२०८३ असार ५

तनहुँमा नौ वर्षमा वन्यजन्तु आक्रमणबाट १७ बालबालिकाको मृत्यु, बन्दीपुर सबैभन्दा प्रभावित

काठमाडौं । पछिल्ला नौ वर्षमा तनहुँ जिल्लामा मानव–वन्यजन्तु द्वन्द्वका घटनाबाट १७ जना बालबालिकाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०७४ देखि २०८२ सम्म जिल्लाभर ३८ वटा वन्यजन्तु आक्रमणका घटना दर्ता भएका छन्।

उक्त अवधिमा २१ जना स्थानीयवासी घाइते भएका छन्। जिल्लाका विभिन्न पालिकामध्ये बन्दीपुर गाउँपालिका वन्यजन्तु आक्रमणबाट सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ भएका ११ घटनामध्ये ७ जना बालबालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

डिभिजन वन कार्यालयका सूचना अधिकारी तथा वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार भानु नगरपालिकामा १४ वटा घटना भएका छन्। ती घटनामा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। अधिकांश घटनामा चितुवाको आक्रमण जिम्मेवार रहेको जनाइएको छ भने केही घटनामा भालु र बाँदरको संलग्नता रहेको छ।

त्यसैगरी व्यास नगरपालिकामा ६ वटा घटनामा २ जनाको मृत्यु र ४ जना घाइते भएका छन्। शुक्लागण्डकी नगरपालिकामा तीन घटनामा २ जनाको ज्यान गएको तथा एक जना घाइते भएका छन्। आँबुखैरेनी गाउँपालिकामा भएका तीन घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् भने म्याग्दे गाउँपालिकामा एक घटनामा एक जना घाइते भएको विवरण छ।

वन कार्यालयका अनुसार चितुवाको आक्रमणबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भालु र बाँदरका कारण हुने आक्रमणका घटना तुलनात्मक रूपमा कम रहेको जनाइएको छ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, मगर गोही, अजिङ्गर तथा गौरीगाईबाट क्षति पुगेमा पीडित वा उनका हकवालाले ३५ दिनभित्र सम्बन्धित निकायमा निवेदन दिनुपर्ने व्यवस्था छ।

निर्देशिकाअनुसार सामान्य घाइतेलाई औषधि उपचारका लागि अधिकतम २० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइन्छ। गम्भीर घाइतेलाई २ लाख रुपैयाँसम्म राहत दिने व्यवस्था छ। यदि उपचार खर्च सोभन्दा बढी लागेमा सरकारी अस्पतालमा उपचार गराई सम्बन्धित अस्पतालको सिफारिसका आधारमा नेपाल सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रावधान रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

डिभिजन प्रमुख मनोज रानाभाटका अनुसार वन्यजन्तु आक्रमणका कारण स्थायी रूपमा अङ्गभङ्ग भई गम्भीर शारीरिक अशक्तता पुगेका व्यक्तिलाई वा उनका हकवालालाई जीविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ राहत उपलब्ध गराइन्छ। यस्तै, मृत्यु भएको अवस्थामा मृतकको आश्रित परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गरिने व्यवस्था छ।

गम्भीर घाइते भई उपचाररत व्यक्तिको अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र सोही कारणले मृत्यु भएमा, वा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएमा, मृतकका नजिकका हकवालालाई सम्पूर्ण उपचार खर्चका साथै १० लाख रुपैयाँ राहत उपलब्ध गराइने प्रावधान रहेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा भने तनहुँ जिल्लामा यस प्रकारका मानव–वन्यजन्तु द्वन्द्वका घातक घटना नदेखिएको वन कार्यालयले जानकारी दिएको छ।