काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन्।
सार्वजनिक नतिजाअनुसार समग्र उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ। नियमिततर्फ उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ भने आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
ग्रेडिङ विवरणअनुसार ३.६१ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ६४ हजार ८२१ जना छन्।
२.८१ देखि ३.२० जीपीए श्रेणीमा सबैभन्दा धेरै ९४ हजार २४९ विद्यार्थी रहेका छन्। २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना छन् भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ४ हजार ३०८ जना रहेका छन्।
त्यसैगरी १.६१ देखि २.०० जीपीए श्रेणीमा ९ जना विद्यार्थी रहेका छन्। बोर्डले विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा पोर्टलमार्फत हेर्न सक्ने जनाएको छ।



