२०८३ असार ६

रुपन्देहीमा हराएका व्यक्तिको खोजीमा प्रगति

काठमाडौँ ।  रुपन्देही प्रहरीले जिल्लाभर हराएका व्यक्तिहरूको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। पछिल्लो समय विभिन्न स्थानबाट हराएका व्यक्तिहरूको खोजीमा उल्लेखनीय प्रगति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जेठ महिनामा हराएको भन्दै १०८ जनाको निवेदन परेकोमा ६१ जनालाई फेला पारेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ। सो अवधिमा हराउनेमा ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार फेला परेकामध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष रहेका छन्।

यसैगरी, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि हराइरहेका थप ९ जनालाई पनि पछिल्लो खोजी अभियानका क्रममा फेला पारेर परिवारसँग पुनः मिलाइएको प्रहरीले जनाएको छ। उनीहरूमा दुई बालिका, पाँच महिला र दुई पुरुष रहेका छन्।

प्रहरीले जिल्लामा हराएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप जनशक्ति परिचालन गरिएको र खोजी अभियान निरन्तर जारी रहेको जनाएको छ।