काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरु तथा कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत देशको हिमाली भू-भागको थोरै स्थानहरू, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।



