२०८३ असार ११

कैलालीमा नाबालिकामाथि दुराचारको आरोपमा युवक पक्राउ

काठमाडौँ । कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१, राजीपुरका २६ वर्षीय मिलन साउद रहेका छन्।

पीडित पक्षको उजुरीपछि प्रहरीले उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

रास्वपामा वरिष्ठ नेता पदमा निर्वाचन नहुने, बालेन शाहलाई निरन्तरता दिने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता पदमा निर्वाचन नगर्ने भएको छ। नयाँ विधानमार्फत सिर्जना गरिएको उक्त पदलाई महाधिवेशनले अनुमोदन गर्ने व्यवस्था गरिएको छ।

पार्टीका अनुसार यो पद विशेष रूपमा बालेन शाहको समूह पार्टीमा समाहित भएपछि उनलाई केन्द्रमा राखेर व्यवस्था गरिएको हो। यसै कारण वरिष्ठ नेता पदमा निर्वाचन नगर्ने प्रावधान विधानमै समावेश गरिएको बताइएको छ।

चुनावअघि तयार पारिएको प्रारम्भिक विधानमा यो पद नरहेको भए पनि महाधिवेशनको पूर्वसन्ध्यामा संशोधन गर्दै थप गरिएको हो। पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार वरिष्ठ नेताको पदमा निर्वाचन नहुने र बालेन शाहलाई नै निरन्तरता दिइनेछ।

उनका अनुसार वरिष्ठ नेता पदमा प्रतिस्पर्धा नहुने भएकाले सम्बन्धित व्यक्तिले केन्द्रीय सदस्यका लागि पनि निर्वाचनमा भाग लिनु नपर्ने व्यवस्था गरिएको छ।

Read More

तनहुँको बन्दीपुरमा टिपर दुर्घटना, चालकको मृत्यु

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो। उनी ग१क ५४६६ नम्बरको टिपर चलाइरहेका थिए।

तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा टिपर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरास्थित सैनिक अस्पताल लगिएको भए पनि उपचारका क्रममा सोमबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

सुन–चाँदीको मूल्यमा वृद्धि, बजारमा नयाँ दर सार्वजनिक

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ। यससँगै छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही सुन २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

झापामा सर्पदंशबाट ८८ वर्षीया वृद्धाको मृत्यु

काठमाडौं  । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा एक वृद्धाको ज्यान गएको छ।

गौरीगञ्ज–४ निवासी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ सर्पदंशपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सर्पले डस्दा उनी गम्भीर घाइते भएकी थिइन्।

घटनाका अनुसार कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकैको इँटाको थुप्रोबाट निस्किएको सर्पले उनको दाहिने हातको माझी औँलामा डसेको थियो।

घाइते अवस्थामै उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव हाल अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More

रास्वपा महाधिवेशन बन्दसत्र ढिलाइ, प्रतिनिधि नामावली सच्याउने काम जारी

काठमाडौं । चितवनमा आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु भएको छ।

कार्यतालिकाअनुसार बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिहरूको नामावलीमा त्रुटि देखिएपछि प्रक्रिया रोकिएको हो। पार्टी प्रवक्ता मनीष झाले नाम, थर र ठेगानामा देखिएका त्रुटिहरू सच्याउने काम जारी रहेकाले ढिलाइ भएको जानकारी दिए।

निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा करिब ४ हजार प्रतिनिधिहरू समावेश थिए। तर विवरणमा असमानता देखिएपछि अहिले सुधारको काम भइरहेको बताइएको छ।

आजको बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहेको छ। जसअनुसार अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन पेस गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसैगरी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले ‘विधान संशोधन प्रस्ताव’ र उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको ‘अर्थ–राजनीतिक प्रस्तावना’ पेस गर्नेछन्।

यी प्रतिवेदन र प्रस्तावहरू पारित भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Read More

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी सवारी नियम उल्लङ्घन, १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७६ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घनका विभिन्न घटनामा कारबाही गर्दै राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेका ८८ जना, नियम विपरीत राइड सेयरिङ सञ्चालन गर्ने ९३ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने ११७ जना र तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।

त्यसैगरी अनुशासन उल्लङ्घन गर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९० जना र एकतर्फी सडक नियम तोड्ने ८८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार १८६ चालकसमेत कारबाहीको दायरामा आएका छन्।

Read More

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। सादगी जीवनशैलीका कारण चिनिने उनी पछिल्ला केही वर्षदेखि दम रोगबाट पीडित थिए।

काभ्रेपलाञ्चोक निवासी खरेलको गए राति काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए।

वि.सं. २००३ मा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलका माइलो सन्तान हुन्। उनले वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रे क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित भएका थिए।

संसदीय यात्राका क्रममा उनी शिक्षा राज्यमन्त्री तथा पछि महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत बनेका थिए।

Read More

काठमाडौं नवलपरासीमा २७ लाखभन्दा बढीका अवैध सामग्री बरामद

काठमाडौं ।  नवलपरासीमा प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–११ गैडहा क्षेत्रको भित्री सडक किनारमा राखिएको अवस्थामा सामान फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार बरामद सामानको कुल मूल्य २७ लाख १९ हजार ९८४ रुपैयाँ रहेको छ।

बरामद सामग्रीमा ४७ कार्टुनमा रहेका २३ हजार ५ सय थान मोबाइल टेम्पर ग्लास र ३२ कार्टुनमा रहेका ९८४ प्याकेट हुक्का फ्लेवर समावेश छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी रामबहादुर केसीका अनुसार सामान खाली घरमा राखिएको अवस्थामा फेला परेको हो।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अवैध सामग्री नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

Read More

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सरकारी अनुगमन र सक्रियता बढ्यो

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै सरोकारवाला निकायले स्थलगत अनुगमन र व्यवस्थापकीय सक्रियता बढाएका छन्।

२०३२ सालमा हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ। त्यसयता पुनः सञ्चालनका लागि पटक–पटक प्रयास भए पनि सफल हुन सकेको थिएन।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार पछिल्लो समय सरकारले उद्योग सञ्चालनतर्फ चासो देखाएपछि पुनः सक्रियता बढाइएको हो। उनका अनुसार उद्योगका अधिकांश उपकरण सामान्य मर्मतपछि पुनः प्रयोग गर्न सकिने अवस्थामा रहेका छन्।

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहितको टोलीले उद्योगको स्थलगत निरीक्षण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अग्रसरतामा पुनः सञ्चालन प्रक्रिया अघि बढाइएको बताइएको छ।

हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीलगायतले पनि उद्योग क्षेत्रको निरीक्षण गरी अवस्थाबारे जानकारी लिएका छन्।

सरकारी योजनाअनुसार हेटौँडा कपडा उद्योगसँगै बुटवलको धागो कारखाना र बाँकेको नेपालगन्जस्थित कपास उत्पादन कारखाना पनि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यी तीनै उद्योग पहिले एकै प्रणालीमा सञ्चालनमा थिए र हेटौँडा कपडा उद्योग बन्द भएपछि अन्य दुई पनि बन्द भएका थिए।

२०७५ सालदेखि उद्योग परिसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण बस्दै आएको छ। त्यसअघि सुरक्षा कमजोर हुँदा क्षेत्र दुर्व्यसनीहरूको केन्द्र बनेको बताइन्छ। हाल भने सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा सरसफाइ र सुरक्षा व्यवस्थापन गरिएको छ।

सरकारले चालु आर्थिक वर्षमै उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। उद्योग पुनः सञ्चालनलाई रुग्ण उद्योग पुनर्जीवन योजनाको पहिलो प्राथमिकताका रूपमा अघि बढाइएको बताइएको छ।

Read More