काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट बाराबाट प्रतिनिधि सभामा निर्वाचित चार सांसदमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने दुई जना पराजित भएका छन्।
महाधिवेशनबाट बारा निर्वाचन क्षेत्र नं. ४ का सांसदरहबर अन्सारी र क्षेत्र नं. ३ का सांसद अरविन्द साह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। अन्सारी मुस्लिम समूहबाट तथा साह मधेसी समूहबाट विजयी भएका हुन्।
निर्वाचन परिणामअनुसार अन्सारीले प्रवासतर्फबाट प्राप्त २२ मतसहित कुल १,०४७ मत प्राप्त गरे भने साहले प्रवासतर्फबाट ६ मतसहित कुल ९७० मत प्राप्त गरे।
यता, बारा क्षेत्र नं. २ का सांसद चन्दन सिंह र क्षेत्र नं. १ का सांसद गणेश धिमाल भने केन्द्रीय सदस्य पदमा निर्वाचित हुन असफल भएका छन्। उनीहरूले भूगोलतर्फको कोटाबाट उम्मेदवारी दिएका थिए।
काठमाडौं । नेपालमा जीवन बिमा व्यवसाय निरन्तर विस्तारको क्रममा रहेको देखिएको छ। वित्तीय सचेतनाको वृद्धि, जीवन तथा स्वास्थ्य जोखिमप्रतिको बढ्दो जागरूकता, बिमा कम्पनीहरूको सेवा विस्तार तथा डिजिटल प्रविधिको प्रयोगले पछिल्ला वर्षहरूमा जीवन बिमा व्यवसायमा उल्लेखनीय वृद्धि भएको हो।
नेपाल बिमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरूले १ करोड १७ लाख ३७ हजार २९८ वटा बिमालेख जारी गर्दै रु १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख बिमा शुल्क संकलन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६२ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिमा बिमा शुल्क संकलन रु १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रहेको थियो।
बिमा क्षेत्रका जानकारहरूका अनुसार आर्थिक अनिश्चितता, स्वास्थ्य जोखिम, प्राकृतिक विपद् तथा कोभिड–१९ महामारीपछिको अनुभवले जीवन बिमाप्रतिको आकर्षण बढाएको छ। शाखा विस्तार, अभिकर्ता सञ्जाल वृद्धि, अनलाइन सेवा र नयाँ बिमा योजनाले पनि व्यवसाय विस्तारमा टेवा पुर्याएका छन्।
प्रमुख जीवन बिमा कम्पनीको व्यवसाय
कम्पनी
बिमा शुल्क संकलन
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धिदर
नेपाल लाइफ इन्स्योरेन्स
रु ४६ अर्ब १६ करोड ४३ लाख
१२.५३%
नेसनल लाइफ इन्स्योरेन्स
रु २२ अर्ब २१ करोड
१७.४९%
एलआईसी नेपाल
रु १८ अर्ब ४८ करोड ३५ लाख
हिमालयन लाइफ इन्स्योरेन्स
रु १५ अर्ब ७९ करोड
राष्ट्रिय जीवन बिमा कम्पनी
रु १० अर्ब ६२ करोड
सूर्यज्योति लाइफ
रु १० अर्ब ५२ करोड
एसियन लाइफ
रु ८ अर्ब ७१ करोड
सानिमा रिलायन्स लाइफ
रु ६ अर्ब ६४ करोड
आइएमई लाइफ इन्स्योरेन्स
रु ६ अर्ब १० करोड
उच्च वृद्धिदर
रिलायबल नेपाल लाइफ
उल्लेख छैन
दोहोरो अंकको वृद्धिदर
प्रभु महालक्ष्मी लाइफ
उल्लेख छैन
दोहोरो अंकको वृद्धिदर
मेट लाइफ
उल्लेख छैन
दोहोरो अंकको वृद्धिदर
लघु जीवन बिमामा पनि सुधार
समीक्षा अवधिमा तीन लघु जीवन बिमा कम्पनीहरूले १ करोड ६६ लाख ५५ हजार ४८३ वटा बिमालेख बिक्री गरेका छन्।
कम्पनी
बिमा शुल्क संकलन
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
रु ३८ करोड २१ लाख
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
रु ३७ करोड ७८ लाख
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स
रु ३० करोड ४५ लाख
प्राधिकरणका अनुसार ग्रामीण तथा न्यून आय भएका समुदायलाई लक्षित लघु जीवन बिमा कार्यक्रमले बिमा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। यद्यपि बिमा पहुँच विस्तार हुँदै गए पनि अझै ठूलो जनसंख्या बिमा सेवाको दायराभन्दा बाहिर रहेको छ। साथै, जारी भएका बिमालेखको संख्या र वास्तविक बिमित व्यक्तिको संख्या समान नहुन सक्ने प्राधिकरणले जनाएको छ, किनकि एउटै व्यक्तिले एकभन्दा बढी जीवन बिमा योजना खरिद गरेको हुन सक्छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीको मतदान सुरु भएको छ। महाधिवेशनमा पाँच पदका लागि प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
उपसभापति पदको महिलातर्फ सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। पुरुषतर्फ भने डा. स्वर्णिम वाग्ले एकल उम्मेदवार रहेकाले निर्विरोध निर्वाचित भएका छन्।
महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धामा छन्।
सहमहामन्त्री (पुरुष) पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, शुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।
सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
मतदान सम्पन्न भएपछि मतगणना गरी पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भन्दै छानबिनको मागसहित अनेरास्ववियुले भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्ड कार्यालय अगाडि प्रदर्शन गरेको छ।
शुक्रबार भएको प्रदर्शनमा अनेरास्ववियुले नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा भएको त्रुटि र पुनःमूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको विषय उठाएको हो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले “विद्यार्थीमाथि अन्याय बन्द गर”, “शिक्षामा बेतिथी अन्त्य गर”, “अनियमितता छानबिन गर”, “दोषीलाई कारबाही गर” तथा “शैक्षिक न्याय कायम गर” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनेरास्ववियुकी महासचिव अञ्जना शिवाकोटीले शिक्षा क्षेत्र सुधारको मागसहित परीक्षा बोर्डमा प्रदर्शन गरिएको बताइन्। उनले नतिजा प्रकाशनमा भएको त्रुटिका कारण विद्यार्थीहरूको भविष्यमा असर परेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरिन्।
यसैबीच, विद्यार्थीहरूले चाँडो नतिजा सार्वजनिक गर्ने क्रममा भएका त्रुटिका लागि जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।
काठमाडौं । जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु ८ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतका अनुसार सवारी नियम उल्लङ्घन, मादक पदार्थ सेवनलगायतका कसुरमा चालकहरूलाई गरिएको कारबाहीमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो।
सोही अवधिमा जिल्लाभित्र ६८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ।
ट्राफिक कार्यालयका अनुसार पछिल्लो समय बढ्दो सहरीकरणसँगै जुम्लामा सवारी साधनको चाप पनि निरन्तर बढ्दै गएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायम रहने बताएका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले आफू ‘आलोकाँचो राजनीति’ नगर्ने स्पष्ट पारे।
यसैबीच, महामन्त्री पदका पाँच आकाङ्क्षीमध्ये केहीले आफ्नो उम्मेदवारी फिर्ता लिई विपीन आचार्यलाई समर्थन गरिसकेका छन्।
झाले प्रतिक्रिया दिँदै भने, “आलोकाँचो राजनीति गर्नु हुँदैन। हिजो राति उम्मेदवारी दिने, आज फिर्ता लिने? सशक्त राजनीति गर्न सक्ने आँट भएकाहरू भिडिरहन्छन्, परिणाम जेसुकै होस्, लागिरहन्छन्।”
महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल प्रतिस्पर्धामा रहेका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको निर्वाचनमा युवा, श्रम तथा रोजगारमन्त्री राजमी यादव पराजित भएका छन्।
बिहीबार राति सार्वजनिक गरिएको मत परिणाम अनुसार कूल खसेको २,९५९ मतमध्ये मन्त्री यादवले ८६९ मत प्राप्त गरेका हुन्।
यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। उक्त पदका लागि २१० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए भने ६४ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था थियो।
बालेन शाह नेतृत्वको सरकारका १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गरेका थिए। तीमध्ये अन्य सात जना मन्त्रीहरू निर्वाचित भए पनि मन्त्री यादव भने पराजित भएका हुन्।
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा टर्कीले अमेरिकालाई ३–२ गोल अन्तरले पराजित गरेको छ। लस एन्जलस रंगशालामा भएको खेल इन्जुरी टाइमसम्म प्रतिस्पर्धात्मक बनेको थियो।
निर्णायक गोल अतिरिक्त समयमा टर्कीका कान अयहानले गरेपछि टोलीले महत्वपूर्ण जित सुनिश्चित गरेको हो।
खेलको सुरुवातमै अमेरिकाले अग्रता लिएको थियो। तेस्रो मिनेटमा अस्टिन ट्रस्टीले गोल गर्दै खाता खोलेका थिए। तर १०औँ मिनेटमा अर्दा गुलरले बराबरी गोल फर्काउँदै टर्कीलाई खेलमा फर्काए।
त्यसपछि ३१औँ मिनेटमा ओर्कुन कोक्कुले गोल गर्दै टर्कीलाई अग्रता दिलाए। पहिलो हाफपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
दोस्रो हाफको ४९औँ मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल गर्दै अमेरिका पुनः बराबरीमा आएको थियो। तर अन्ततः इन्जुरी टाइममा आएको गोल निर्णायक बन्दा टर्कीले ३–२ को रोमाञ्चक जित हात पारेको हो।
काठमाडौं । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समाजमा लागुऔषधले पारिरहेको गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यसहित यो दिवस मनाउने गरिएको हो।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष जुन २६ मा यो दिवस मनाइँदै आएको हो। लागुऔषधमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय सहकार्य र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धतास्वरूप यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला वर्षहरूमा विश्वभर लागुऔषध प्रयोगकर्ताको संख्या र उपलब्ध लागुऔषधको विविधता निरन्तर बढिरहेको छ। कोकिनको उत्पादन, बरामद तथा प्रयोगमा वृद्धि देखिएको छ भने कम लागतमा उत्पादन हुने र पहिचान गर्न कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि तीव्र रूपमा विस्तार भइरहेको उल्लेख छ।