काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आकस्मिक कारण देखाउँदै संसद् सचिवालयले यसअघि तय गरेको कार्यसूचीमा परिवर्तन गरेको छ।
नयाँ कार्यसूचीअनुसार बैठकमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल हुनेछ। उक्त सम्झौता अनुमोदनका लागि प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिनेछ।
नागरिक लगानी कोषसम्बन्धी विधेयकको कार्यसूची हटाइयो
यसअघि आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो।
तर, संसद् सचिवालयले आकस्मिक कारण देखाउँदै उक्त कार्यसूची हटाएर सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौतालाई नयाँ कार्यसूचीमा समावेश गरेको हो।


