२०८३ असार ६

शिक्षा क्षेत्रमा लगानी बढाउन सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षमा लगानी विस्तार गर्ने नीति लिएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि उठेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री पोखरेलले विद्यालय तहदेखि नै डिजिटल शिक्षाको पहुँच बढाउन आवश्यक बजेट सुनिश्चित गरिएको जानकारी दिए।

उनका अनुसार स्मार्ट बोर्ड व्यवस्थापन, आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न लक्षित फाउन्डेशन लर्निङ कार्यक्रम तथा शैक्षिक क्षमता अभिवृद्धिका विभिन्न योजनाका लागि बजेट छुट्याइएको छ। आगामी आर्थिक वर्षका लागि विद्यालय पूर्वाधार विकासतर्फ १० अर्ब ४५ करोड २४ लाख ४ हजार रुपैयाँ विनियोजन गरिएको उनले बताए।

मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी गर्ने सरकारको प्रतिबद्धता अनुरूप आगामी वर्षमा शिक्षा क्षेत्रको बजेट थप सुदृढ बनाइने उल्लेख गरे।

उनले शिक्षा सुधारका सबै कार्यक्रमहरू बजेटमै निर्भर नहुने भन्दै प्रभावकारी नीति, व्यवस्थापन र कार्यान्वयनमार्फत पनि उल्लेखनीय सुधार सम्भव रहेको धारणा व्यक्त गरे।