काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको पोस्टरले फिल्मको मूल विषयवस्तु पारिवारिक संघर्ष र जिम्मेवारी रहेको संकेत गरेको छ।
पोस्टरमा मुख्य पात्रहरू तनावपूर्ण भावमा प्रस्तुत छन्। ‘बा’ को भूमिकामा दिब्य देब देखिएका छन् भने छोरीको भूमिकामा सुहाना थापा देखिएकी छन्। दिब्य देब चस्मा लगाएर तनावमा देखिँदा सुहाना सामान्य पहिरनमा झोला बोकेर हिँडिरहेको दृश्यमा छन्।
सार्वजनिक पोस्टरले परिवारको संरचना र सम्बन्ध पनि झल्काएको छ। आमा–बुबा, छोरा र छोरीसहितको सानो परिवार देखिने गरी घरको भित्तामा फोटो टाँसिएको छ। पृष्ठभूमिमा देखिएको हवाइजहाजले परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश गएको संकेत गर्छ।
त्यस्तै, मोटरसाइकल, घरजग्गाको लालपुर्जा र मध्यमवर्गीय परिवेशले कथालाई आर्थिक दबाब र संघर्षसँग जोडिएको देखाउँछ। पोस्टरमै झरना थापा पनि देखिएकी छन्, जसले उनी आमा पात्रको भूमिकामा रहेको संकेत गर्छ।
चलचित्रले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथा प्रस्तुत गर्ने अनुमान गरिएको छ।
फिल्ममा दिब्य देब, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र भदौ १९ गते प्रदर्शनमा आउनेछ। वसन्त लम्साल निर्माता रहेको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। चलचित्रको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।
