२०८३ असार १२

नेदरल्यान्ड्समा हुने आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। क्यानका अनुसार टोलीमा अनुभवी खेलाडी र हाल उत्कृष्ट प्रदर्शन गरिरहेका केही युवा प्रतिभाहरूको संयोजन गरिएको छ।

घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख र गुलसन झा ब्याटिङ लाइनअपमा समावेश छन् भने करण केसी, सोमपाल कामी र विनोद भण्डारीजस्ता अनुभवी खेलाडीहरूले पनि स्थान बनाएका छन्।

त्यस्तै, स्पिन विभागमा ललित राजवंशी र ब्याटर भीम सार्कीलाई टोलीमा राखिएको छ। इशान पाण्डे, नन्दन यादव र अर्जुन कुमाल पनि मुख्य टोलीमा अटाएका छन्।

क्यानले पाँच जना खेलाडीलाई वैकल्पिक (रिजर्भ) सूचीमा राखेको छ। उक्त सूचीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

आईसीसी लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक सिरिज आगामी जुलाई २३ देखि सुरु हुने कार्यक्रम तय गरिएको छ।