२०८३ असार १०

कतारको रास लाफान ग्यास प्लान्टमा विस्फोट, ५४ घाइते र १८ बेपत्ता

काठमाडौं। कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विस्फोट भएको छ, जसमा दर्जनौँ व्यक्ति प्रभावित भएका छन्।

कतार प्रशासनका अनुसार अचानक भएको विस्फोटपछि ठूलो आगलागी भएको थियो। घटनापछि आपत्कालीन उद्धार टोली तत्काल परिचालन गरिएको र केही समयमै आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

कतार गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन्। मन्त्रालयका अनुसार प्रारम्भिक रूपमा यो घटना ‘प्राविधिक गडबडी’ का कारण भएको अनुमान गरिएको छ। साथै, ग्यास चुहावटबाट सर्वसाधारणलाई कुनै तत्काल जोखिम नरहेको स्पष्ट गरिएको छ।

उद्धार कार्यका लागि कतार इन्टरनेसनल सर्च एन्ड रेस्क्यु समूहले सिभिल डिफेन्स टोलीसँग समन्वय गरी बेपत्ताहरूको खोजी जारी राखेको छ।

घटनाको पूर्ण क्षतिको विवरण भने अझै सार्वजनिक गरिएको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको ठूलो आवाज राजधानी दोहासम्म सुनिएको थियो।