२०८३ जेष्ठ ३०

काठमाडौं उपत्यकामा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन अभियानलाई तीव्रता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकामा अव्यवस्थित रूपमा झुण्डिएका तथा प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई तीव्रता दिइएको छ ।

शहरी सौन्दर्य अभिवृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सडक क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेको तार भूमिगत परियोजनाअन्तर्गत हाल पोलमा रहेका तारहरूको पहिचान तथा व्यवस्थापनको काम अघि बढाइएको हो ।

यसअन्तर्गत त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल क्षेत्रमा आगामी १५ दिनभित्र चरणबद्ध रूपमा तार व्यवस्थापन तथा अव्यवस्थित तार हटाउने कार्य गरिनेछ । नेपाल दूरसञ्चार प्राधिकरणले सो अवधिभर सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दैनिक रूपमा सहभागी हुन र आफ्ना सबै तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्न निर्देशन दिएको छ । प्राधिकरणका अनुसार ट्याग नभएका वा सम्बन्धित सेवा प्रदायकका प्रतिनिधि उपस्थित नभएका कारण पहिचान गर्न नसकिने तार हटाउन, काट्न वा अन्य व्यवस्थापन गर्नुपर्ने अवस्था आए त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक स्वयंले वहन गर्नुपर्नेछ ।

त्यसैगरी, भविष्यमा नेटवर्क विस्तार, मर्मतसम्भार तथा पुनः व्यवस्थापनका कार्यहरू गर्दा नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘डाइरेक्टिभ्स फर लेइङ एन्ड मेन्टेनिङ अप्टिकल फाइबर नेटवर्क’ बमोजिम मात्रै काम गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अभियानबाट कुन तार कुन सेवा प्रदायकको हो भन्ने स्पष्ट पहिचान स्थापित हुने, दूरसञ्चार पूर्वाधारको अभिलेखीकरण तथा नियमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने तथा पोल प्रयोग बापतको शुल्क र अन्य दायित्व व्यवस्थापनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ । विद्युतीय संरचना भूमिगत गर्ने परियोजनालाई सघाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्चस्तरीय समिति गठन गरी सहजीकरण गर्दै आएको छ ।

Read More

इलाममा जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते

काठमाडौँ । इलामको देउमाई नगरपालिका–०८ रत्नचौतारा क्षेत्रमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

मंगलबारे–बिर्तामोड भित्री सडकखण्डमा बिहान मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको जीप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपमा सवार चालकसहित तीनै जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि झापास्थित बिर्ता सिटी अस्पताल पठाइएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइतेहरूको विवरण अनुसार जीप चालक झापा बस्ने ३६ वर्षीय उत्तम खड्का, इलाम देउमाई नगरपालिका–५ क्याबुङकी ६८ वर्षीया कोकिला दवाडी र सोही स्थानका ६० वर्षीय प्रेममणि आचार्य रहेका छन् ।

Read More

काभ्रेमा बस दुर्घटना हुदा ७ जनाको मृत्यु

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमो बुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ । 

बा ३ ख ८३९८ नम्बरको उक्त बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गर्दा बुच्चाकोट क्षेत्रमा सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

Read More

इरानविरुद्धको आक्रमण रोक्न ट्रम्पले तीन घण्टा अघि लिएका थिए निर्णय, नेतान्याहू आश्चर्यचकित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला अन्तिम समयमा त्यसलाई रोक्न निर्देशन दिएको खुलासा भएको छ ।

एनबीसी न्युजको रिपोर्टअनुसार आक्रमण सुरु हुन करिब तीन घण्टा मात्र बाँकी रहँदा ट्रम्पले सैन्य कारबाही स्थगित गर्न आदेश दिएका थिए । अमेरिकी सेनाले सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको थियो भने अमेरिकी नौसेनाले पनि अभियानका लागि आवश्यक तयारी पूरा गरी हतियार तैनाथ गरिसकेको बताइएको छ ।

यसअघि ट्रम्पले अमेरिका छिट्टै इरानको खार्ग टापुमाथि नियन्त्रण स्थापित गर्ने दाबी गरेका थिए । तर उक्त टापु सम्भावित आक्रमण लक्ष्यहरूको सूचीमा नरहेको दाबी गरिएको छ ।

रिपोर्टमा ट्रम्पले अन्तिम समयमा निर्णय परिवर्तन गरी आक्रमण रद्द गरेपछि अमेरिकी सैन्य अधिकारीहरूबीच अन्योलको अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।

यसबीच ट्रम्पले अमेरिका र इरानबीच चाँडै शान्ति सम्झौता हुने दाबी पटक–पटक दोहोर्याउँदै आएका छन् । उनी हालसम्म ३९ पटक यस्तो दाबी गरिसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सिएनएनका अनुसार मार्च महिनायता ट्रम्पले सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमसँगको कुराकानीमा कम्तीमा ३८ पटक इरान सम्झौताका लागि तयार रहेको वा सम्झौता नजिक पुगेको बताएका थिए । पछिल्लो अभिव्यक्तिसँगै यस्तो दाबीको संख्या ३९ पुगेको जनाइएको छ ।

यद्यपि इरानले भने अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको र महत्वपूर्ण विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै आएको छ ।

उता, ट्रम्पले इरानमाथिको सम्भावित आक्रमण रोक्ने निर्णयबारे इजरायललाई पूर्वजानकारी नदिएको पनि खुलासा भएको छ । एक्सिओसको रिपोर्टअनुसार ट्रम्पको सार्वजनिक घोषणाअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै जानकारी दिइएको थिएन र उनी उक्त निर्णयबाट आश्चर्यचकित बनेका थिए ।

रिपोर्टमा इजरायलले लगातार अमेरिकासँग इरानमाथि सैन्य दबाब कायम राख्न आग्रह गर्दै आएको दाबी गरिएको छ । इजरायली अधिकारीहरूको बुझाइमा तेहरानले वार्तालाई समय लम्ब्याउने रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेको छ ।

Read More

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ मा कारोबार भएको थियो । 

आज म्युचुअल फण्ड, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १०.६६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २५ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने सिटी होटल्सको २४ करोड ८६  लाख बराबरको कारोबार भएको छ ।

Read More

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका-६ बस्ने मोरङ उर्लाबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन् । 

पक्राउ मध्ये रूकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ र शैलेन्द्रले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूकु कुमारीलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ बाट र शैलेन्द्रलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ । 

Read More

३१ वर्ष अघिको रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पालना गर्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो ।

साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ । साथै, उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ ।

काठमाडौँ महानगर क्षेत्रमा तत्कालिन समयमा जम्मा अठार हजार नौ सय एकचालिस (१८९४१) रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकोमा रावल आयोगले अध्ययन गर्दासम्म १८५९ रोपनीभन्दा (करीब १० प्रतिशत) बढी जग्गा अतिक्रमण भइसकेको थियो। यस क्रममा १,१८७ जना अतिक्रमणकारीहरूले ३०८ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा उपभोग गरिरहेको तथा थप ६,९०६ जना अतिक्रमणकारीहरूले १,७६२ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो निजी जग्गामा घुसाउदा जम्मा ८,०९३ जना अतिक्रमणकारीहरूले २,०७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको अवस्था थियो।

तत्कालीन सरकारले सरकारी तथा सार्वजनिक जग्गाको व्यापक अतिक्रमण, गैरकानूनी दर्ता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी गम्भीर समस्या समाधान गर्ने उद्देश्यले २०५० साल असोज २१ गतेको निर्णयानुसार सरकारका तत्कालीन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा यो उच्चस्तरीय आयोग गठन गरेको थियो।

आयोगले काठमाडौँ नगरक्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी २०५२ सालमा सुझाव सहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन । त्यसको ८ वर्षपछि अधिवक्ता प्रकाशमणि शर्मासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रावल आयोगको प्रतिवेदन, २०५२ को कार्यान्वयनका लागि परमादेशसमेत माग गरी सर्वोच्च अदालतमा २०६० सालमा रिट दर्ता गरेका थिए । 

उक्त रिट निवेदनको सुनुवाइको क्रममा रावल आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा विशेषज्ञ सम्मिलित समितिद्वारा अध्ययन गर्न उपयुक्त देखिएकाले सर्वोच्च अदालतको २०६६ साल जेठ १७ गतेको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा विशेषज्ञ समिति गठन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने आदेश दिएको थियो। सो विशेषज्ञ समितिले काठमाडौँ बाहेक देशका अन्य स्थानहरूमा भएका सरकारी जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन २०६६ चैत १ गते पेश गरेको थियो ।

विशेषज्ञ समितिको उक्त प्रतिवेदन समेतको अध्ययन पश्चात् सर्वोच्च अदालतले २०६७ जेठ १२ गते रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै ‘विशेषज्ञ समितिको प्रतिवेदनअनुसार रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन र देशका अन्य स्थानहरूमा भएको सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गरी कानूनबमोजिम कारबाही गर्न वाञ्छनीय देखिएकोले सो कार्यलाई उच्च प्राथमिकता प्रदान गरी छिटो कार्यान्वयन गर्नू गराउनू’ भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

यस्तै, नीति अनुसन्धान प्रतिष्ठानले यो प्रतिवेदन र सोको कार्यान्वयनका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश (२०६७) सम्बद्ध टिप्पणीसहितको सङ्क्षेपीकरण तथा सुझाव प्रतिवेदन, २०८३’ शीर्षकको मामला अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थियो ।

Read More

मन्त्रिपरिषद्को बैठकले गर्यो यी तीन निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ भने रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताएका छन् ।

Read More

बाल सैन्य प्रकरणमा प्रचण्ड र भट्टराईमाथि अभियोजन नहुने, सम्मानजनक व्यवस्थापन गर्न निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले युद्धमा बालसैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ ।

पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले शुक्रबार निर्णय सुनाउदै प्रचण्ड र भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको हो ।

द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको पूर्ण इजलासले निष्कर्ष निकालेको छ ।

सपना मल्ल प्रधान, सुनिल पोखरेल र शंतिसिंह थापाको पूर्ण इजलासले बालसैन्यलाई निषेध गर्ने कानून बनाउन निर्देशनात्मक आदेश दिदै बालसैन्य प्रयोगलाई गम्भीर मानवअधिकार उल्लंघनको विषयमा समेट्न निर्देशन दिएको छ । इजलासले भनेको छ- ‘ द्वन्द्वको कारण समाजबाट अलग्याइएका व्यक्तिहरूलाई पुनः समाजसँग जोड्नु राज्यको कानुनी दायित्व हो, कुनै दया वा परोपकार होइन । त्यसैले, निवेदकहरूको सम्मानजनक सामाजिक पुनर्एकीकरणका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक कदमहरू चालिनु आवश्यक देखिन्छ ।’ 

विष्टले संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानून अनुकूल नभएको दाबी गर्दै दुई वर्षअघि सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

Read More

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हरियारसहित प्रवेश, स्थानीयको प्रतिकार

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली क्षेत्रमा गस्ती गर्न आएपछि स्थानीयले प्रतिकार गरेका छन् ।

स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् । सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा पनि स्थानीयले प्रतिकार गरेको देखिएको छ । 

यसअघि पनि भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।

यसैबीच यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश गरेको छ । नेकपा एमालेका सांसद ऐन महरले प्रतिनिधि सभामा यो घटना उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

Read More