काठमाडौँ । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। समयमै नगरसभा तथा गाउँसभा सम्पन्न गर्ने स्थानीय तहहरूमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका तथा दुर्गाभगवती र यमुनामाई गाउँपालिका रहेका छन्। कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने अझै नगरसभा सम्पन्न गर्न बाँकी रहेको छ।
जिल्लामै सबैभन्दा ठूलो बजेट चन्द्रपुर नगरपालिकाले विनियोजन गरेको छ, जसअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु १ अर्ब २१ करोड ८० लाख बराबरको बजेट प्रस्तुत गरिएको छ।
स्थानीय तहहरूको बजेट विवरण
| स्थानीय तह | बजेट विवरण |
| चन्द्रपुर नगरपालिका | रु १ अर्ब २१ करोड ८० लाख |
| गौर नगरपालिका | रु ५३ करोड ८८ लाखभन्दा बढी |
| मौलापुर नगरपालिका | करिब रु ४२ करोड |
| गढीमाई नगरपालिका | रु ५९ करोड २२ लाख ५५ हजार (चालु: रु ४० करोड ९० लाख ४७ हजार, पुँजीगत: रु १८ करोड ३२ लाख ८ हजार) |
| बौधीमाई नगरपालिका | रु ६३ करोड ९६ लाख ४ हजार |
| बृन्दावन नगरपालिका | रु ६० करोड ९२ लाख २५ हजार ८८१ |
| राजपुर नगरपालिका | रु ५० करोड २१ लाख ९३ हजार |
| माधवनारायण नगरपालिका | रु ५० करोड २९ लाख २० हजार |
गौर नगरपालिकाको १८औँ नगरसभामा नगरप्रमुख शम्भु साहले नगरको समग्र विकास, सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
त्यसैगरी मौलापुर नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिँदै, विद्युत् र खानेपानी निःशुल्क गर्ने तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने घोषणा गरेको छ।
अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो विकास प्राथमिकता अनुसार बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्।




