२०८३ जेष्ठ ३०

सोलुखुम्बुमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार नेचासल्यान गाउँपालिका–२ सल्यान चौतारा टोल निवासी २६ वर्षीय दिनेश नेवार (प्रधान) पक्राउ परेका हुन् ।

उनीविरुद्ध परिवर्तित नाम सोलुखुम्बु–२२ए (०८२/०८३) ले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएको थियो। जाहेरीअनुसार २०८२ चैत १८ गते राति करिब ९ बजे मदिरा सेवन गरेका नेवार पीडिताको कोठामा प्रवेश गरी डर, त्रास देखाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।

घटनापछि फरार रहेका नेवारलाई खोजतलासका क्रममा जेठ २७ गते राति करिब ८ बजे प्रहरी गस्ती टोलीले सोलुदुधकुण्ड नगरपालिका–५ स्थित सल्लेरी बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेवारविरुद्ध सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

Read More

भूमिहीन नागरिकलाई बीमा सेवा प्रदानको तयारीमा सरकार

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ ।

सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बालबालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको छ । 

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेका हुन् ।

हाल काठमाडौं उपत्यकाभित्रका विभिन्न ६ वटा होल्डिङ सेन्टरमा करिब एक हजार ४८८ जना आश्रय लिँदै आएका छन् । जसमध्ये ९५ प्रतिशतभन्दा बढीको डिजिटल लगत संकलन भइसकेको छ । बाँकी रहेका झण्डै पाँच प्रतिशतको पनि विवरण समेटेर सरकारले उपलब्ध गराएको पहिचान कार्ड वा अन्य कुनै आधिकारिक माध्यमबाट पहिचान गरी बीमा प्रक्रियामा सहजीकरण गरिनेछ ।

बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्नेछ। बीमाका लागि आवश्यक पर्ने प्रिमियम रकमको स्रोत सुनिश्चित भइसकेको छ। सुरुवाती चरणमा काठमाडौं उपत्यकाबाट यो कार्यक्रम सुरु गरेर कम्तीमा १० वर्षसम्म यसलाई निरन्तरता दिने योजना बनाइएको छ ।

हाल विद्युतीय लगत प्रणालीमा समेटिएकाहरूबाट सुरु हुने यो कार्यक्रम आगामी दिनमा देशभरका अन्य जिल्ला र प्रदेशका भूमिहीनहरूमा समेत विस्तार गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताइएको छ ।

Read More

इरानसँग सहमति भएको ट्रम्पको दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौताका लागि स्वीकृति दिएको दाबी गरेका छन् । यद्यपि, इरानले भने हालसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि परमाणु हतियार नराख्ने सहमति जनाएको र सम्झौता कार्यान्वयनमा आएपछि होर्मुज जलडमरूमध्य पनि पुनः खुला गरिने बताएका छन् ।

यसअघि ट्रम्पले इरानमाथि भीषण बमबारी गर्ने तथा इरानको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापुमाथि नियन्त्रण कायम गर्ने चेतावनी दिएका थिए । तर त्यसपछि सामाजिक सञ्जालमार्फत उनले इरानविरुद्धका नयाँ हवाई आक्रमण र बमबारीका योजना रद्द गरिएको जानकारी दिएका थिए ।

ट्रम्पले आफ्नो निर्णय परिवर्तनको कारण इरानी नेतृत्वसँगको वार्ता उच्च तहमा पुगेको बताएका छन् । यद्यपि, उनले सम्झौता पूर्ण रूपमा टुंगो नलागेसम्म होर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी कायम रहने स्पष्ट पारे । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीचको विवाद अन्त्यतर्फ पुगेको दाबी पनि गरेका छन् ।

अमेरिकी सिनेट उम्मेदवार ब्यारी मूरको समर्थनमा आयोजित एक टेलिफोनिक भेलामा बोल्दै ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको र अमेरिका सुरुदेखि नै यही अडानमा रहेको बताए ।

उनले अमेरिका र इरानबीच उत्कृष्ट सम्झौता भएको दाबी गर्दै अधिकांश विषयमा सहमति भइसकेको र आफूहरूले चाहेका मुख्य उद्देश्य हासिल गरेको बताएका छन्।

यद्यपि, ट्रम्पका यी दाबीबारे इरानको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Read More

प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ ।

बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्‍डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्‍डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । 

त्यस्तै बिहान साढे ८ बजेदेखि बस्ने सार्बजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको छ । 

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार दिउसो १: १५ बजेदेखि शुरु हुदैछ । 

आजको बैठकमा अर्थमन्त्री आर्थिक बर्ष २०८३-८४ को राजश्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय समावेशी आयोगको आर्थिक बर्ष २०८१-८२ को सातौं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्दैछ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज सन्धीसम्बन्धी कार्य अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाली रहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नं. ८१’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ पेस गर्ने कार्यसूची रहेको छ ।

Read More

विश्वकपमा आज दक्षिण कोरिया र चेक गणतन्त्र भिड्दै

काठमाडौँ । फिफा विश्वकपमा दक्षिण कोरिया र चेक गणतन्त्रबीचको प्रतिस्पर्धा फेरि चर्चामा छ । हालसम्म यी दुई टोलीबीच चार अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा दुवैले एक–एक खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । विश्वकपमा भने यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवैबीचको खेल आज बिहान ७: ४५ बजेदेखि मेक्सिकोको जापोपानमा हुदैछ । 

विश्व वरीयतामा दक्षिण कोरिया २५औँ स्थानमा छ भने चेक गणतन्त्र ४१औँ स्थानमा रहेको छ । वरीयतामा अन्तर भए पनि विगतको बराबरी नतिजाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

दक्षिण कोरियाबाट सबैभन्दा बढी ध्यान स्ट्राइकर सोन ह्युङ मिनमाथि रहनेछ । उनी अहिले आफ्नो क्लब फुटबल लस एन्जलस एफसीमा खेलिरहेका छन् । यो उनीहरूको चौथो विश्वकप सहभागिता हो र ३३ वर्षका सोनका लागि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान पनि गरिएको छ, यद्यपि आधिकारिक पुष्टि भएको छैन ।

उनले पछिल्ला मैत्रीपूर्ण खेलमा दुई गोल गरेकाले समर्थकहरू उनलाई गोल गर्ने आशामा हेरेका छन् । यसअघि सन् २०२२ को विश्वकपमा दक्षिण कोरिया अन्तिम १६ मा पुगेको थियो, जहाँ ह्वाङ ही चानले पोर्चुगलविरुद्ध अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याएका थिए । अहिले पनि उनी फेरि त्यस्तै प्रदर्शन दोहोर्याउने लक्ष्यमा छन् ।

चेक गणतन्त्रको कुरा गर्दा, उनीहरूको इतिहास बलियो छ । सन् १९३४ र १९६२ मा उपविजेता बनेको टोली पछिल्ला वर्षहरूमा भने कमजोर प्रदर्शनका कारण मात्र चार पटक विश्वकपमा पुगेको छ । सन् १९९० यता उनीहरू एक पटक मात्र समूह चरण पार गर्न सफल भएका थिए । चेक गणतन्त्र २० वर्षपछि विश्वकपमा फर्किएको हो । युरोपेली छनोटमा पेनाल्टी सुटआउटमा लगातार जित निकाल्दै उनीहरू विश्वकपमा पुगेका हुन् । प्रशिक्षक मिरोस्लाभ कोउबेकको आगमनपछि टोलीको प्रदर्शनमा सुधार आएको बताइन्छ ।

दुवै टोलीबीच पछिल्लो भेट सन् २०१६ मा भएको थियो, जहाँ दक्षिण कोरियाले प्रागमा भएको मैत्रीपूर्ण खेल २–१ ले जितेको थियो । हालको लय हेर्दा चेक गणतन्त्र राम्रो अवस्थामा छ । उनीहरूले कोसोभो र ग्वाटेमालालाई पराजित गरेका छन् भने डेनमार्क र आयरल्यान्डलाई पेनाल्टीमा हराउँदै छनोट चरण पार गरेका थिए । जिब्राल्टरविरुद्ध पनि ठूलो जित निकालेका थिए ।

दक्षिण कोरियाको प्रदर्शन भने मिश्रित छ । एल साल्भाडोर र त्रिनिदाद तथा टोबागोविरुद्ध जित निकाले पनि अस्ट्रिया र आइभोरी कोस्टसँग पराजित भएका छन् ।

अनुमानित प्रारम्भिक टोली: 

दक्षिण कोरिया: किम सुङ ग्यु (गोलकिपर), किम मिन जे, ली हान बेओम, ली गि ह्युक, सोल यङ वू, ली ताए सोक, ह्वाङ इन ब्योङ, पाइक सुङ हो, ली काङ इन, ली जे सुङ र सोन ह्युङ मिन ।

चेक गणतन्त्र: मातेइ कोभार (गोलकिपर), भ्लादिमिर कौफाल, डेविड डउदेरा, तोमास होलेस, लाडिस्लाभ क्रेज्ची, यारोस्लाभ जेलेनी, तोमास साउचेक, मिखाल सादिलेके, एडम होलजेक, पावेल सुल्च र पाट्रिक शिक ।

Read More

बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइदै

काठमाडौँ । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । यसबर्षको यो दिवस ‘बाल श्रमलाई रातो कार्ड: बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कहरूका लागि मर्यादित काम ।’ भन्ने नारासहित मनाइदैछ । 

बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर, अपेक्षितरुपमा बालश्रम न्यूनीकरण हुन सकिरहेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना कमी आउन सकेको छैन ।

बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन सकिरहेको छैन । बालश्रम दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाई रहँदा नेपालमा भने यो दिवसको औचित्य कति छ भन्ने प्रश्न खडा भएको छ । बालअधिकार र हकको विषयमा अनगिन्ती राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाइएका छन् । बालबालिकाको अधिकारमा कयौं वकालत, सभा सम्मेलन गरिए । तर बालअधिकार र उनीहरुको अवस्था जहाँ थियो त्यहि नै छ । बालअधिकारका मुद्दालाई अघि सारेर सरकारी र गैह्रसरकारी रकममा रमाउने अधिकारकर्मीहरु पनि कमी छैनन् यहाँ । दिवस मनाई रँहदा लाखौँको संख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका छन् ।

बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा विरुद्धमा कसैले काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। तराई भू-भागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यसैगरी आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भाग साथै देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी

काठमाडौँ । आयोजक मेक्सिकोले विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा बिहीबार भएको खेलमा मेक्सिकोका लागि जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइएका थिए।

मेक्सिकोले नवौँ मिनेटमै अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेले गोलकिकपछि बल नियन्त्रणमा गल्ती गर्दा त्यसको फाइदा उठाउँदै किन्योनेसले उत्कृष्ट प्रहारमार्फत गोल गरेका थिए।

सिथोलेको खराब दिन दोस्रो हाफको सुरुआतमै थप निराशाजनक बन्यो । उनले प्रतियोगिताको पहिलो रातो कार्ड पाएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै मेक्सिकोले दोस्रो गोल गर्‍यो । राउल हिमेनेजले उत्कृष्ट हेडमार्फत राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो विश्वकप गोल गरेका थिए । गोलपछि उनी भावुक बन्दै मैदानमै आँसु झारेका थिए । सन् २०२० मा गम्भीर टाउको चोटका कारण करिअर संकटमा परेका ३५ वर्षीय हिमेनेजका लागि यो विशेष क्षण बनेको थियो । उनले यस वर्ष निधन भएका आफ्ना पिताको सम्झनामा पनि उक्त गोल समर्पण गरेका थिए।

खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले अर्को झट्का बेहोर्‍यो । थेम्बा ज्वानेले अनावश्यक फउल गरेपछि सिधै रातो कार्ड पाए र टोली नौ खेलाडीमा झर्‍यो । यता खेल सकिन केही क्षण बाँकी रहँदा मेक्सिकोका सेजार मोन्टेसले स्पष्ट गोल अवसर रोकिएको ठहर गर्दै रेफ्रीले उनलाई पनि रातो कार्ड देखाएका थिए ।

पूर्ण समयको सिट्टीसँगै घरेलु समर्थक उत्सवमा डुबेका थिए । उद्घाटन खेलमा प्रभावशाली जित निकालेको मेक्सिको नकआउट चरणतर्फ बलियो कदम चाल्न सफल भएको छ ।

अब मेक्सिकोले अर्को खेल जुन १९ मा दक्षिण कोरिया र जुन २५ मा चेक गणतन्त्रसँग खेल्ने तालिका छ । त्यस्तै दक्षिण अफ्रिकाले जुन १८ मा चेक गणतन्त्र र जुन २५ मा दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।

Read More