काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बम र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत अर्बमले मन्त्री गौतमलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गरे ।
भेटमा नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीले भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारमा सहयोग पुग्ने तथा यसले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्साहित बनाउने विश्वास व्यक्त गरिएको थियो ।
मन्त्री गौतमले अमेरिकी सरकारसँग पारस्परिक कानुनी सहायता सम्बन्धी विषयमा मन्त्रालयले आवश्यक पूर्वतयारी पूरा गरिसकेको भन्दै यसलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिइन् । मानव बेचबिखन नियन्त्रण, लगानी प्रवर्द्धन र पूर्वाधार विकाससँग सम्बन्धित कानुन निर्माणबारे पनि छलफल भएको बताइएको छ ।
त्यस अवसरमा उनले न्यायमा सहज पहुँच सुनिश्चित गर्न तीनै तहका कानुनलाई एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने गरी मन्त्रालयले डिजिटाइजेसनको काम अघि बढाइरहेको जानकारी दिइन् ।
मन्त्री गौतमले एकीकृत कानुनी सहायता र संक्रमणकालीन न्यायका विषयमा समेत अमेरिकी सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको उल्लेख गरिन् ।
