काठमाडौँ । त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा मृत्यु भएका व्यक्तिको पहिचान अझै यकिन हुन सकेको छैन। प्रहरीले मृतकको पहिचानसँगै घटनामा प्रयोग भएको परिचयपत्रबारे समेत अनुसन्धान अघि बढाएको छ।
आगलागीपछि मृतकको साथबाट भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा हुनसक्ने प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। तर, दावा लामा नाम गरेका व्यक्ति स्वयं सकुशल रहेको जानकारी आएपछि मृतकको वास्तविक पहिचानबारे थप अनुसन्धान आवश्यक भएको हो।
लाइसेन्स प्रयोगबारे पनि छानबिन
प्रहरीले मृतकसँग भेटिएको लाइसेन्सको विवरण, त्यसको प्रयोग तथा सम्भावित दुरुपयोगको विषयमा अनुसन्धान गरिरहेको छ। आफू दावा लामा भएको बताउने व्यक्तिलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बोलाएर प्रहरीले सोधपुछ गरिरहेको छ।
प्रहरीका अनुसार मृतकको पहिचान पुष्टि गर्न उपलब्ध कागजात तथा अन्य प्रमाणको अध्ययन भइरहेको छ।
सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
आगलागी हुनुअघि बस चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। विवाद भएको केही समयपछि बसको पछाडिको भागबाट आगो सुरु भएको थियो। घटनाको कारण र मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

