२०८३ जेष्ठ ३०

रौतहटको सीमावर्ती क्षेत्रबाट करिब ९० लाख बराबरको अवैध फर्सीको बिउ बरामद

काठमाडौँ ।  रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुल टोलस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा करिब ९० लाख १६ हजार बराबरको अवैध फर्सीको बिउ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ प्राप्त गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो । सो क्रममा त्रिपालले छोपेर नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लुकाइछिपाइ राखिएको फर्सीको बिउ फेला परेको हो ।

प्रहरीले ३२२ बोरा फर्सीको बिउ बरामद गरेको जनाएको छ । प्रति बोरा ४० किलोग्रामका दरले कुल १२ हजार ८८० किलोग्राम बिउ बरामद भएको हो । बरामद बिउको अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबीच बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले प्रहरी टोलीमाथि अवरोध गर्दै ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

झडपका क्रममा ढुंगामुढा गर्ने ३ जना स्थानीय तथा ३ जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

फिल्म ‘अल्फा’ को टिजरमा एक्शन अवतारमा आलिया

काठमाडौँ ।  बलिवुडको यशराज फिल्म्सको स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’ को टिजर सार्वजनिक भएको छ । 

टिजरमा अभिनेत्री आलिया भट्टलाई एक्शन अवतारमा देखाइएको छ । अभिनेता बबी देओल र अभिनेत्री आलियालाई प्रमुख रुपमा देखाइएको टिजरमा आलिया एक्सन अवतारमा देखिएकी हुन् । 

बाबुछोरीको भूमिकामा रहेका बबी र आलियालाई कठोरपूर्ण तालिमपछि १८ वर्षकी भएपछि एउटा ‘मिशन’ को जिम्मेवारी दिन्छन् । यसपछि आलियाका एक्सन दृश्यहरू देखाइएको छ ।

आगामी जुलाई ३ मा प्रदर्शन हुने ‘अल्फा’ एक महिलाप्रधान एक्सन फिल्म हो । यसमा बबी र आलियासहित शरवरी वाघ, अनिल कपूर, र आर. माधवन पनि मुख्य भूमिकामा छन् । आदित्य चोपडा निर्माता रहेको फिल्मको निर्देशन शिव रवैलले गरेका हुन् । ‘फ्यान’, ‘धुम ३’ जस्ता फिल्ममा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर फिल्म हो । 

यशराजको ‘वाईआरएफ स्पाई युनिभर्स’ को सुरुवात सन् २०१२ मा प्रदर्शनमा आएको ‘एक था टाइगर’बाट भएको थियो, जसमा सलमान खान मुख्य भूमिकामा थिए । ‘अल्फा’ यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स फिल्म हो । यो फिल्म एक सय करोडको लागतमा निर्माण भएको बताइएको छ ।

टिजर: https://youtu.be/0d4nirTymmg  

Read More

पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ ।

लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिएका छन् । केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका उनी अब नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको नेतृत्व तहमा पुगेका छन् । 

यसैबिच मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् ।

Read More

एन्जेलिनाकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर ‘पिट’ हटाउदै

काठमाडौँ । हलिवुड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिटकी छोरी जहाराले आफ्नो नामबाट बाबुको थर हटाउने निर्णय गरेकी छन् । अदालतका कागजातअनुसार २१ वर्षीया जहाराले आधिकारिक रूपमा ‘पिट’ थर हटाउन निवेदन दिएकी हुन् ।

यो निवेदन अप्रिल २८ मा क्यालिफोर्नियामा दर्ता गरिएको थियो, जुन अहिले सार्वजनिक भएको हो । यो कदम उनीहरूका परिवारमा नाम परिवर्तन गर्ने तेस्रो घटना बनेको छ । यसअघि २४ वर्षका जेठा दाइ म्याडक्सले पनि यस्तै प्रक्रिया अघि बढाएका थिए भने २० वर्षीया शाइलाले २०२४ मा नै आफ्नो नामबाट पिट थर हटाइसकेकी थिइन् ।

यो सबै घटनाहरू एन्जेलिना जोली र ब्राड पिटबीच २०१६ मा भएको सम्बन्ध विच्छेदपछि देखिएका हुन् । उनीहरूको सम्बन्ध विच्छेद प्रक्रिया लामो समयपछि २०२४ डिसेम्बरमा औपचारिक रूपमा टुंगिएको थियो । उनीहरू २०१४ मा विवाह बन्धनमा बाँधिनुअघि एक दशकभन्दा बढी समय सँगै रहेका थिए ।

जोली र पिटका छ जना सन्तान छन्— म्याडक्स, प्यास, जहारा, शाइला र १७ वर्षका जुम्ल्याहा नक्स र भिभियन ।

सन् २०२४ जुलाईमा ब्राड पिटको उनका वयस्क सन्तानसँग लगभग कुनै सम्पर्क छैनन् र एन्जेलिना जोलीसँग धेरैजसो समय सन्तानहरू बस्छन् ।

Read More

विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को पहिलो भव्य ओपनिङ सेरेमनी म्याक्सिको सिटीमा आज राति हुदैछ । यो ऐतिहासिक उद्घाटन समारोह म्याक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल सुरु हुनभन्दा करिब ९० मिनेट अगाडि सुरु हुने तालिका रहेको छ । 

नेपाली दर्शकहरूका लागि यो विशेष कार्यक्रम नेपाली समयअनुसार आज राती ११ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । फिफाले सार्वजनिक गरे अनुसार म्याक्सिको सिटी स्टेडियममा आयोजना हुने यो उद्घाटन समारोह करिब १६ मिनेट चल्नेछ र त्यसलगत्तै विश्वकपको पहिलो खेल सुरु हुनेछ । 

यसपटकको उद्घाटन समारोहको सबैभन्दा ठूलो आकर्षण विश्वप्रसिद्ध पप स्टार शकिरा हुनेछिन् भने उनीसँगै संसारभरका स्थापित कलाकारहरू एउटै मञ्चमा देखिनेछन् । शकिराबाहेक बर्ना बोइ, जे बाल्भिन, डेनी ओसन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस अजुलेस र माना जस्ता चर्चित अन्तर्राष्ट्रिय सङ्गीतकर्मीहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमका गीतहरूमा प्रत्यक्ष लाइभ प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाउनेछन् । समारोहको सबैभन्दा भावनात्मक क्षणका रूपमा म्याक्सिकोका प्रसिद्ध गायक एलेजान्ड्रो फर्नान्डेजले म्याक्सिकोको राष्ट्रिय गान र प्रख्यात गायिका तायलाले दक्षिण अफ्रिकाको राष्ट्रिय गान प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

यस वैश्विक उत्सवमा हलिउड अभिनेत्री तथा फिफा विश्वकप २०२६ की एम्बेसेडर सलमा हायेक पनि विशेष अतिथिको रूपमा सहभागी हुँदैछिन् । उनले समारोहमा विश्वभरका फुटबल प्रशंसकहरूलाई स्वागत गर्दै फुटबलको माध्यमबाट विश्वमा एकता र भाइचाराको सन्देश फैलाउनेछिन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई पूरा विश्वले सँगै मिलेर मनाउने एक अद्भुत अवसरको रूपमा व्याख्या गरेका छन् । उनले म्याक्सिको सिटीबाट सुरु भएर टोरन्टो र लस एन्जलससम्म पुग्ने यी समारोहहरूले सङ्गीत, संस्कृति र फुटबललाई एकै ठाउँमा जोड्दै एउटा शानदार वैश्विक उत्सवको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् ।

समग्रमा फिफा विश्वकप २०२६ खेलाडी र टोलीहरूको प्रतिस्पर्धा मात्र नभई आयोजक राष्ट्रहरूको संस्कृति, सङ्गीत र विविधताको एउटा ठूलो महाकुम्भ बन्ने देखिएको छ । शकिरा र जे बाल्भिन जस्ता दिग्गज सेलिब्रेटीहरूको उपस्थिति, सलमा हायेकको स्वागत सन्देश र म्याक्सिको सिटीको ऐतिहासिक मञ्चका कारण यस पटकको ओपनिङ सेरेमनी विश्वकप इतिहासकै सबैभन्दा बढी चर्चामा रहने र भव्य हुने निश्चित छ, जसले विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवको सुन्दर सुरुवात गर्नेछ ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गर्ने र आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

Read More

काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिदैछ । निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जानकारी दिदै समयमै प्रक्रिया पूरा गर्न अपिल गरेका छन् ।

उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । त्यस्तै १ लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।

सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमा भित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।

आज तोकिएको समयसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेमा आगामी महाधिवेशनमा भाग लिन नपाइने काँग्रेसले स्पष्ट गरेको छ ।

Read More

नाइजेरियामाथि पोर्चुगल २-१ ले विजयी

काठमाडौं । पोर्चुगलले मैत्रीपूर्ण खेलमा नाइजेरियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका अकोर एडम्सले एक गोल गरेका थिए ।

पोर्चुगलले विश्वकप अघि खेलेको अघिल्लो मैत्रीपूर्ण खेलमा चिलीलाई पनि २-१ गोल अन्तरले नै पराजित गरेको थियो ।

अब पोर्चुगलले विश्वकप अन्तर्गतको खेलमा जुन १७ मा डिआर कंगोको सामना गर्ने छ भने जुन २३ मा उज्बेकिस्तान र जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका रहेको छ ।

Read More

अमेरिका र इरान फेरी बढ्यो तनाव, आक्रमण शुरु

काठमाडौँ । अमेरिका र इरानबीचको तनाव थप चर्किँदै गएको छ । अमेरिकी सेनाले विहिबार बिहान इरानका विभिन्न महत्वपूर्ण स्थानलाई लक्षित गर्दै पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी आक्रमण भएको विषयमा इरानी समाचार संस्थाहरूले पनि पुष्टि गरेका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार किश टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् । आक्रमणपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको बताइएको छ ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी आक्रमणपछि हर्मुज जलडमरूमध्य सबै जहाजका लागि बन्द गरिएको दाबी गरेको छ । उक्त निकायले जलमार्ग प्रयोग गर्ने प्रयास गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिएको छ ।

अमेरिकाको आक्रमणपछि इरानले पनि बहराइनमा रहेको अमेरिकी आधारलाई निशाना बनाएको बताइएको छ ।

यसैबीच, अमेरिकाले हर्मुज जलडमरूमध्य नजिकै रहेको ‘सेत्तेबेल्लो’ नामक तेलवाहक जहाजमाथि क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ । आक्रमणका कारण जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो ।

जहाजमा २८ जना चालकदल सदस्य सवार रहेका थिए । तीमध्ये २४ जना भारतीय नागरिक रहेका थिए । घटनापछि २१ भारतीयलाई सुरक्षित उद्धार गरिएको छ भने ३ जना अझै बेपत्ता रहेको बताइएको छ ।

पलाउको झण्डा बोकेको उक्त तेलवाहक जहाज आक्रमणको समयमा ओमानको सोहार बन्दरगाहबाट करिब ३७ किलोमिटर टाढा रहेको जनाइएको छ ।

यद्यपि, अमेरिकी केन्द्रीय कमान्डले व्यावसायिक जहाजहरूको आवतजावत हर्मुज जलडमरूमध्यमार्फत अझै जारी रहेको जनाएको छ । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी दाबी अस्वीकार गर्दै आफ्नो आदेश कार्यान्वयनमा रहेको र क्षेत्रको सुरक्षा नियन्त्रण आफ्नै हातमा रहेको जनाएको छ ।

अमेरिका र इरानका परस्परविरोधी दाबीका बीच विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने हर्मुज जलडमरूमध्यको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ । 

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

त्यस्तै अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री डा. वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उनले आजै नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

Read More