काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेकपा (एमाले) ले काठमाडौंमा प्रदर्शन गरेको छ।
एमाले काठमाडौं जिल्ला कमिटीको आह्वानमा सोमबार माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागीहरूले ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा देऊ’ र ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’ लगायतका नारा लगाएका थिए।
आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर राजनीतिक वृत्तमा व्यापक चर्चा र आलोचना भइरहेको छ।
यसअघि एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद्मा दिएको भनाइ राष्ट्रहितविपरीत रहेको उल्लेख गरेका थिए। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसद् र नेपाली जनतासँग तत्काल माफी माग्नुपर्ने माग गरेका छन्।
एमालेले प्रधानमन्त्री शाहलाई कूटनीतिक मर्यादा पालना गर्न तथा राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि आवश्यक कदम चाल्न आग्रह समेत गरेको छ।




