ने बेला भयोकी मन्त्रीज्यू ।’  

सुर्तिमा कर घटाएर विद्युत र शिक्षामा कर लगाएको आरोप लगाउदै इतिहासमा पहिलो पटक सुर्तीमा करका दर घटाइएको आरोप लगाएकी छन् ।  बजेटको यथार्थता खोक्रो भएको टिप्पणी गर्दै उनले कृषि, पर्यटन र उद्योग कुन क्षेत्रलाई बजेटले अगाडी ल्याउन खोजेको हो स्पष्ट नरहेको बताएकी छन् ।

बजेट तल्लो बर्गलाई तल नै राख्ने र माथिल्लो बर्गलाई झन् माथि लैजाने किसिमको रहेको बताउदै तल्लो बर्गका लागि ठोस कार्यक्रम नै नरहेको बताएकी छन् । उनले सिमित स्वार्थ समुहको प्रभावमा परेर मध्यरातमा करका दर हेरफेर गरेको आरोप लगाएकी छन् । 

Read More

बर्दियामा नक्कली सिँचाई कार्यालय खोल्ने दम्पति पक्राउ

काठमाडौँ ।  बर्दियामा नक्कली सिँचाई कार्यालय खोल्ने दम्पति पक्राउ परेका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–०३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक झुटो कार्यालय खोलेर उनीहरूले कर्मचारी नियुक्ति गर्ने तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगी गरिरहेका दम्पति पक्राउ परेका हुन् । प्रहरीका अनुसार कामदारलाई ज्याला नदिने, घरधनीलाई भाडा नतिर्ने र सरकारी कागजात तथा छाप नक्कली रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–०३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–०५ की २३ वर्षीया कृपा चौधरी रहेका छन् ।

दुवै जनामाथि लिखतसम्बन्धी कसूर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

काठमाडौँ । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१४ हेगौलीमा बंगुरको मासु खादा १६ जनामा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको छ ।

अस्वस्थ भएका सबैलाई स्थानीय प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालमा उनीहरूको उपचार भइरहेको र स्वास्थ्य अवस्था निगरानीमा राखिएको जनाइएको छ ।

हेगौलीका १०५ घरधुरीका स्थानीयले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज खाएको प्रहरीले जानकारी दिएको छ ।

Read More

नेप्से ८.१४ अंकले घट्यो, ३ अर्ब ९० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ मा कारोबार भएको थियो । 

आज होटल्स र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने  अपोलो हाइड्रोको शेयर १४.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.५१ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सिटी होटल्सको २३ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

Read More

इरानले अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरेको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले आफ्नो एयरोस्पेस बल र नौसैनिक युद्धक विमानहरूले अमेरिकी सेनाको उक्साहटपूर्ण गतिविधिको जवाफस्वरूप कारबाही गरेको दाबी गरेको छ ।

इरानले कुवेतस्थित अली अल सलेम र अहमद अल जाबेर तथा बहराइनस्थित शेख इसा हवाई अड्डासहित अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरी ध्वस्त पारिएको दाबी गरिएको छ ।

यद्यपि इरानको उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसबीच कुवेती सेनाको प्रधान कार्यालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुपक्षका हवाई लक्ष्यहरूलाई अवरोध गरिरहेको जनाएको छ । कुवेती सेनाले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा नागरिकहरूलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन र मार्गनिर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

साथै सेनाले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ । इरानी आक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

Read More

सप्तरीको भेटेरिनरी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा एक करोड २६ लाख ९६ हजार २६८ रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानबाट आर्थिक वर्ष २०७९/८० मा भेटेरिनरी कार्यालय भवन निर्माणका लागि चार करोड ४९ लाख ९८ हजार २७२ को लागत अनुमान तयार गरिएकोमा राष्ट्रियस्तरको खुला बोलपत्र आह्वानका लागि सूचना प्रकाशित गरिएको भनी नक्कली पत्रिका तयार गरी प्रक्रिया अघि बढाइएको खुलेको छ ।

बोलपत्र खोल्दा राधाकृष्ण निर्माण सेवा, राजविराज र श्रीराम निर्माण सेवा, रौतहटले प्रस्ताव पेस गरेका र त्यसपछि बोलपत्र मूल्याङ्कन समितिले तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झाको निर्देशनमा राधाकृष्ण निर्माण सेवासँग मिलेमतो गरी श्रीराम निर्माण सेवालाई प्राविधिक मूल्याङ्कनमै अयोग्य ठहर गरेको आरोप छ ।

अनुसन्धानबाट सार्वजनिक खरिद नियमावलीको व्यवस्था विपरीत श्रीराम निर्माण सेवाको आर्थिक प्रस्ताव नै नखोली राधाकृष्ण निर्माण सेवाको बोलपत्र स्वीकृत हुने गरी गलत मूल्याङ्कन प्रतिवेदन तयार गरिएको देखिएको छ।

पछि श्रीराम निर्माण सेवाले पुनरावलोकनको माग गर्दै निवेदन दिए पनि त्यसमा कुनै कारबाही नगर्ने निर्णय गरिएको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधिको उपस्थितिमा पछि खोलिएको आर्थिक प्रस्तावअनुसार श्रीराम निर्माण सेवाले दुई करोड ८९ लाख ६४ हजार २४१ मा काम सम्पन्न गर्ने प्रस्ताव गरेको थियो।

तर राधाकृष्ण निर्माण सेवासँग भने चार करोड १६ लाख ६० हजार ५१० मा सम्झौता गरिएको पाइएको छ। यसरी कम रकममा काम गर्न तयार निर्माण कम्पनीलाई अयोग्य ठहर गरी बढी रकमको प्रस्ताव स्वीकृत गर्दा सार्वजनिक सम्पत्तिमा एक करोड २६ लाख ९६ हजार २६८ को हानि पुगेको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले यस प्रकरणमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरीका इन्जिनियर छैटौँ अशोक कुमार सिंह र एसिस्टेन्ट सबइन्जिनियर प्रेम कुमार सिंह तथा राधा कृष्ण निर्माण सेवा र उक्त निर्माण सेवाका प्रवन्धक कौशल्या कुमारी रजकविरुद्ध भ्रष्टाचार तथा सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याएको कसुरमा बिगो असुल तथा सजायको मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाइएको छ।

Read More

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो फुकिएको बेलुन हो । फुकिएको बेलुन यो धेरै टिक्दैन, यो कार्यान्वयन हुदैन, अरुलाई विश्वास भएपनि मलाई विश्वास छैन ।’  

उनले बजेटबाट कति प्रतिशत जनता खुशी भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका छन् ।

उनले संविधानले शिक्षा र स्वास्थ्य मौलिक हक भएको भन्दै त्यसमा कर लगाउने काम गरेको भन्दै बजेटको आलोचना गरेका छन् । सिंहले अर्थमन्त्री बुढानिलकण्ठको विद्यार्थी भएको भन्दै आफुले सात प्रदेशमा आवासीय विद्यालयको अवधारणा बजेटमा आउने अपेक्षा गरेपनि त्यस्तो कुनै कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

Read More