काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–स्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशका लागि आवश्यक बन्दोबस्ती सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका सामग्री बुधबार बिहान हेलिकोप्टरमार्फत बाजुरास्थित गुल्मबाट लाम्पाटा ढुवानी गरिएको हो।
उक्त क्षेत्रमा गत जेठ ३१ गते सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो। पछिल्लो समय सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन गरिएको जनाइएको छ।
नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ खटिएको सुरक्षा टोलीको गतिविधिबारे जानकारी लिएका छन्। उनले सुरक्षा अवस्थाको मूल्यांकन गर्दै सुरक्षाकर्मीलाई आवश्यक निर्देशनसमेत दिएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मुख्यालयबाट परिचालित टोलीको अनुगमन, समन्वय तथा आवश्यक निर्देशन केन्द्रबाटै निरन्तर हुने व्यवस्था मिलाइएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहेको उक्त टोली जेठ २७ गते त्यस क्षेत्रतर्फ परिचालन गरिएको थियो।
बाजुरा र हुम्लाका स्थानीयवासीबीच पछिल्ला दिनमा देखिएको विवादका कारण सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। शान्ति–सुरक्षा कायम राख्न संयुक्त सुरक्षा टोली सक्रिय रूपमा परिचालित रहेको जनाइएको छ।




