२०८३ भाद्र १

नेदरल्यान्ड्समा हुने आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। क्यानका अनुसार टोलीमा अनुभवी खेलाडी र हाल उत्कृष्ट प्रदर्शन गरिरहेका केही युवा प्रतिभाहरूको संयोजन गरिएको छ।

घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र गुलसन झा ब्याटिङ लाइनअपमा समावेश छन् भने करण केसी, सोमपाल कामी र विनोद भण्डारीजस्ता अनुभवी खेलाडीहरूले पनि स्थान बनाएका छन्।

त्यस्तै, स्पिन विभागमा ललित राजवंशी र ब्याटर भीम सार्कीलाई टोलीमा राखिएको छ। इशान पाण्डे, नन्दन यादव र अर्जुन कुमाल पनि मुख्य टोलीमा अटाएका छन्।

क्यानले पाँच जना खेलाडीलाई वैकल्पिक (रिजर्भ) सूचीमा राखेको छ। उक्त सूचीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

आईसीसी लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक सिरिज आगामी जुलाई २३ देखि सुरु हुने कार्यक्रम तय गरिएको छ।

Read More

श्रीमतीको हत्या अभियोगमा पर्वतका जीतबहादुर विकलाई २६ वर्ष कैद सजाय

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष जन्मकैद र पटके अपराधको आधारमा थप १ वर्ष कैद सजाय निर्धारण गरेको हो।

अदालतका अनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी ज्यान लिएका थिए। घटनापछि गरिएको अनुसन्धान, प्रमाण र साक्षीहरूको बयानका आधारमा उनलाई दोषी ठहर गरिएको अदालतले जनाएको छ।

मुद्दाको विवरणअनुसार विक यसअघि जबर्जस्ती करणी मुद्दामा पक्राउ परी जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए। सो मुद्दामा तोकिएको धरौटी रकम तिर्न नसक्दा उनी थुनामै रहेका थिए। पछि उनकी श्रीमती सीता विकले नै कात्तिक २४ गते धरौटी बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन्।

कारागारबाट छुटेको एक दिनपछि नै उनले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको आरोप लागेको हो। घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने सरकारी वकिलको कार्यालयले संकलित प्रमाणका आधारमा अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

Read More

चितवनमा रास्वपा महाधिवेशनका कारण मन्त्रीहरूको अनुपस्थितिमा मन्त्रिपरिषद् बैठक प्रभावित

काठमाडौं । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक न्यून मन्त्री उपस्थितिका बीच सम्पन्न भएको छ। रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशन चितवनमा जारी रहेका कारण धेरैजसो मन्त्रीहरू बैठकमा अनुपस्थित रहेको स्रोतले जनाएको छ।

बैठकमा सामान्य छलफल भए पनि एक मात्र निर्णय गरिएको र उक्त निर्णयलाई अर्को बैठकपछि सार्वजनिक गर्ने सहमति भएको बताइएको छ।

उपस्थिति अत्यन्त कम रहेको कारण यसपटकको मन्त्रिपरिषद् बैठकको औपचारिक तस्बिर समेत सार्वजनिक नगरिएको स्रोतको भनाइ छ।

महाधिवेशनका कारण राजनीतिक नेतृत्व तथा मन्त्रीहरूको ठूलो समूह चितवनतर्फ केन्द्रित हुँदा सिंहदरबारको नियमित प्रशासनिक गतिविधिमा समेत असर परेको देखिएको छ।

Read More

रास्वपा महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, करिब ५० करोडको कारोबार अनुमान

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासका क्षेत्रमा उल्लेख्य आर्थिक गतिविधि बढेको देखिएको छ। एक सातासम्म चलेको आवागमन र भीडभाडका कारण स्थानीय व्यापार तथा सेवा क्षेत्र करिब रु ५० करोडभन्दा बढीको कारोबारमा पुगेको अनुमान गरिएको छ।

महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक र समर्थकहरूले होटल, रेष्टुरेन्ट तथा पर्यटकीय क्षेत्रहरू भरिभराउ बनाएका थिए। गत आइतबार उद्घाटन भएको कार्यक्रम आज समापन हुँदैछ भने शनिबारदेखि नै जिल्लाका अधिकांश होटलहरूमा चाप बढेको व्यवसायीहरूले बताएका छन्।

आवास तथा खानपान व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशन अवधिमा मात्र आवासतर्फ करिब रु २० करोड बराबरको खर्च भएको अनुमान छ। उनका अनुसार केही दिनसम्म एकैपटक करिब २० हजार व्यक्तिसम्म चितवनमा उपस्थित भएका थिए।

गौतमले प्रतिनिधिहरूले सौराहा, पूर्वी चितवन तथा नवलपरासीको गैँडाकोटसम्मका होटलहरूमा बसोबास गरेको जानकारी दिए। आवासको व्यवस्था सहभागीहरूले आफैं मिलाएको भए पनि पार्टीले चार दिनसम्म भोजनको व्यवस्था गरेको थियो भने अन्य खर्च सहभागीहरू स्वयंले व्यहोरेका थिए।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार महाधिवेशन अवधिमा करिब २ हजार २०० भन्दा बढी साना–ठूला सवारीसाधन बाहिरबाट जिल्लामा प्रवेश गरेका थिए।

उद्योग वाणिज्य संघ चितवनका प्रतिनिधिहरूका अनुसार महाधिवेशनले स्थानीय होटल, रेष्टुरेन्ट मात्र नभई कृषि तथा उपभोग्य वस्तु बजारसमेत प्रभावित पारेको छ। दूध, माछा, मासु, अण्डा तथा फलफूलजस्ता दैनिक उपभोग्य सामग्रीको माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरूको भनाइ छ।

भरतपुर केन्द्रित आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै क्षेत्रीय होटल संघ चितवनले सौराहा लगायतका पर्यटकीय क्षेत्रसमेत लाभान्वित भएको जनाएको छ। पहिलो पटक ठूलो राजनीतिक जमघटले जिल्लाका पर्यटन गन्तव्यहरूको प्रचार–प्रसारमा समेत योगदान पुगेको व्यवसायीहरूको मूल्यांकन छ।

Read More

मधेस प्रदेशमा बजेट छलफल असार १७ देखि, ४१ अर्बभन्दा बढीको विनियोजन

काठमाडौँ । मधेस प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकमाथि छलफल यही असार १७ गतेदेखि सुरु हुने भएको छ। विषयगत मन्त्रालयका विभिन्न शीर्षकहरूमा केन्द्रित रहेर बजेटमाथि विस्तृत छलफल गरिने तयारी गरिएको छ।

प्रदेशसभाको अधिवेशन पनि सोही दिनका लागि आह्वान गर्ने तयारी भइरहेको सभामुख रामअशिष यादवले जानकारी दिएका छन्। उनका अनुसार विनियोजन विधेयकमाथिको छलफललाई व्यवस्थित रूपमा अघि बढाउन अधिवेशन आह्वान गर्न लागिएको हो।

यसअघि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट सार्वजनिक गरिसकेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारेका थिए।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले उत्पादनमुखी अर्थतन्त्र, सामाजिक क्षेत्रको सुदृढीकरण र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। छलफलपछि मन्त्रालयगत कार्यक्रमहरूमा आवश्यक परिमार्जन र कार्यान्वयनका दिशा तय हुने बताइएको छ।

Read More

राष्ट्रियसभामा न्यून दृष्टियुक्त नागरिकको अधिकारदेखि उद्योग सञ्चालनसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सांसदहरूले सामाजिक न्याय, आर्थिक पुनर्जीवन र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पदम परियारले सहरका सडक तथा सार्वजनिक स्थानमा सांगीतिक प्रस्तुति दिई जीविकोपार्जन गर्दै आएका न्यून दृष्टियुक्त नागरिकमाथि भएको व्यवहारप्रति आपत्ति जनाए। उनले ती नागरिकलाई नियन्त्रणमा लिने घटनाप्रति चिन्ता व्यक्त गर्दै उनीहरूलाई सम्मानपूर्वक बाँच्न र काम गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

परियारले न्यून दृष्टियुक्त समुदायले आफ्ना मागसहित माइतीघर मण्डलामा निरन्तर असन्तुष्टि प्रकट गरिरहेको उल्लेख गर्दै उनीहरूको मानव अधिकारको संरक्षणमा राज्य संवेदनशील हुनुपर्ने बताए। साथै, पहिले नै सम्बोधन भइसकेका राजनीतिक विषयहरूलाई अनावश्यक रूपमा पुनः विवादमा ल्याउन नहुने उनको भनाइ थियो।

यसैबीच, सांसद उर्मिला अर्यालले देशको औद्योगिक क्षेत्र पुनः सक्रिय बनाउन विशेषगरी वीरगञ्ज चिनी कारखाना सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। उनले आन्तरिक चिनी उत्पादन घट्दै गएको, माग भने बढिरहेको र बजारमा कालोबजारीसमेत देखिएको उल्लेख गर्दै तत्काल नीतिगत पहल आवश्यक रहेको बताइन्।

अर्यालका अनुसार उखु तथा चिनी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ भने ठूलो संख्यामा नागरिकको रोजगारीसँग पनि जोडिएको छ। उनले वीरगञ्ज चिनी कारखानालाई आधुनिक र बहुउद्देश्यीय ढाँचामा पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन्।

त्यस्तै, सांसद रामकुमारी झाँक्रीले सडकमा सांगीतिक प्रस्तुति दिँदै जीविकोपार्जन गर्ने नागरिकमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाइन्। उनले राज्यले भूतप्रभावी कानुनको प्रयोग गरी नागरिकलाई दण्डित गर्ने अभ्यास उचित नभएको टिप्पणी गरिन्।

झाँक्रीले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि बहालवाला न्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गर्नुपर्ने आवश्यकता समेत औंल्याइन्।

सांसद पूजा चौधरीले भने तराई–मधेस क्षेत्रमा भइरहेको भूमिगत पानीको अत्यधिक दोहनप्रति चिन्ता व्यक्त गर्दै दिगो जल व्यवस्थापन नीतिको आवश्यकता रहेको बताइन्। उनले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानतर्फ लैजान सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

बैठकमा उठाइएका यी विषयहरूले सामाजिक संरक्षण, औद्योगिक पुनर्जीवन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनतर्फ सरकारको ध्यान केन्द्रित गराउने अपेक्षा सांसदहरूले व्यक्त गरेका छन्।

Read More

वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन भएको आरोपमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–१ का २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ का ५३ वर्षीय भगवत प्रसाद थारू, चितवन भरतपुर महानगरपालिका–४ की ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका–२९ का ३७ वर्षीय विकास दाहाल रहेका छन्। उनीहरू क्रमशः बुढानिलकण्ठ नगरपालिका–१०, ललितपुर महानगरपालिका–२६ र अन्य स्थानमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार सन्देशले मकाउ पठाइदिने भन्दै ५ लाख रुपैयाँ, भगवतले पोल्याण्ड पठाउने आश्वासन दिँदै २३ लाख रुपैयाँ, सरस्वतीले क्यानडा पठाइदिने भन्दै १६ लाख रुपैयाँ तथा विकासले पनि क्यानडा पठाउने नाममा ३ लाख ९२ हजार रुपैयाँ लिएर पीडितसँग सम्पर्क टुटाएको आरोप छ।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सन्देशलाई काठमाडौं महानगरपालिका–३ बाट र भगवतलाई वडा नं. ४ बाट बुधबार नियन्त्रणमा लिएको थियो। त्यसैगरी सरस्वतीलाई ललितपुर महानगरपालिका–२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका–६ बाट बिहीबार पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ। साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन परिसूचक २ अंकले घट्दै २६४९.५१ विन्दुमा झरेको हो। कारोबारको क्रममा परिसूचक ८.५० अंकसम्म घटेर २६५१.५२ विन्दुमा पुगेको थियो। सो दिन कुल कारोबार रकम २ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। यद्यपि नेप्से घटे पनि बिहीबारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ। यस दिन ३५९ वटा कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँमा खरिद–बिक्री भएका छन्।

यस दिन स्नो रिभर्स, तस्कर पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्, जसको सेयर मूल्य १०.७६ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३५९ कम्पनीमध्ये ८५ वटाको मूल्य बढ्दा १७० वटाको घट्यो भने २० वटाको मूल्य स्थिर रह्यो। उपसमूहगत रूपमा होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फण्ड, नन–लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा बाँकी समूहहरू नकारात्मक देखिएका छन्।

Read More

रौतहटका १५ स्थानीय तहद्वारा नीति, कार्यक्रम र बजेट सार्वजनिक; चन्द्रपुर सबैभन्दा ठूलो बजेटसहित अग्रस्थानमा

काठमाडौँ । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। समयमै नगरसभा तथा गाउँसभा सम्पन्न गर्ने स्थानीय तहहरूमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका तथा दुर्गाभगवती र यमुनामाई गाउँपालिका रहेका छन्। कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने अझै नगरसभा सम्पन्न गर्न बाँकी रहेको छ।

जिल्लामै सबैभन्दा ठूलो बजेट चन्द्रपुर नगरपालिकाले विनियोजन गरेको छ, जसअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु १ अर्ब २१ करोड ८० लाख बराबरको बजेट प्रस्तुत गरिएको छ।

स्थानीय तहहरूको बजेट विवरण

स्थानीय तहबजेट विवरण
चन्द्रपुर नगरपालिकारु १ अर्ब २१ करोड ८० लाख
गौर नगरपालिकारु ५३ करोड ८८ लाखभन्दा बढी
मौलापुर नगरपालिकाकरिब रु ४२ करोड
गढीमाई नगरपालिकारु ५९ करोड २२ लाख ५५ हजार (चालु: रु ४० करोड ९० लाख ४७ हजार, पुँजीगत: रु १८ करोड ३२ लाख ८ हजार)
बौधीमाई नगरपालिकारु ६३ करोड ९६ लाख ४ हजार
बृन्दावन नगरपालिकारु ६० करोड ९२ लाख २५ हजार ८८१
राजपुर नगरपालिकारु ५० करोड २१ लाख ९३ हजार
माधवनारायण नगरपालिकारु ५० करोड २९ लाख २० हजार

गौर नगरपालिकाको १८औँ नगरसभामा नगरप्रमुख शम्भु साहले नगरको समग्र विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

त्यसैगरी मौलापुर नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिँदै, विद्युत् र खानेपानी निःशुल्क गर्ने तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने घोषणा गरेको छ।

अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो विकास प्राथमिकता अनुसार बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

Read More

विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि असार १६ गते सुनुवाइ हुने

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि यही असार १६ गते सुनुवाइ हुने भएको छ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने तथा असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो।

यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत, काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।

उनविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाल अनुसन्धान गरिरहेको छ।

Read More