२०८३ असार ५

पोर्चुगल र कंगोले अंक बाँडे

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’ अन्तर्गत पोर्चुगल र कंगोबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।

अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा पोर्चुगलले छैटौँ मिनेटमै जुआँ नेभेसको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा खेलमा दबाब बनाएको पोर्चुगलले अग्रता जोगाउन नसक्दा अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका योआने विस्साले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि स्कोर परिवर्तन हुन नसक्दा खेल बराबरीमा टुंगियो।

प्रतियोगिताअन्तर्गत आज नेपाली समयअनुसार राति १ः४५ बजे इंग्ल्याण्ड र क्रोएसिया, बिहान ४ः४५ बजे घाना र पानामा तथा ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ।

Read More

लाम्पाटास्थित संयुक्त सुरक्षा वेशमा बन्दोबस्ती सामग्री ढुवानी, उच्च सुरक्षा निगरानी जारी

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–स्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशका लागि आवश्यक बन्दोबस्ती सामग्री पुर्‍याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका सामग्री बुधबार बिहान हेलिकोप्टरमार्फत बाजुरास्थित गुल्मबाट लाम्पाटा ढुवानी गरिएको हो।

उक्त क्षेत्रमा गत जेठ ३१ गते सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो। पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन गरिएको जनाइएको छ।

नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ खटिएको सुरक्षा टोलीको गतिविधिबारे जानकारी लिएका छन्। उनले सुरक्षा अवस्थाको मूल्यांकन गर्दै सुरक्षाकर्मीलाई आवश्यक निर्देशनसमेत दिएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मुख्यालयबाट परिचालित टोलीको अनुगमन, समन्वय तथा आवश्यक निर्देशन केन्द्रबाटै निरन्तर हुने व्यवस्था मिलाइएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको उक्त टोली जेठ २७ गते त्यस क्षेत्रतर्फ परिचालन गरिएको थियो।

बाजुरा र हुम्लाका स्थानीयवासीबीच पछिल्ला दिनमा देखिएको विवादका कारण सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। शान्ति–सुरक्षा कायम राख्न संयुक्त सुरक्षा टोली सक्रिय रूपमा परिचालित रहेको जनाइएको छ।

Read More

पीआर लिएर विदेश बसेका कर्मचारीमाथि सरकार कडा : सरकारी सेवाबाटै अयोग्य ठहर गर्ने तयारी

काठमाडौँ । विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) लिएर वर्षौंदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारीमाथि सरकारले कडा कदम चाल्न थालेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले विदेशमै बसोबास गरिरहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग्दै उनीहरूलाई सरकारी सेवाका लागि नै अयोग्य ठहर गर्ने प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीविरुद्ध कानुनी प्रक्रिया थालिएको जनाएको हो।

सूचनाअनुसार मन्त्रालयअन्तर्गत कार्यरत दुई जना कम्प्युटर अपरेटरले बिदा अवधि समाप्त भइसकेपछि पनि लामो समयदेखि कार्यालयमा हाजिर नगरी विदेशमै बसोबास गरिरहेको पाइएको छ। प्रारम्भिक अध्ययनका क्रममा उनीहरूले विदेशी आवासीय अनुमति (पीआर) लिएको तथ्यसमेत फेला परेको मन्त्रालयले जनाएको छ।

प्रचलित कानुनअनुसार बहालवाला निजामती कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। स्वीकृत बिदा समाप्त भएको ३० दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानुनी व्यवस्था रहे पनि उनीहरू लामो समयदेखि सम्पर्कविहीन रहेको मन्त्रालयको भनाइ छ।

निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही गर्नुपर्ने अवस्था देखिएको भन्दै मन्त्रालयले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

तोकिएको अवधिमा स्पष्टीकरण नआए वा पेश गरिएको जवाफ सन्तोषजनक नभए कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

यसैबीच, सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्। उनले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका अन्य कर्मचारीहरूको अवस्थाबारे पनि खोजी तथा अध्ययनलाई तीव्र बनाइएको जानकारी दिइन्।

सरकारको यो कदमलाई विदेशमा बस्दै नेपाल सरकारको जागिर कायम राख्ने प्रवृत्तिमाथिको कडा सन्देशका रूपमा हेरिएको छ।

Read More

ह्यारी केनको दुई गोलमा क्रोएसियामाथि इंग्ल्याण्डको प्रभावशाली जित

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगितामा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। अमेरिकाको डालासस्थित रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डको जितमा प्रमुख भूमिका निर्वाह गरे।

इंग्ल्याण्डले खेलको १२औँ मिनेटमै पेनाल्टीमार्फत अग्रता लिएको थियो। कप्तान ह्यारी केनले अवसरलाई सदुपयोग गर्दै टोलीलाई सुरुआती बढत दिलाए। तर ३६औँ मिनेटमा मार्टिन बुटुरिनाले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए।

पहिलो हाफ सकिनुअघि केनले ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई पुनः अग्रता दिलाए। यद्यपि, अतिरिक्त समयमा पिटर मुसाले गोल गरेपछि क्रोएसियाले खेल २–२ को बराबरीमा पुर्‍याएको थियो।

दोस्रो हाफको सुरुमै जुड बेलिङ्हमले ४७औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई फेरि अघि बढाए। त्यसपछि ८५औँ मिनेटमा मार्कस र्यासफोर्डले अर्को गोल थपेपछि इंग्ल्याण्डले जित सुनिश्चित गर्‍यो।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ४–२ को नतिजासहित इंग्ल्याण्डको पक्षमा टुंगियो।

प्रतियोगिताअन्तर्गत हाल घाना र पानामाबीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै, आज बिहान ७ः४५ बजे उज्बेकिस्तान र कोलम्बियाबीचको खेल हुने तालिका रहेको छ।

Read More

मौसम पूर्वानुमान: कोशीसहित विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकीका तराईका थोरै स्थानमा तातो दिनको अवस्था कायम रहने मौसमविद्ले जनाएका छन्।

आज राति कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्ले मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Read More

२०८३ (१८ जुन २०२६), बिहीवार:  आजको  राशिफल

आज ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि रहेको छ। तिष्य (पुष्य) नक्षत्र दिनभर प्रभावशाली रहनेछ र साँझ ४:४२ बजेपछि अश्लेषा नक्षत्र प्रारम्भ हुनेछ। चन्द्रमा कर्कट राशिमा सञ्चार गरिरहेकाले भावनात्मक पक्ष, पारिवारिक सम्बन्ध, गृहस्थ जीवन तथा व्यक्तिगत निर्णयमा विशेष प्रभाव पर्ने देखिन्छ। ग्रह–नक्षत्रको वर्तमान अवस्थाले केही राशिलाई उपलब्धि, प्रतिष्ठा र आर्थिक लाभको संकेत दिएको छ भने केही राशिले खर्च, स्वास्थ्य तथा व्यवहारिक पक्षमा बढी सतर्कता अपनाउनुपर्ने देखिन्छ। धैर्य, विवेक र निरन्तर परिश्रमले चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने दिन रहनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पारिवारिक तथा घरेलु जिम्मेवारीमा बढी समय खर्च हुन सक्छ। आफन्तजनको आवश्यकता पूरा गर्नुपर्ने अवस्था आउनाले व्यक्तिगत योजनाहरू केही प्रभावित हुन सक्छन्। विश्वास गरेका व्यक्तिहरूले अपेक्षा अनुसार साथ नदिँदा निराशा महसुस हुन सक्छ। सुनेका कुराको भरमा निर्णय लिनुभन्दा तथ्य बुझेर अघि बढ्नु उपयुक्त हुनेछ।

कृषि, पशुपालन, घरायसी व्यवस्थापन तथा पारिवारिक कार्यमा व्यस्तता बढ्ने संकेत छ। तत्काल लाभ नदेखिने काममा समय खर्च भए पनि त्यसले भविष्यमा फाइदा पुर्‍याउन सक्छ। रोकिएका वा अधुरा काम दोहोर्याएर प्रयास गर्दा सफलतापूर्वक सम्पन्न हुनेछन्। परिश्रम धेरै गर्नुपरे पनि प्रतिफल अपेक्षाभन्दा कम देखिन सक्छ, त्यसैले धैर्य कायम राख्नु आवश्यक हुनेछ।

वृष (इ, , , , वा, वि, वु, वे, वो)

आज साहस, लगनशीलता र आत्मविश्वासले सफलता दिलाउने दिन छ। कठिन देखिएका काम पनि दृढ इच्छाशक्तिका साथ पूरा गर्न सकिनेछ। छोटो समयमै सकारात्मक उपलब्धि हात पर्ने सम्भावना रहेको छ। जीवनशैलीमा सुधार ल्याउने अवसर प्राप्त हुन सक्छ।

आर्थिक तथा व्यावसायिक पक्ष अनुकूल रहनेछ। आवश्यक स्रोतसाधन जुट्ने तथा विगतको परिश्रमको उचित प्रतिफल प्राप्त हुने संकेत देखिन्छ। नयाँ काम सुरु गर्न तथा रोकिएका योजनालाई अघि बढाउन राम्रो समय रहेको छ। प्रतिस्पर्धीमाथि विजय प्राप्त हुने र उद्योग–व्यवसायमा लाभ बढ्ने सम्भावना छ।

मिथुन (का, कि, कु, , , , के, को, हा)

आज सम्मान, प्रतिष्ठा तथा लोकप्रियता बढ्ने संकेत देखिन्छ। बोली, व्यवहार तथा विचारको प्रभावले महत्त्वपूर्ण व्यक्तिहरूलाई आकर्षित गर्न सकिनेछ। आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभाव विस्तार हुने सम्भावना छ।

विगतको परिश्रमबाट आर्थिक लाभ प्राप्त हुने तथा रोकिएका काम सम्पन्न हुने योग रहेको छ। अध्ययन, अनुसन्धान तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। कुनै विशेष कार्यक्रम, समारोह वा सम्मानजनक अवसरमा सहभागी बन्ने सम्भावना पनि देखिन्छ। दिन समग्रमा उपलब्धिमूलक रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चन्द्रमा आफ्नै राशिमा रहेकाले आज आत्मविश्वास र प्रभाव बढ्नेछ। प्रतिष्ठित काममा सफलता प्राप्त भई नाम र दाम दुवै कमाउने अवसर मिल्न सक्छ। सहयोगी तथा शुभचिन्तकहरूको साथले कठिन काम पनि सहज रूपमा सम्पन्न हुने संकेत देखिन्छ।

टाढिएका वा लामो समयदेखि भेट नभएका परिवारजनसँग पुनः भेटघाट हुन सक्छ। पारिवारिक जमघट, स्वादिष्ट भोजन तथा रमाइलो वातावरणले मन प्रसन्न रहनेछ। विगतका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। नयाँ तथा सिर्जनात्मक योजना प्रारम्भ गर्न दिन विशेष अनुकूल देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आर्थिक व्यवस्थापनमा विशेष सावधानी आवश्यक हुनेछ। अनियोजित खर्च बढ्नाले बजेटमा दबाब पर्न सक्छ। आकस्मिक समस्या वा पारिवारिक आवश्यकताका कारण अतिरिक्त खर्चको सम्भावना देखिन्छ। समयमै निर्णय लिन नसक्दा केही अवसर गुम्न सक्नेछन्।

लगानी बढाउनुपर्ने वा पुराना दायित्व पूरा गर्नुपर्ने अवस्था आउन सक्छ। आलोचना गर्ने तथा दोष देखाउने व्यक्तिहरू सक्रिय हुन सक्ने भएकाले संयमित व्यवहार आवश्यक हुनेछ। सहयोगको अपेक्षा गरेका व्यक्तिहरूबाट पनि अपेक्षित साथ नपाइने सम्भावना रहेकाले आफ्नै क्षमतामा भरोसा राख्नु उचित हुनेछ।

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

काम सम्पन्न भए पनि आर्थिक पक्षमा केही ढिलाइ हुन सक्छ। प्राप्त हुनुपर्ने रकम अड्किनाले अस्थायी दबाब महसुस हुन सक्छ। नियमित पेशा तथा व्यवसायबाट सामान्य लाभ भइरहने भए पनि अपेक्षाअनुसार उपलब्धि प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।

सजगता नअपनाउँदा आफ्नो श्रमको फाइदा अरूले उठाउने प्रयास गर्न सक्छन्। आवश्यकताका लागि सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। यद्यपि भविष्यका लागि लाभदायक लगानी गर्ने तथा दीर्घकालीन सम्भावनाको खोजी गर्ने राम्रो समय रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सामाजिक प्रतिष्ठा बढाउने तथा अरूको हितमा काम गर्ने अवसर प्राप्त हुनेछ। प्रभावशाली तथा विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुन सक्छ। व्यापार, कृषि, पशुपालन तथा व्यवसायिक गतिविधिमा सकारात्मक परिणाम प्राप्त हुने संकेत देखिन्छ।

नयाँ अवसरहरूले पछ्याउने भएकाले भविष्यका लागि बलियो आधार तयार गर्न सकिनेछ। मेहनत र लगनशीलताले नाम, दाम तथा सम्मान दिलाउने सम्भावना छ। भौतिक साधन तथा आवश्यक स्रोत जुट्ने भएकाले दीर्घकालीन योजना कार्यान्वयन गर्न सहज हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चुनौतीपूर्ण परिस्थितिबीच पनि अवसर प्राप्त हुने दिन छ। नयाँ काम सुरु गर्ने सम्भावना रहेको छ भने सहयोगीहरूको साथले आत्मबल बढाउनेछ। सामुदायिक तथा सामाजिक क्षेत्रमा सकारात्मक योगदान दिन सकिनेछ।

यद्यपि केही समय प्रत्यक्ष लाभ नदिने काममा अल्झिनुपर्ने अवस्था आउन सक्छ। मेहनतको उचित मूल्य प्राप्त भए पनि उपलब्धि विस्तारै आउने संकेत छ। आफ्ना कमजोरीलाई सुधार गर्ने प्रयास आवश्यक हुनेछ, अन्यथा त्यसको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी बढ्ने भए पनि दीर्घकालीन रूपमा लाभदायक रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज अपेक्षित नतिजा प्राप्त गर्न थप प्रयास आवश्यक पर्ने देखिन्छ। केही काम पुनः दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ। आम्दानीमा आएको सुस्तताले केही योजना स्थगित हुन सक्छन्। आर्थिक लेनदेनमा विशेष सावधानी अपनाउनु उपयुक्त हुनेछ।

अत्यधिक आशावादी बन्नुभन्दा यथार्थपरक योजना बनाउनु लाभदायक हुनेछ। सानो गल्ती वा असावधानीले सुनिश्चित उपलब्धिसमेत गुम्न सक्ने भएकाले निर्णय गर्दा विवेक प्रयोग गर्नु आवश्यक छ। धैर्य र संयमले दिन सहज बनाउन मद्दत गर्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि)

आज घुमफिर, भेटघाट तथा मनोरञ्जनका गतिविधिले दिन रमाइलो बनाउनेछ। प्रियजन तथा साथीभाइसँगको सम्बन्ध थप प्रगाढ बन्ने सम्भावना छ। भौतिक सुविधा तथा आरामदायी वातावरणले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

आम्दानी बढाउने नयाँ योजना सुरु गर्न सकिनेछ। प्रेम, मित्रता तथा साझेदारीका सम्बन्ध सुदृढ बन्नेछन्। व्यवसायिक प्रयोजनका लागि रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइको सहयोग प्राप्त हुने भएकाले उत्साह बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज मेहनत गर्ने व्यक्तिहरूका लागि अत्यन्त उत्साहजनक दिन रहनेछ। आवश्यक स्रोतसाधन जुट्ने तथा रोकिएका काम सम्पन्न हुने संकेत देखिन्छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुने र विरोधीहरूको प्रभाव कमजोर बन्ने सम्भावना छ।

आर्थिक लाभ तथा व्यापार विस्तारका अवसर प्राप्त हुनेछन्। नयाँ योजना कार्यान्वयन गर्न अनुकूल समय रहेको छ। परिश्रमको उचित प्रतिफल प्राप्त हुने भएकाले आत्मविश्वास बढ्नेछ। साहस र निर्णय क्षमताले उल्लेखनीय उपलब्धि दिलाउन सक्छ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज स्वास्थ्य तथा शारीरिक ऊर्जाप्रति विशेष ध्यान दिन आवश्यक हुनेछ। थकान, कमजोरी वा असहजताले काममा केही बाधा पुर्‍याउन सक्छ। अपेक्षित सहयोग नपाउँदा धेरै काम आफैंले सम्हाल्नुपर्ने अवस्था आउन सक्छ।

व्यापार तथा आर्थिक गतिविधिमा केही सुस्तता देखिन सक्छ। महत्त्वपूर्ण अवसर गुम्न नदिन निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। यद्यपि धैर्य, गुरुजनको सुझाव तथा निरन्तर परिश्रमले चिताएका काम क्रमशः सम्पन्न हुनेछन्। अध्ययन तथा ज्ञानार्जनमा विशेष ध्यान दिए राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ।

Read More