२०८३ असार १२

वैदेशिक रोजगारीको नाममा लाखौं ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन भएको आरोपमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–१ का २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ का ५३ वर्षीय भगवत प्रसाद थारू, चितवन भरतपुर महानगरपालिका–४ की ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका–२९ का ३७ वर्षीय विकास दाहाल रहेका छन्। उनीहरू क्रमशः बुढानिलकण्ठ नगरपालिका–१०, ललितपुर महानगरपालिका–२६ र अन्य स्थानमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार सन्देशले मकाउ पठाइदिने भन्दै ५ लाख रुपैयाँ, भगवतले पोल्याण्ड पठाउने आश्वासन दिँदै २३ लाख रुपैयाँ, सरस्वतीले क्यानडा पठाइदिने भन्दै १६ लाख रुपैयाँ तथा विकासले पनि क्यानडा पठाउने नाममा ३ लाख ९२ हजार रुपैयाँ लिएर पीडितसँग सम्पर्क टुटाएको आरोप छ।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सन्देशलाई काठमाडौं महानगरपालिका–३ बाट र भगवतलाई वडा नं. ४ बाट बुधबार नियन्त्रणमा लिएको थियो। त्यसैगरी सरस्वतीलाई ललितपुर महानगरपालिका–२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका–६ बाट बिहीबार पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।