२०८३ जेष्ठ ३०

विश्वकपमा आजराती क्यानडा र बोस्निया एण्ड हर्जगोभिना खेल्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह बी अन्तर्गत आज राति क्यानडाले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ । टोरन्टोको टोरोन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुदैछ ।

करिब बाह्र वर्षको अनुपस्थितिपछि दोस्रो पटक मात्र स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपमा फर्किएको बोस्निया एण्ड हर्जगोभिना समूह बीमा स्विट्जरल्यान्ड र कतार जस्ता बलिया टोली रहेकाले सुरुवाती अंक जोड्नु उनीहरूका लागि अत्यन्तै महत्वपूर्ण छ ।

बोस्निया एण्ड हर्जगोभिना भने स्पष्ट रणनीति र अनुशासित खेल शैलीका साथ मैदानमा उत्रने टोली हो । प्रशिक्षक सेरगेई बार्बारेजको टोलीले वेल्स र इटालीविरुद्ध पेनाल्टीमा जित निकाल्दै यहाँसम्मको यात्रा तय गरेको हो । कठिन खेलमा धैर्य राखेर परिणाम निकाल्ने उनीहरूको क्षमता क्यानडाका लागि ठूलो चुनौती बन्न सक्छ । उनीहरू खुला आक्रामक फुटबल खेल्नेभन्दा पनि रक्षात्मक संरचनामा बस्दै प्रतिआक्रमणमा खेल्ने सम्भावना बढी छ ।

मुख्य प्रतिस्पर्धा क्यानडाले संगठित रक्षापंक्तिविरुद्ध कति प्रभावकारी मौका सिर्जना गर्न सक्छ भन्नेमा केन्द्रित रहने देखिन्छ । पछिल्ला मैत्री खेलमा क्यानडाले धेरै पटक गोलविहीन बराबरी खेलेको छ, जसले आक्रामक प्रभावकारितामा प्रश्न उठाएको छ । जोनाथन डेभिड र ताजोन बुकानन जस्ता खेलाडीले आक्रमणमा धार दिन सक्छन् तर जितका लागि थप सृजनशीलता आवश्यक हुनेछ । क्यानडाका पछिल्ला पाँच मैत्री खेल मिश्रित नतिजाका रहेका छन् । भेनेजुएलाविरुद्धको जित र आइसल्यान्डसँगको बराबरीले आक्रमणमा सम्भावना देखाए पनि इक्वेडर र कोलम्बियाविरुद्ध गोलविहीन बराबरीले संगठित प्रतिरक्षाविरुद्ध समस्या देखाएको छ । प्रशिक्षक मार्सको उच्च प्रेसिङ प्रणाली अझै पूर्ण रूपमा स्थिर भइसकेको छैन ।

बोस्नियाको भने प्रतिस्पर्धात्मक खेलमा प्रदर्शन बलियो देखिएको छ । युरोपेली छनोट चरणमा इटाली र अस्ट्रियासँग बराबरी तथा रोमानियाविरुद्ध ३–१ को जितले उनीहरूको स्थिरता देखाउँछ । वेल्स र इटालीविरुद्ध पेनाल्टी जितले दबाबमा पनि खेल सम्हाल्न सक्ने क्षमता प्रमाणित गरेको छ । लगातार चार प्रतिस्पर्धात्मक खेलमा अपराजित रहनु उनीहरूको बलियो पक्ष हो ।

क्यानडा र बोस्निया एण्ड हर्जगोभिना पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा आमनेसामने हुँदैछन् । यसअघि कुनै पनि स्तरमा भेट नभएकाले आपसी इतिहास छैन । त्यसैले रणनीति, वर्तमान फारम र व्यक्तिगत क्षमता नै निर्णायक आधार हुनेछन् ।

क्यानडाका लागि ठूलो चिन्ता अल्फोन्सो डेभिसको चोट हो । ह्यामस्ट्रिङ समस्याका कारण उनी यो खेल गुमाउने सम्भावना उच्च छ । उनको गति र बायाँतर्फको आक्रमण निर्माण क्षमताको कमी क्यानडाका लागि ठूलो घाटा हुनेछ । जोनाथन डेभिड पूर्ण रूपमा फिट छन् र अग्रपंक्तिको नेतृत्व गर्नेछन् । स्टीफन युस्टाकियो, ताजोन बुकानन र इस्माइल कोने उपलब्ध रहने अपेक्षा छ ।

बोस्नियातर्फ भने प्रमुख खेलाडी एडिन जेको अझै अग्रपंक्तिको केन्द्रमा रहनेछन् । एर्मेडिन डेमिरोभिच र सेआद कोलासिनाच पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । अमार डेडिच दायाँ पक्षबाट आक्रमणमा ठूलो योगदान दिने खेलाडी मानिन्छन् ।

सम्भावित टिम: 

क्यानडा: म्याक्सिम क्रेपो, अलिस्टेयर जोनस्टन, जोएल वाटरम्यान, डेरेक कोर्नेलियस, रिची लारिया, ताजोन बुकानन, स्टीफन युस्टाकियो, इस्माइल कोने, लियाम मिलर, जोनाथन डेभिड, काइल लारिन ।

बोस्निया एण्ड हर्जगोभिना: निकोला भासिल, अमार डेडिच, निकोला काटिच, तारिक मुहारेमोभिच, सेआद कोलासिनाच, एस्मिर बाजराक्तारेभिच, बेन्जामिन ताहिरोभिच, इभान बासिच, अमार मेमिक, एर्मेडिन डेमिरोभिच, एडिन जेको ।

Read More

भारतीय निशानेबाज तथा प्रशिक्षक जसपाल राणाको निधन

काठमाडौँ  । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय निशानेबाज तथा प्रशिक्षक जसपाल राणाको ४९ वर्षको उमेरमा निधन भएको छ । 

उनको निधनप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनले जसपाल राणाको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले राणा उत्कृष्ट खेलाडी र प्रशिक्षक मात्र नभई सरल, सहज र उदार व्यक्तित्व भएको उल्लेख गरेका छन् ।

रक्षामन्त्री सिंहले भारतमा निशानेबाजी खेललाई लोकप्रिय बनाउन राणाको महत्वपूर्ण भूमिका रहेको बताए । साथै उनले विश्व निशानेबाजी प्रतियोगिता र एसियाली खेलकुदमा स्वर्ण पदक जितेर राणाले भारतको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाएको स्मरण गरेका छन् ।

राणा हाल भारतकी ओलम्पिक पदक विजेता मनु भाकरका प्रशिक्षकका रूपमा काम गरिरहेका थिए । जसपाल राणाले सन् १९९४ मा पहिलो पटक अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितामा स्वर्ण पदक जित्दै निशानेबाजी क्षेत्रमा आफ्नो पहिचान बनाएका थिए । त्यसपछि उनले लगातार सफलताको यात्रा जारी राखेका थिए । उनले एसियाली खेलकुद, राष्ट्रमण्डल खेलकुद तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अनेक पदक जित्दै भारतका सफलतम निशानेबाजमध्ये एकका रूपमा आफूलाई स्थापित गरेका थिए । उनलाई भारत सरकारले पदमा श्री र अर्जुन अवार्डबाट सम्मान गरेको थियो । 

Read More

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतको दरखास्त आह्वान

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले रिक्त रहेको उक्त पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्न योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

मन्त्रालयले सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको छ ।

सूचनाअनुसार इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौँमा दरखास्त बुझाउनुपर्नेछ ।

आवश्यक योग्यता, अनुभव तथा अन्य कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ । 

थप जानकारीका लागि मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा रहेको फोन नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।

Read More

सभामुख सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको एमाले महासचिवको आरोप

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डिपी अर्याल सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरुनै भएकाले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।

Read More

सुन एकैदिन तोलाको ५३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ३ सयले बढेर तोलाको २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९० रुपैयाँले बढेर तोलाको ४८४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४६५० मा कारोबार भएको थियो ।

Read More

ट्रम्पको दाबी अस्वीकार गर्दै इरानले भन्यो- कुनै सम्झौता भएको छैन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सम्झौता भएको दाबी गरे पनि इरानले उक्त दाबी अस्वीकार गरेको छ ।

इरानले अमेरिकासँग अहिलेसम्म कुनै पनि अन्तिम सम्झौता नभएको स्पष्ट पारेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौतासम्बन्धी मस्यौदा हाल सम्बन्धित निकायहरूमा अध्ययन र समीक्षा प्रक्रियामा रहेको बताएका छन् । उनले यसबारे अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन् ।

उनका अनुसार यो विषय अत्यन्तै संवेदनशील भएकाले सम्बन्धित निर्णय गर्ने निकायहरूले गम्भीर रूपमा छलफल गरिरहेका छन् । बघाईले वार्ताको मस्यौदाको ठूलो हिस्सा पहिले नै टुंगिसकेको भए पनि वार्ताका क्रममा अमेरिकी पक्षले पटक–पटक आफ्नो अडान परिवर्तन गरेको आरोप समेत लगाएका छन् ।

यसअघि ट्रम्पले इरानसँग सहमति भएको भन्दै तत्कालका लागि आक्रमण रोकेको बताएका थिए ।

Read More

दक्षिण कोरियाको विश्वकप फुटबलमा विजयी शुरुवात

काठमाडौँ । दक्षिण कोरियाले विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न समुह ए अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

दक्षिण कोरियाको जितमा ह्वाङ इन बियोम र ओह ह्योन ग्युले एक एक गोल गरेका थिए । त्यस्तै चेक रिपब्लिकका लागि एक गोल लाडिस्लाभ क्रेज्कीले गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा खेलको ५९औं मिनेटमा क्रेज्कीको गोलमा चेक रिपब्लिकले शुरुवाती अग्रता लुएको थियो । तर खेलको ६७औं मिनेटमा बियोमले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउदै बराबरी गरेका थिए । त्यसपछि सबस्टिच्युटको रुपमा मैदानमा आएका ग्युले खेलको ८०औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका थिए ।

अब दक्षिण कोरियाले अर्को खेल जुन १९ मा मेक्सिकोसँग खेल्ने छ भने चेक गणतन्त्रले अर्को खेल जुन १८ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।

Read More

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान

काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सिंहदरबारमा रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नुपर्ने भएकाले इच्छुक उम्मेदवारहरूबाट निवेदन माग गरिएको सूचनामा उल्लेख छ।

योग्यता र अनुभवका आधारमा उम्मेदवार छनोट गरिनेछ। आवेदक नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।त्यस्तै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनमध्ये कुनै क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ ।

उमेरका हकमा निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिना अगाडि नै त्यस्तो अनुमति त्याग गरेको प्रमाण वा स्वघोषणा पेश गर्नुपर्नेछ। यस्तै, प्रचलित कानुनअनुसार अयोग्य नभएको स्वघोषणा पनि आवश्यक रहनेछ। आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, व्यक्तिगत विवरण (बायोडाटा), हालै खिचिएको पासपोर्ट साइजका दुई वटा फोटो तथा लगानीसम्बन्धी रणनीति र कार्ययोजना समेत पेश गर्नुपर्नेछ।

उक्त कार्ययोजनामा नेपालमा लगानीको अवस्था र सम्भावना विश्लेषण, लगानी बोर्डको सबल–दुर्बल पक्ष तथा अवसर–चुनौती (एसडब्लुएओटी विश्लेषण) र लगानी प्रवर्द्धन रणनीतिक खाका समावेश हुनुपर्नेछ। दरखास्त दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको छ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिनेछ।

निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखा, सिंहदरबारमा बुझाउन सकिनेछ । मूल्याङ्कन र छनोटसम्बन्धी विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा लगानी बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। थप जानकारीका लागि कार्यालय समयभित्र तोकिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ।

Read More

काँग्रेसको ५ लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौँ । नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा हालसम्म ५ लाख ३८ हजार ६२२ सदस्यले सदस्यता अद्यावधिक गरिसकेका छन्।

पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानमा देशभरका क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिता रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये बिहीबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत आफ्नो सदस्यता नम्बर प्राप्त गरिसकेका छन् ।

यस्तै, १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा सहभागी भएका छन् ।

कांग्रेसले इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, दुर्गम पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ ।

पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने पनि स्पष्ट पारेको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

Read More