२०८३ आश्विन ६

सम्भावित चक्रवातको असर नेपालमा पर्ने भएपछि उच्च सतर्कता

काठमाडौँ । अन्डमान सागरबाट विकसित भएको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै चक्रवातमा परिणत हुने क्रममा रहेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित प्रभावलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।

मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीको मार्ग र शक्तिमा हुने परिवर्तनका आधारमा नेपालमा पर्ने प्रभाव फरक हुनसक्ने भएकाले विभिन्न मौसमी मोडेलमार्फत यसको अध्ययन भइरहेको विभागले जनाएको छ।

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। देशका अधिकांश भूभागमा भने मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका अधिकांश जिल्लामा मौसमी प्रणालीको प्रभाव देखिन सक्नेछ। प्रणाली हाल बङ्गालको खाडीको मध्य भागतर्फ पुगेको र थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ।

बुधबार भारतको दक्षिणी ओडिसा र उत्तरी आन्ध्र प्रदेशको तटीय क्षेत्र आसपासबाट उक्त प्रणाली जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ। यसको थप विकास र गमनमार्गले नेपालमा पर्ने प्रभाव निर्धारण गर्ने विभागको भनाइ छ।

जिल्ला प्रशासनलाई पूर्वतयारीमा जुट्न निर्देशन

सम्भावित जोखिमलाई ध्यानमा राख्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई पूर्वतयारीसहित सतर्क रहन भनिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकसमेत बसेर सम्भावित प्रभावित क्षेत्रका स्थानीय तह तथा सम्बन्धित सरकारी निकायसँग समन्वय अघि बढाइएको छ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने भएकाले आरोहण तथा भ्रमणका लागि पुगेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। असोज ८ गतेपछि मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

नदी तटीय क्षेत्रमा विशेष सतर्कता

चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा पनि स्थानीयस्तरमा तयारी थालिएको छ। धनुषामा नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिएका छन्।