२०८३ आश्विन ९

देशभर लागूऔषध नियन्त्रण अभियान : विभिन्न स्थानबाट ठूलो मात्रामा बरामद, दर्जनौं पक्राउ

काठमाडौं । काठमाडौं सहित देशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा ठूलो मात्रामा लागुऔषधसहित २९व्यक्ति पक्राउ परेका छन्।

काठमाडौंमा मात्रै छुट्टाछुट्टै स्थानबाट गरिएको कारबाहीमा ट्रामाडोल ट्याब्लेट, गाँजा र अन्य नियन्त्रित औषधिसहित विभिन्न उमेर समूहका व्यक्तिहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गोकर्णेश्वर, जोरपाटी र बालाजु क्षेत्रबाट ट्रामाडोलसहित केही युवाहरू पक्राउ परेका छन् भने मित्रपार्क क्षेत्रबाट अवैध पदार्थसहित केही व्यक्तिहरू पक्राउ गरिएको हो।

यसैगरी उपत्यकाबाहिर पनि व्यापक कारबाही गरिएको छ। पाँचथर, मोरङ, झापा, रुपन्देही, मकवानपुर, कास्की, कपिलवस्तु, कैलाली, बर्दिया र कञ्चनपुरमा गरिएको छुट्टाछुट्टै अपरेसनमा ब्राउनसुगर, हेरोइन, अफिम, गाँजा तथा विभिन्न नियन्त्रित औषधिहरू बरामद गरिएको छ।

मोरङ र झापामा गरिएको कारबाहीमा सीमा नजिकबाट भारतबाट नेपालतर्फ प्रवेश गरिरहेका व्यक्तिहरू समेत पक्राउ परेका छन्। बर्दियामा अफिम जस्तो देखिने ठूलो परिमाणको पदार्थसहित तीन जना नियन्त्रणमा परेका छन् भने कास्कीमा इन्जेक्सनजन्य लागूऔषधसहित एक युवती पक्राउ परेकी छन्।

प्रहरीका अनुसार धेरैजसो घटनामा मोटरसाइकल, स्कुटर तथा व्यक्तिगत कोठाबाट लागूऔषध फेला परेको छ। नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्रीवितरणविरुद्धको अभियानलाई थप कडाइका साथ अघि बढाइने जनाएको छ।

Read More

‘निराशाको राजनीति नगर्न’ प्रचण्डको पार्टी नेताहरूलाई आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नकारात्मकता फैलिने गतिविधिबाट टाढा रहन नेताहरूलाई आग्रह गरेका छन्।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा वितरण अभियान सुरु गर्दै उनले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने गरी निराशा सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।

संयोजक प्रचण्डका अनुसार लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका लागि योगदान दिएका राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयासहरू अझै जारी रहेको छ। उनले पार्टीभित्रकै केही गतिविधिले समेत निराशा बढाउने खतरा रहेको टिप्पणी गरे।

उनले वर्तमान सरकारका नीति, बजेट र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै ती श्रमिक, किसान तथा आम नागरिकका हितविपरीत रहेको दाबी गरे। यस्ता नीतिहरूको विरोध विभिन्न माध्यमबाट जारी रहने उनको भनाइ थियो।

कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले पार्टीलाई जनकेन्द्रित बनाएर सामाजिक तथा आर्थिक रूपान्तरणको एजेन्डासहित अघि बढाइने बताए। उनले नीति स्पष्ट पार्दै संगठनलाई अझ प्रभावकारी बनाउन कार्यकर्तालाई आवश्यक प्रशिक्षण दिने योजना रहेको जानकारी दिए।

Read More

खानेपानी तथा सरसफाइ विस्तारका लागि एडीबीको करिब १५ अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ठूलो मात्रामा सहुलियत ऋण स्वीकृत गरेको छ।

बैंकका अनुसार करिब ११ करोड ५० लाख अमेरिकी डलर (१५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको उक्त ऋण एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि उपयोग गरिनेछ। परियोजना १३ जिल्लामा कार्यान्वयन हुने र करिब ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत शहरी क्षेत्रमा सुरक्षित खानेपानी आपूर्ति विस्तार गर्नुका साथै ढल तथा फोहोरपानी व्यवस्थापन प्रणाली सुधार गर्ने योजना रहेको छ। नगरपालिकाहरूमा खानेपानी वितरण संरचना विस्तार, सरसफाइ सेवा सुदृढीकरण र ढल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ।

एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाका अनुसार तीव्र शहरीकरणसँगै बढ्दो जनसंख्याले खानेपानी र सरसफाइ सेवामा दबाब सिर्जना गरेको अवस्थामा यो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

परियोजना कार्यान्वयनपछि सार्वजनिक स्वास्थ्य सुधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो शहरी विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिइएको छ।

Read More

वैदेशिक ऋण ‘बाध्यात्मक आवश्यकता’ भएको अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक आवश्यकता भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धी छलफलमा उठाइएका प्रश्नहरूको जवाफ दिँदै उनले ऋणप्रति नकारात्मक धारणा आवश्यक नभएको टिप्पणी गरे।

अर्थमन्त्री वाग्लेले नेपालले ऋणलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्दै तिर्ने क्षमता विस्तार गरिरहेको उल्लेख गरे। उनका अनुसार ऋण लिनु आफैंमा समस्या होइन, तर यसको सही उपयोग महत्वपूर्ण पक्ष हो।

उनले ऋणबारे अतिरञ्जित टिप्पणी गर्नु उचित नहुने बताउँदै देशको वर्तमान आर्थिक परिस्थितिमा वैदेशिक ऋण आवश्यक रहेको स्पष्ट पारे।

Read More

पार्टी एजेण्डा कमजोर पारिएको लिङ्देनको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केही नेताहरूले संगठनले अघि सारेका एजेण्डाहरू कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

काठमाडौंमा शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन परिस्थितिमा पनि पार्टी राजसंस्था र हिन्दू राष्ट्रका एजेण्डाप्रति प्रतिबद्ध रहेको उल्लेख गरे। तर, आन्तरिक रूपमा केही गतिविधिले ती एजेण्डा कमजोर पार्ने प्रयास भएको उनको दाबी थियो।

उनले पार्टी सिद्धान्तबाट विचलित नहुने स्पष्ट पार्दै पुराना अभ्यास र शैली दोहोरिँदा संगठनमा अस्थिरता देखिन सक्ने टिप्पणी गरे। व्यक्तिगत विवाद र आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर बनाएको उनको भनाइ थियो।

बैठकमा आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ। साथै, निर्वाचन तथा संगठनात्मक संरचनासम्बन्धी विभिन्न प्रतिवेदनहरू बैठकमा पेश गरिएको पार्टीले जनाएको छ।

Read More

बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं । सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। चिडियाखाना परिसरमा रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएपछि सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सेवा बन्द गरिएको हो।

कार्यालयका अनुसार संक्रमण नियन्त्रण र आवश्यक स्वास्थ्य सुरक्षा उपाय पूरा नभएसम्म चिडियाखाना बन्द रहनेछ। अर्को सूचना जारी भएपछि मात्र पुनः सञ्चालनबारे निर्णय गरिने बताइएको छ।

सार्वजनिक स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि दर्शक प्रवेश पूर्ण रूपमा रोकिएको छ।

Read More

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत, अस्वीकृतिका प्रस्ताव खारेज

काठमाडौं । प्रतिनिधिसभाले विभिन्न चार अध्यादेशलाई बहुमतका आधारमा स्वीकृति दिएको छ। शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधनका अध्यादेश पारित गरेको हो।

बैठकमा विपक्षी सांसदहरूले ती अध्यादेशहरू अस्वीकार गर्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका थिए। तर, सबै प्रस्ताव बहुमतले अस्वीकृत भएपछि अध्यादेशहरूले प्रतिनिधिसभाको स्वीकृति प्राप्त गरेका छन्।

स्वीकृत भएका अध्यादेशमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश समावेश छन्।

प्रतिनिधिसभाको अर्को बैठक असार ११ गतेका लागि तय गरिएको छ।

Read More

वीरगन्जको मेनरोडमा फेरि डोजर , बाँकी संरचना हटाइने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत वीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र रहेका बाँकी घर तथा संरचनाहरू हटाउन आगामी आइतबारदेखि पुनः डोजर अभियान सञ्चालन गरिने भएको छ।

सडक विभागले यसअघि पहिलो चरणमा सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने संरचनाहरू हटाउने कार्य सुरु गरेको थियो। त्यसक्रममा आंशिक रूपमा भत्काइएका तथा अझै खाली नगरिएका संरचनाहरू अब विभागले हटाउने तयारी गरेको हो।

सडक डिभिजन हेटौँडाले वीरगन्ज महानगरपालिकासँग आवश्यक समन्वय र सहयोगका लागि अनुरोध गरेको छ। विभागका अनुसार मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक खण्डमा सडक सीमाभित्र रहेका अवरोध हटाएर सडक विस्तार तथा व्यवस्थापन कार्यलाई अघि बढाइनेछ।

यसअघि जारी सूचनामार्फत सम्बन्धित घरधनीहरूलाई आफ्ना संरचना आफैँ हटाउन समय दिइएको थियो। तर निर्धारित अवधिमा अधिकांश संरचना खाली नभएपछि विभागले कानुनी प्रक्रियाअनुसार हटाउने निर्णय गरेको जनाएको छ।

विशेषगरी घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ चोक आसपासका क्षेत्रमा अझै धेरै संरचना सडक सीमाभित्र रहेको जनाइएको छ।

Read More

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ४ अर्ब ५३ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य वृद्धि सहित बन्द भएको छ। नेप्से १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको हो।

बजारमा सुधार देखिएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३५३ वटा कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ११६ को सेयर मूल्य बढेको, १४० को घटेको तथा १७ कम्पनीको मूल्य स्थिर रहेको छ। अपोलो हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाउँदा बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/९७ अग्रस्थानमा रह्यो, जसको करिब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

क्षेत्रगत रूपमा फाइनान्स, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र ट्रेडिङ समूहमा हरियाली देखिएको छ भने अन्य अधिकांश उपसूचक दबाबमा रहेका छन्।

Read More

झापामा ट्याक्टर–मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको ज्यान गयो

काठमाडौं ।  झापाको कनकाई नगरपालिका–५ तुलसीबारीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली र उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल लगिएको थियो। अस्पतालले बाबु–छोरीलाई मृत घोषणा गरेको हो।

मोटरसाइकलमा सवार ४५ वर्षीया नुरेशसादेवी गम्भीर घाइते भएकी छन्। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार खेतबाट सडकमा निस्कँदै गरेको ट्याक्टर र सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएका थिए। घटनामा संलग्न ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

Read More