२०८३ असार १०

घोराही उपमहानगरले ९ वर्षमा १९८ किमी सडक कालोपत्र

काठमाडौं ।  घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ।

नगरप्रमुख नरुलाल चौधरीका अनुसार सो अवधिमा ४५८ किलोमिटर सडक स्तरोन्नति तथा ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न गरिएको छ। सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएको पनि उनले बताए।

ढल व्यवस्थापन तथा सहरी सौन्दर्यीकरणका लागि ९९ किलोमिटर ढल निर्माण गरिएको छ भने एक व्यवस्थित स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा ल्याइएको छ। बाढी र कटान जोखिम न्यूनीकरणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ।

खानेपानी र सिँचाइतर्फ १०८ कुवा र ७७ डिपबोरिङ निर्माण गरी हाल ९२ प्रतिशत घरमा स्वच्छ खानेपानी पहुँच पुगेको नगरपालिकाले जनाएको छ। कृषि क्षेत्रमा ४३ कृत्रिम जलाशय निर्माण भई ७३८ हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ। ऊर्जा क्षेत्रमा ८७ किलोमिटर प्रसारण लाइन विस्तार र ७ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिएको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पनि उल्लेख्य प्रगति भएको छ। २७ विद्यालय भवन र ३९ कक्षाकोठा निर्माण गरिनुका साथै अधिकांश सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ। २८ स्वास्थ्य संस्थाका भवन निर्माण भएका छन् भने १७ हजार ३७४ लाभग्राहीलाई रु ६३ करोड ५८ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गरिएको छ।

नगरपालिकाले हालसम्म १३८ स्थानीय कानुन निर्माण गरेको छ। साथै, अनलाइन घटना दर्ता, नागरिकता सिफारिस र राजस्व सङ्कलनमार्फत सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाइएको छ। वातावरण संरक्षणका लागि १ हजार ३०० इन्डक्सन चुलो र ४५० सुधारिएको चुलो वितरण गरिएको छ।