काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभामा प्रस्तुत गरिएको बजेट वक्तव्यमा भएको त्रुटि स्वीकार गर्दै सच्याएको छ।
प्रदेश सभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले बजेट विवरणमा गल्ती भएको स्वीकार गर्दै आवश्यक सुधार गरिएको जानकारी दिएका छन्।
गत असार १ गते प्रस्तुत गरिएको बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन मन्त्रालयको बजेट २ अर्ब रुपैयाँ उल्लेख गरिएको थियो। तर वास्तविक रकम ९२ करोड ४९ लाख रुपैयाँ मात्र भएको स्पष्ट पार्दै उक्त विवरण सच्याइएको उनले बताए।
उनका अनुसार प्रस्तुत दस्तावेजमा देखिएको त्रुटि औपचारिक रूपमा सच्याएर प्रदेश सभामा जानकारी गराइएको हो।




