२०८३ जेष्ठ ३०

आइसीसी महिला टी-२० विश्वकप आजदेखि, १२ देश सहभागी हुदै

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप आजदेखि हुँदैछ। प्रतियोगिताको पहिलो खेल बर्मिङ्घममा इंग्ल्यान्ड र श्रीलंकाबीच हुदैछ । यो खेल नेपाली समयअनुसार राति ११:३० बजेदेखि सुरु हुनेछ।

खेल सुरु हुनुअघि उद्घाटन समारोह (ओपनिङ सेरेमनी) आयोजना गरिनेछ, जहाँ ब्रिटिस अभिनेत्री एमा किंग्सटन र अभिनेत्री तथा गायिका जिजी स्ट्रलेनले आफ्नो प्रस्तुति दिनेछन् । 

यस पटकको महिला टी-२० विश्वकपमा १२ टोलीले सहभागिता जनाउँदैछन् । हालको लय (फर्म), विश्वकपको इतिहास, टोलीको सन्तुलन र कप्तानीलाई आधार मान्दा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका उपाधिका सबैभन्दा बलियो दाबेदार देखिएका छन्।

महिला क्रिकेट इतिहासमा अस्ट्रेलिया सबैभन्दा सफल देश हो । अस्ट्रेलियाले हालसम्म भएका ९ वटा संस्करणमध्ये ६ पटक टी-२० विश्वकपको उपाधि जितेको छ । यस पटक टोली एलिसा हिलीपछि सोफी मोलिन्युक्सको कप्तानीमा मैदान उत्रिनेछ । टोलीमा एलिस पेरी, बेथ मुनी, एश गार्डनर, ताहलिया म्याकग्रा र मेगन शुट जस्ता स्टार खेलाडीहरूको उपस्थिति रहनुले अस्ट्रेलियालाई निकै बलियो बनाएको छ ।

विगत डेढ वर्षमा अस्ट्रेलियाले १२ वटा टी-२० खेलमध्ये १० वटामा जित दर्ता गरेको छ। तर, हालैका आईसीसी प्रतियोगिताहरूमा भने टोलीले आफ्नो क्षमता अनुरूप प्रदर्शन गर्न सकेको छैन । सन् २०२५ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने २०२४ को टी-२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

यस विश्वकपमा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इण्डिज, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस र स्कटल्याण्ड खेल्दैछन् ।

जसमा अस्ट्रेलिया, भारत, बंगलादेश, नेदरल्याण्डस, पाकिस्तान र दक्षिण अफ्रिका समुह ए मा रहेका छन् भने इङल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज समुह बी मा रहेका छन् । समुह चरणका खेलपछि शिर्ष २ स्थानमा रहेका देश सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा तथा फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ ।

Read More

चलचित्र ‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘गौँथली’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो ।

निर्माण टिमले गीत केही फरक तरिकाले सार्वजनिक गरेको छ । गीतको मुख्य भूमिकामा रहेका कलाकार बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । पञ्चे बाजा घन्किएको थियो । अनि कार्यक्रमका केही अतिथिहरू जन्तीको भेषमा औपचारिक गेटअपमा पुगेका थिए, जो बेहुला र बेहुलीको अगाडि र पछाडि लागेर नाच्दै हिँडिरहेका थिए । ठ्याक्कै विवाह घर झैँ कार्यक्रमस्थल सिंगारिएको थियो ।

बेहुला र बेहुली, सँगै रहेका जन्ती, नाच्दै रमाउँदै हिँडिरहेका जन्ती र घन्किएको पञ्चेबाजाले कुनै विवाहभन्दा कम लागिरहेको थिएन । तर, यथार्थमा साँच्चै विवाह नभएर यो चलचित्र ‘गौँथली’को गीत सार्वजनिक समारोह थियो ।   सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । संगीत पनि थानेश्वर स्वयंको छ । गीतमा शब्दरचना डा. भोला रिजालको छ ।  गीतीको भिडियोमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्कालगायत छन् । जो गीत सार्वजनिक कार्यक्रममा गीतमा देखिएझैँ उनीहरू बेहुला र बेहुलीको भेषमा पुगेका थिए । जसले सबैको ध्यान खिचेको थियो ।

गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ । आफ्नो छोरीलाई जतिसुकै माया गरे पनि विवाह गरेर दिनै पर्ने वाध्यात्मक संस्कार र त्यसले छोरीलाई दिने वियोग गीतमा समेटिएको छ । जन्म घर, आमा बुवा, साथीसंगी छोडेर रुँदैरुँदै पराई घर जाने छोरीमान्छेको कथा समेटेको गीतले कथा मन गाँठो पारेर छोरीलाई पराइको हात सुम्पिँदाको पीडा पनि देखाएको छ ।

कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदै छ । चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।

बलियो लाइनअप रहेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका छन् ।

गीतको लिंक:

Read More

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ११८ घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने लुम्बिनीमा २ जना र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना, कोशी प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँमा ४१ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा १२ जना घाइते भएका छन् । त्यसैगरी गण्डकीमा २ जना र कर्णाली प्रदेशमा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Read More

विश्वकपमा खेल्दै यी अर्बपति फुटबलर

काठमाडौँ । फिफा विश्वकपमा पहिलो पटक अर्बपति फुटबल खेलाडीहरू मैदानमा देखिने भएका छन् ।

अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले प्रतियोगितामा सहभागी हुने सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरूको सूची सार्वजनिक गरेको छ, जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन् भने अर्जेन्टिनाका कप्तान लियोनेल मेसी दोस्रो स्थानमा छन् । फोर्ब्सका अनुसार रोनाल्डो र मेसी दुवैको कुल सम्पत्ति एक अर्ब अमेरिकी डलरभन्दा बढी छ । विश्वकप सुरु हुनुअघि पछिल्लो १२ महिनामा सबैभन्दा धेरै कमाइ गर्ने ११ खेलाडीले संयुक्त रूपमा करिब ९५ करोड अमेरिकी डलर आम्दानी गरेका छन् ।

यसपटकको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको छ । प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका छन् र कुल १०४ खेल खेलिनेछन् ।

४१ वर्षीय रोनाल्डो पछिल्लो एक वर्षमा करिब ३० करोड अमेरिकी डलर आम्दानी गर्दै सूचीको शीर्ष स्थानमा छन् । उनको आम्दानीको ठूलो हिस्सा तलब, बोनस र मैदानभित्रको प्रदर्शनबाट आएको हो भने बाँकी रकम विज्ञापन, प्रायोजन तथा विभिन्न व्यावसायिक गतिविधिबाट प्राप्त भएको हो । साउदी अरबको अल–नासरबाट खेलिरहेका रोनाल्डो एक अर्ब डलरभन्दा बढी सम्पत्ति भएका सक्रिय खेलाडीहरूमध्ये एक हुन् । उनी आफ्नो करियरको छैटौँ विश्वकप खेलिरहेका छन् ।

सन् २०२२ को विश्वकप जिताएका मेसी सूचीको दोस्रो स्थानमा छन् । उनले पछिल्लो १२ महिनामा करिब १४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । उनको आम्दानीको आधा हिस्सा फुटबलबाट र बाँकी आधा विज्ञापन तथा व्यापारिक गतिविधिबाट आएको बताइएको छ । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेसीको कुल सम्पत्ति करिब १.१ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । उनी पनि आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन् ।

विश्वकपमा थप चार गोल गर्न सके मेसी जर्मनीकामिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान पार गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सक्ने सम्भावना छ ।

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सूचीको तेस्रो स्थानमा छन् । रियल म्याड्रिडका यी खेलाडीले पछिल्लो वर्ष करिब ९ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेका छन् । त्यस्तै नर्वेका स्ट्राइकर इर्लिंग हलाण्ड ८ करोड अमेरिकी डलर आम्दानीसहित चौथो स्थानमा छन् । त्यस्तै ब्राजिलका भिनिसियस जुनियर करिब ६ करोड अमेरिकी डलर आम्दानीसहित पाँचौँ स्थानमा रहेका छन् ।

स्पेनका १८ वर्षीय युवा खेलाडी लामिन यमल यस सूचीको सबैभन्दा ठूलो आकर्षण बनेका छन् । उनले पछिल्लो एक वर्षमा करिब ४ करोड ३० लाख अमेरिकी डलर आम्दानी गर्दै नवौँ स्थान हासिल गरेका छन् । कम उमेरमै उनको बढ्दो लोकप्रियता र व्यावसायिक मूल्यले फुटबल बजारमा उनको प्रभाव झल्काएको छ ।

त्यस्तै इजिप्टका मोहमद सलाह छैटौँ, सेनेगलका साडियो माने सातौँ, इङल्याण्डका जुड बेलिङघम आठौँ, ह्यारी केन दशौँ तथा ब्राजिलका नेइमार ११औँ स्थानमा रहेका छन् ।

फोर्ब्सले खेलाडीहरूको वार्षिक तलब, बोनस, छवि अधिकार, विज्ञापन तथा प्रायोजनबाट प्राप्त आम्दानीका आधारमा यो सूची तयार गरेको जनाएको छ । व्यक्तिगत लगानीबाट आएको प्रतिफल, कर, स्थानान्तरण शुल्क तथा एजेन्टलाई दिइने कमिसन भने गणनामा समावेश गरिएको छैन ।

Read More

परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते चीन भ्रमणमा जादै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जेठ ३१ गतेदेखि असार ३ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् ।

चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Read More

सदाचार नीति लागु गर्न अमरेशको सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय सदाचार नीति लागु गर्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले साच्चै सुशासन कायम गर्न चाहेको हो भने राष्ट्रिय सदाचार नीति २०७४ लाई आँट गरेर लागू गर्न सुझाव दिएका हुन् ।

साथै उनले सरकारी, सार्वजनिक र गुठीको जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएका छन् । 

उनले सो प्रतिवेदन राजनीतिक दलका नेता र तिनका मतियारले कब्जा गरेका कारण हाल मन्त्रालयमै रहेको र प्रतिवेदन सार्वजनिक नगरिएको समेत बताए ।

Read More

परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय औपचारिक रुपमा कहिँ नउठाएको आरोप लगाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले नेपालले निकालेको प्रेस नोटमा सीमा विवादबारे पछिल्ला ७-८ बर्षमा पहिलो पटक एक शब्द पनि उल्लेख नगरिएको उल्लेख गर्दै मन्त्री खनालले भारत भ्रमणमा सीमा बारे नबोलेको आरोप लगाएकी हुन् ।

उनले भ्रमण सकिएपछि दिल्लीमा परराष्ट्रमन्त्री खनालले बन्द कोठामा केहि कुरा उठाएको र काठमाडौं फर्किएपछि एउटा प्रेस नोट दिएको भए पनि त्यसमा पनि सीमाको विषयमा एक शब्द पनि उल्लेख नगरेको बताएकी छन् ।

त्यस्तै उनले परराष्ट्रमन्त्री खनालले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति अस्वीकार गर्ने बताउदै परराष्ट्रमन्त्रीले सीमा व्यवस्थापनको मात्र कुरा गरेको तर नेपाली नक्शाको विषय फरक विषय भएको बताएकी छन् । उनले संसदमा पनि सीमा व्यवस्थापन र सीमा विवाद के हो भन्ने कुरा अध्ययन गर्न र बुझ्न जरुरी रहेको बताउदै अब चीन भ्रमणमा सीमाको विषय उठाउन आग्रह गरेकी छन् ।

Read More

सेनालाई सीमामा खटाउन हर्क साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई दुख दिएको प्रसंग उठाउदै सीमामा नेपाली सेना खटाउन के ले रोकेको छ भन्दै सरकारसँग प्रश्न गरेका हुन् ।

साम्पाङले प्रधानमन्त्री संसदमा नआउने भएपनि देशमा रक्षमन्त्री को छ, जानकारी दिदै संसदमा बोलाइदिन सभामुखलाई आग्रह गरेका थिए ।

उनले नेपाल सरकारले सेनालाई सिमानामा पठाउनै नहुने के करार भएको रहेछ भन्दै कहाँ के सन्धि गरिएको छ संसदलाई जानकारी दिन समेत माग गरेका छन् ।

Read More

अर्थमन्त्री डा. वाग्लेले प्रश्न सोध्ने विपक्षी सांसदहरुलाई धम्की दिएको बर्षामान पुनको आरोप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद र संसदीय समितिमा प्रश्न सोध्ने विपक्षी धाकधम्की दिएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले बजेट बारेको जवाफ दिने क्रममा र संसदीय समितिमा अर्थमन्त्री डा. वाग्लेले विपक्षी दलका सांसदहरुलाई धम्काएको आरोप लगाएका हुन् ।

उनले भने, ‘सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टिकरणका कुराहरु हुन्छन् । कार्यपालिका व्यवस्थापिकाप्रति जवाफदेही हुनुपर्छ ।’

सांसद पुनले अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुल्ला स्वीकार गरेको र विगतमा धेरै भएको थियो अहिले थोरै भएको छ भनेर उम्किन नपाउने बताउदै यसको संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।

Read More

फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि नियमित उडान सञ्चालन गर्ने तयारीसहित बुकिङ सुरु गरेको हो ।

फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।

टिकट मूल्य पनि सार्वजनिक गरिएको छ । पोखराबाट दुबई जाने उडानमा बिजनेस क्लासको भाडा करिब १ लाख ९० हजार र इकोनोमी क्लासको भाडा करिब ९१ हजार रुपैयाँ पर्नेछ । दुबै गन्तव्यबीचको यात्रा समय करिब साढे ४ घण्टा हुनेछ भने पोखराबाट दुबई फर्किँदा करिब साढे ५ घण्टा लाग्ने बताइएको छ ।

कम्पनीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा सेप्टेम्बर २३ देखि दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म दैनिक उडान सञ्चालन हुने उल्लेख छ । साथै, संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म सेवा दिने पहिलो वायुसेवा कम्पनी हुने दाबी गर्दै हिमालय क्षेत्रको पर्यटन राजधानी पोखरासम्म प्रत्यक्ष पहुँच स्थापित हुने बताइएको छ । यात्रुहरूलाई आफ्नो आगामी यात्रा योजना बनाउन आधिकारिक वेबसाइटमार्फत टिकट बुक गर्न पनि आग्रह गरिएको छ ।

यसैबीच, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानका लागि भएको यो प्रगतिलाई महत्वपूर्ण उपलब्धि भन्दै खुशी व्यक्त गरेका छन् । उनले पोखरा–दुबई प्रत्यक्ष उडानको बुकिङ खुला हुनु शहरको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारतर्फको ठूलो कदम भएको बताए ।

उनका अनुसार यो उडानले पोखरालाई विश्व बजारसँग दिगो रूपमा जोड्न र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।

Read More