काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १:१५ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विभिन्न विधेयक पेस गर्नुका साथै प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ। आन्तरिक वायुसेवा सञ्चालनसँग सम्बन्धित दायित्व तथा व्यवस्थालाई कानुनी रूपमा व्यवस्थित गर्ने उद्देश्यले विधेयक अघि बढाउन लागिएको हो।
त्यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। पशुमा फैलिन सक्ने सङ्क्रामक रोगको नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विधेयकलाई अघि बढाउने प्रक्रियाका रूपमा उक्त प्रस्ताव प्रस्तुत गर्न लागिएको हो।




