काठमाडौं, । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयहरूमा छड्के अनुगमनलाई थप तीव्र बनाएको छ। केन्द्रले हाल दैनिक १० वटा सरकारी कार्यालयमा अनुगमन गर्दै आएको जनाएको छ।
केन्द्रकी सूचना अधिकारी सरिता खतिवडाका अनुसार पाँचवटा अनुगमन टोली गठन गरी कार्यालय समयमा कर्मचारीको उपस्थिती, तोकिएको पोशाकको प्रयोग तथा फाइल व्यवस्थापनलगायत विषयमा नियमित निगरानी भइरहेको छ।
उनले गत साउन महिनादेखि हालसम्म देशभरका एक हजार १३० सरकारी कार्यालयमा अनुगमन गरिएको जानकारी दिइन्। अनुगमनका क्रममा छ हजार ७१० कर्मचारीले कार्यालय समयको पालना नगरेको तथा एक हजार १६२ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रको तथ्यांकमा उल्लेख छ।
सूचना अधिकारी खतिवडाका अनुसार केही कार्यालयमा दुईदेखि तीन पटकसम्म अनुगमन गरिएको छ। अनुगमनका क्रममा भेटिएका अनियमितताका आधारमा सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि सिफारिससमेत गरिएको उनले बताइन्।
निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार कार्यालय समय पालना नगर्ने वा तोकिएका मापदण्ड उल्लंघन गर्ने कर्मचारीलाई सम्बन्धित कार्यालयले चेतावनी पत्र जारी गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था छ। दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीमाथि विभागीय कारबाही गर्न सकिने कानुनी प्रावधान रहेको छ।
केन्द्रले सातै प्रदेशका कम्तीमा एक–एक जिल्लामा समेत अनुगमन सञ्चालन गरिरहेको जनाएको छ। विशेषगरी सेवाग्राहीको चाप बढी हुने तथा जनसम्पर्क धेरै रहने कार्यालयहरूलाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको केन्द्रले जनाएको छ।



