काठमाडौँ । नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाली खेलकुदमा थाइल्यान्डलाई ४६–४३ ले हराउँदै विजयी सुरुआत गरेको छ।
टोकाई सिटिजेन जिम्नाजियममा मंगलबार भएको समूह ‘बी’को खेलमा नेपाल पहिलो हाफमा २४–१५ ले पछि परेको थियो। कमजोर डिफेन्सका कारण नेपाल दुईपटक अलआउटसमेत भएको थियो।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन
दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै नेपालले खेलमा फर्किएको हो। डिफेन्समा सुधार गरेपछि नेपालले थाइल्यान्डलाई दुईपटक अलआउट गर्यो। खेल सकिन तीन मिनेट बाँकी हुँदा नेपालले ३९–३९ को बराबरी गरेको थियो।
त्यसपछि लगातार अंक जोड्दै नेपालले ४६–४३ को जित निकालेको हो। नेपालको जितमा रबिना चौधरीले प्रभावशाली प्रदर्शन गरिन्।
समूह ‘बी’मा नेपालसँगै थाइल्यान्ड, श्रीलंका र चाइनिज ताइपेइ छन्। नेपालले आफ्नो दोस्रो खेल बुधबार चाइनिज ताइपेइसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।


