काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई कुनै पनि अवस्थामा विभाजन हुन नदिने स्पष्ट गरेका छन्। कांग्रेसभित्र देखिएका मतभेदका बीच उनले पार्टीलाई एकताबद्ध राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको मूल शक्ति नै लोकतन्त्र र आन्तरिक बहुलवाद रहेको उल्लेख गरे। उनले पार्टीभित्र असहिष्णु प्रवृत्ति बढ्न थालेको संकेत गर्दै त्यसप्रति गम्भीर बन्न नेतृत्वलाई आग्रह गरे।
कोइरालाले कांग्रेसको स्थापना लोकतन्त्रको रक्षा र निरंकुशताको अन्त्यका लागि भएको स्मरण गराउँदै पार्टीको मूल मूल्य र मान्यताविपरीत गतिविधि हुन नहुने बताए।
उनले देशका विभिन्न स्थानमा वडा सभापतिहरूलाई प्रक्रिया नपुर्याई मौखिक रूपमा हटाउने प्रयास भएको आरोप लगाउँदै यस्तो अभ्यासलाई ‘निरंकुशताको संकेत’ का रूपमा व्याख्या गरे।
“कांग्रेसको इतिहास लोकतान्त्रिक संघर्षको इतिहास हो। त्यसैले पार्टीभित्र कुनै पनि प्रकारको निरंकुश शैली स्वीकार्य हुन सक्दैन,” उनले भने।
पार्टीभित्र बढ्दो आन्तरिक विवादका बीच कोइरालाको यो अभिव्यक्तिलाई कांग्रेसको भावी दिशा र एकतासम्बन्धी महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।




