२०८३ श्रावण २२

कांग्रेस विवादमा सर्वोच्चको फैसला पुनरावलोकन मागबारे आज अध्ययन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध शेरबहादुर देउवा पक्षले दायर गरेको पुनरावलोकन निवेदनमाथि बिहीबार अध्ययन हुने भएको छ ।

उक्त निवेदन अध्ययनका लागि न्यायाधीशहरू मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलास गठन गरिएको छ । इजलासले फैसलाको पुनरावलोकनका लागि अनुमति (निस्सा) दिने वा नदिने विषयमा निर्णय गर्नेछ ।

इजलासले पुनरावलोकनको निस्सा दिएमा मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ । तर, अनुमति नदिएमा यसअघि भएको फैसला नै अन्तिम मानिनेछ ।

यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो ।