२०८३ असार ११

बागमती प्रदेश साक्षरता, आय र आर्थिक वृद्धिमा राष्ट्रिय औसतभन्दा अगाडि

काठमाडौं । बागमती प्रदेश शिक्षा, आर्थिक वृद्धि, आय तथा गरिबीका अधिकांश प्रमुख सूचकमा राष्ट्रिय औसतभन्दा अगाडि रहेको देखिएको छ। प्रदेश सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश तथ्यांकले बागमती प्रदेशको आर्थिक तथा सामाजिक अवस्था अन्य प्रदेशको तुलनामा सबल रहेको संकेत गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार प्रदेशले आर्थिक गतिविधि, मानव विकास तथा जीवनस्तरसँग सम्बन्धित विभिन्न सूचकमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विशेषगरी साक्षरता, प्रतिव्यक्ति आय तथा आर्थिक वृद्धिदरमा प्रदेश राष्ट्रिय औसतभन्दा माथि रहेको छ भने गरिबीका दुवै सूचकमा राष्ट्रिय स्तरभन्दा कम दर कायम रहेको छ।

प्रमुख सूचकहरू:

सूचकनेपालबागमती प्रदेश
साक्षरता दर७६.२%८२.१%
आर्थिक वृद्धिदर३.८५%५.४०%
प्रतिव्यक्ति आय१,५३५ अमेरिकी डलर२,६४४ अमेरिकी डलर
कुल गार्हस्थ्य उत्पादनमा हिस्सा३६.७% (रु २४ खर्ब २३ अर्ब)
निरपेक्ष गरिबी२०.२७%१२.५९%
बहुआयामिक गरिबी१७.४%७.०%

तथ्यांकले बागमती प्रदेश आर्थिक उत्पादन, आयस्तर र मानव विकासका दृष्टिले देशकै अग्रणी प्रदेशका रूपमा स्थापित हुँदै गएको देखाएको छ।

Read More

लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु हुने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की ले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्कीले दिने कार्यक्रम छ।

त्यसैगरी मन्त्री कार्कीले प्रदेश सञ्चित कोषबाट खर्च तथा विनियोजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

Read More

ईभी हाइसको ठक्करबाट मृत्यु भएका चेतराज भट्ट अभिनेता वीराज भट्टका दाजु

काठमाडौं धनगढीको एयरपोर्ट चोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा ज्यान गुमाएका चेतराज भट्ट चर्चित अभिनेता तथा निर्माता वीराज भट्टका सहोदर दाजु रहेको खुलेको छ।

गोदावरी नगरपालिका–५ निवासी ६५ वर्षीय चेतराज भट्ट सवार म १ प ५२४ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००१ ज ०६९३ नम्बरको ईभी हाइसले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा मायामेट्रो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

Read More

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।

प्रहरीका अनुसार भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर–२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि दुवैको आज बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

मौसम पूर्वानुमान : कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहरको असर

काठमाडौं । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थान र बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहने सम्भावना छ भने बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि तातो दिन रहने विभागले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

Read More

आजको राशिफल

२०८३ असार ८ गते, सोमबार (२२ जुन २०२६)

ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि रहेको छ। दिनको प्रारम्भ उत्तरफाल्गुनी नक्षत्रको प्रभावमा रहनेछ भने दिउँसो २:५९ बजेपछि हस्त नक्षत्र प्रारम्भ हुनेछ। चन्द्रमा दिनभरि कन्या राशिमा सञ्चार गर्ने भएकाले व्यवहारिक सोच, कार्यकुशलता, व्यवस्थापन क्षमता तथा योजनाबद्ध प्रयासमा विशेष बल प्राप्त हुनेछ। ग्रह–नक्षत्रको वर्तमान अवस्थाले धेरै राशिका व्यक्तिहरूलाई कार्यक्षेत्रमा प्रगति, आर्थिक अवसर तथा प्रतिष्ठा वृद्धि हुने संकेत दिएको छ। केही राशिले साझेदारी, खर्च, स्वास्थ्य तथा भावनात्मक विषयमा सावधानी अपनाउनुपर्ने देखिए पनि धैर्य, विवेक र निरन्तर प्रयासले सकारात्मक परिणाम प्राप्त गर्न सकिने दिन रहनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्यभार बढे पनि त्यसअनुसार उपलब्धि प्राप्त हुने सम्भावना बलियो देखिन्छ। आवश्यक दौडधुप र सक्रियताले महत्त्वपूर्ण काम सम्पन्न गर्न सहयोग पुर्‍याउनेछ। नयाँ अवसर तथा दीर्घकालीन फाइदा दिने योजना प्रारम्भ गर्ने सम्भावना छ।

भौतिक साधन तथा आवश्यक स्रोत जुट्नाले आत्मविश्वास बढ्नेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने संकेत छ। विदेशसम्बन्धी योजना तथा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। चुनौतीपूर्ण परिस्थितिलाई समेत आफ्नो पक्षमा मोड्न सकिने दिन रहनेछ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

प्रतिष्ठित तथा जिम्मेवारीपूर्ण काम सम्पन्न गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक क्षमता र अनुभवको उचित उपयोग गर्न सक्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। अध्ययन तथा ज्ञानवर्धक कार्यमा प्रगति हुने संकेत देखिन्छ।

सेवामूलक तथा व्यावसायिक क्षेत्रबाट आर्थिक लाभ प्राप्त हुन सक्छ। स्वास्थ्य सबल रहनेछ भने आत्मविश्वास पनि बढ्नेछ। समय लागे पनि प्रशंसायोग्य कार्यमार्फत अरूको विश्वास जित्न सकिनेछ। नयाँ अवसर पहिचान गर्ने क्षमता बलियो रहनेछ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

छोटो अवधिको फाइदालाई मात्र प्राथमिकता दिँदा पछि पछुतो लाग्न सक्ने अवस्था देखिन्छ। हतारमा निर्णय लिनु वा अपूरो तयारीमा आश्वासन दिनु उपयुक्त हुनेछैन। महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ।

साझेदारी तथा सहकार्यका विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ। पुराना समझदारी वा सम्झौतामा परिवर्तन आउन सक्छ। अरूको व्यवहारले केही अन्योल सिर्जना गरे पनि परिवारजनको साथ र सहयोगले मनोबल कायम रहनेछ। भविष्यमा लाभ दिने कामतर्फ ध्यान केन्द्रित गर्नु लाभदायी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साहस, आत्मविश्वास र दृढताले लक्ष्य प्राप्तिको मार्ग खुला गर्नेछ। पेशा, व्यवसाय तथा व्यापारिक क्षेत्रमा सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। कृषि, उद्योग तथा उत्पादनमूलक क्षेत्रमा विशेष लाभ मिल्न सक्छ।

रोकिएका कामले गति लिने र नयाँ योजना प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धी तथा विरोधीमाथि विजय प्राप्त गर्न सकिनेछ। आम्दानी बढ्ने तथा विगतको मेहनतको उचित प्रतिफल प्राप्त हुने संकेत देखिन्छ। आर्थिक दृष्टिले दिन निकै अनुकूल रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफ्ना विचार, योजना र प्रस्तुतिले अरूलाई प्रभावित पार्ने अवसर प्राप्त हुनेछ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रशंसक र समर्थक बढ्ने संकेत छ। रोकिएका कामहरू सम्पन्न हुनाले उत्साह बढ्नेछ।

बुद्धिमत्ता र कूटनीतिक व्यवहारले महत्त्वपूर्ण व्यक्तिहरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मेहनतले प्रतिष्ठा र सम्मान दिलाउने सम्भावना बलियो देखिन्छ। यद्यपि संवेदनशील योजना वा गोप्य रणनीति समयअघि सार्वजनिक नगर्नु उचित हुनेछ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

रोकिएका काम सम्पन्न हुने तथा नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो देखिन्छ। आकर्षक उपहार, सम्मान वा खुसीको समाचारले दिन उत्साहपूर्ण बन्न सक्छ। आफ्नो कार्यदक्षताले अरूको प्रशंसा प्राप्त गर्न सकिनेछ।

विशिष्ट व्यक्तिहरूसँग भेटघाट तथा उपयोगी सम्बन्ध विस्तार हुने सम्भावना छ। विगतका सफलताले थप प्रेरणा प्रदान गर्नेछ। टाढिएका आफन्तसँग पुनः निकटता बढ्नेछ। पारिवारिक जमघट तथा स्वादिष्ट भोजनको आनन्द प्राप्त हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

जटिल तथा चुनौतीपूर्ण कामतर्फ आकर्षण बढ्न सक्छ। यस्ता कार्यमा सफलता प्राप्त गर्न पर्याप्त समय, श्रम र खर्च आवश्यक पर्ने देखिन्छ। व्यवसाय विस्तार वा लगानी वृद्धि गर्ने विषयमा सोच्नुपर्ने अवस्था आउन सक्छ।

देश–विदेश यात्रासम्बन्धी प्रक्रिया अघि बढ्न सक्छ। छिमेकी वा नजिकका व्यक्तिसँग सामान्य असमझदारी देखिन सक्ने भएकाले संवादमा सावधानी अपनाउनु उचित हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क विस्तार हुने संकेत देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानी वृद्धि तथा आर्थिक अवसरका कारण उत्साह बढ्नेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय प्रगति गर्ने सम्भावना छ। विभिन्न स्रोत–साधन जुट्नाले काममा सहजता आउनेछ।

सञ्चित धनको सदुपयोग गर्दा लाभ प्राप्त हुनेछ। राम्रो आम्दानी भए पनि जिम्मेवारी र आर्थिक दायित्व बढ्न सक्छ। केही रकम ऋण, सहयोग वा सरसापटमा खर्चिनुपर्ने अवस्था आउन सक्छ। मेहनतको उचित मूल्यांकन हुने भए पनि प्रतिफल प्राप्त गर्न केही समय लाग्न सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रतीक्षा गरिएको परिणाम प्राप्त हुनाले उत्साह र आत्मविश्वास दुवै बढ्नेछन्। आफ्नो क्षमता र परिश्रमले प्रतिष्ठित काम सम्पन्न गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुन सक्छ।

कार्यले नाम, दाम र सम्मान दिलाउने सम्भावना बलियो देखिन्छ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा नेतृत्वको अवसर प्राप्त हुन सक्छ। व्यापार तथा व्यवसायमा पनि राम्रो लाभ मिल्ने संकेत देखिन्छ। निरन्तर लगनशीलताले विशेष उपलब्धि दिलाउन सक्छ।

मकर (भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि)

धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। नयाँ जिम्मेवारी तथा अवसर प्राप्त हुनाले आत्मसन्तुष्टि मिल्नेछ। व्यापार तथा व्यवसायमा आर्थिक लाभ प्राप्त हुने संकेत छ।

टाढिएका साथीभाइ तथा शुभचिन्तकसँग पुनः सम्पर्क बढ्न सक्छ। भाग्यको साथले महत्त्वपूर्ण अवसर दिलाउने सम्भावना छ। चुनौती तथा समस्याहरू क्रमशः समाधान हुँदै जानेछन्। योजना पूर्ण रूपमा सम्पन्न नभए पनि आर्थिक लाभ प्राप्त हुने देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थितिवश केही जटिलता तथा अवरोध सामना गर्नुपर्ने अवस्था देखिन्छ। स्वास्थ्य तथा शारीरिक ऊर्जामा सामान्य कमजोरी महसुस हुन सक्छ। अरूका विषयमा अत्यधिक चासो लिँदा आफ्नै काम प्रभावित हुन सक्छ।

व्यस्त दिनचर्याका बीच कम महत्त्वका काममा समय खर्चिनुपर्ने अवस्था आउन सक्छ। अपेक्षित नतिजा प्राप्त गर्न दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ। आर्थिक पक्षमा पनि केही दबाब महसुस हुन सक्ने भएकाले खर्च व्यवस्थापनमा ध्यान दिनु उचित हुनेछ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

महत्त्वाकांक्षी योजना तथा नयाँ अवसरका कारण आकस्मिक यात्रा सम्भव देखिन्छ। साहस, सक्रियता र जुझारु कार्यशैलीले लक्ष्य प्राप्त गर्न सहयोग पुर्‍याउनेछ। विवादास्पद विषयमा अनावश्यक रूपमा संलग्न नहुनु उचित हुनेछ।

मेहनतको प्रतिफल अपेक्षाकृत छिटो प्राप्त हुन सक्छ। परिवारजनको साथ, सहयोग तथा प्रोत्साहनले उत्साह बढाउनेछ। आम्दानी वृद्धि हुने तथा सुविधासम्पन्न वस्तु प्राप्त हुने सम्भावना छ। सामाजिक रूपमा सम्मान तथा सत्कार प्राप्त गर्न सकिने दिन रहनेछ।

Read More