२०८३ असार ५

‘देशसँगको पिरतीले मन्त्री बनाएछ’ : महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिमा पद र प्रतिष्ठाको खोजीमा नभई देशप्रतिको लगावका कारण मन्त्रीको जिम्मेवारीमा पुगेको बताएका छन्। संसद्‌मा बोल्ने क्रममा उनले आफ्नो जीवन यात्रालाई रोचक शैलीमा प्रस्तुत गर्दै देशसँगको ‘पिरती’कै परिणामस्वरूप मन्त्री बनेको टिप्पणी गरे।

बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आफू स्वभावतः सांसद वा मन्त्री बन्ने व्यक्ति नभएको बताए।

उनले हाँसो मिसिएको शैलीमा भने, “म मन्त्री वा सांसद बन्ने योजनासहित राजनीतिमा आएको मान्छे होइन। तर देशसँगको पिरतीले यो ठाउँसम्म ल्याइदियो। यसको पछाडि लामो कथा छ।”

पुनका अनुसार उनी अमेरिकाबाट केही समयका लागि नेपाल घुम्न आएका थिए। सुरुमा गाउँसँग सम्बन्ध गाँसिएको त्यो लगाव विस्तारै जिल्लासम्म र अन्ततः देशप्रतिको गहिरो आत्मीयतामा रूपान्तरण भएको उनले सुनाए।

“सुरुमा देशसँग होइन, गाउँसँग पिरती बस्यो। गाउँबाट जिल्ला हुँदै त्यो भावना देशसम्म पुग्यो,” उनले भने।

प्रविधि र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको यो अभिव्यक्तिले संसद्‌मा उपस्थित सांसदहरूको ध्यान मात्र खिचेन, उनको राजनीतिक यात्राप्रतिको दृष्टिकोण पनि उजागर गर्‍यो। मन्त्री पुनको भनाइले पदभन्दा सेवा र देशप्रतिको समर्पणलाई प्राथमिकता दिएको सन्देश दिएको छ।