२०८३ असार ११

रास्वपा महाधिवेशन बन्दसत्र ढिलाइ, प्रतिनिधि नामावली सच्याउने काम जारी

काठमाडौं । चितवनमा आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु भएको छ।

कार्यतालिकाअनुसार बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिहरूको नामावलीमा त्रुटि देखिएपछि प्रक्रिया रोकिएको हो। पार्टी प्रवक्ता मनीष झाले नाम, थर र ठेगानामा देखिएका त्रुटिहरू सच्याउने काम जारी रहेकाले ढिलाइ भएको जानकारी दिए।

निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा करिब ४ हजार प्रतिनिधिहरू समावेश थिए। तर विवरणमा असमानता देखिएपछि अहिले सुधारको काम भइरहेको बताइएको छ।

आजको बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहेको छ। जसअनुसार अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन पेस गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसैगरी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले ‘विधान संशोधन प्रस्ताव’ र उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको ‘अर्थ–राजनीतिक प्रस्तावना’ पेस गर्नेछन्।

यी प्रतिवेदन र प्रस्तावहरू पारित भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।