काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केही नेताहरूले संगठनले अघि सारेका एजेण्डाहरू कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
काठमाडौंमा शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन परिस्थितिमा पनि पार्टी राजसंस्था र हिन्दू राष्ट्रका एजेण्डाप्रति प्रतिबद्ध रहेको उल्लेख गरे। तर, आन्तरिक रूपमा केही गतिविधिले ती एजेण्डा कमजोर पार्ने प्रयास भएको उनको दाबी थियो।
उनले पार्टी सिद्धान्तबाट विचलित नहुने स्पष्ट पार्दै पुराना अभ्यास र शैली दोहोरिँदा संगठनमा अस्थिरता देखिन सक्ने टिप्पणी गरे। व्यक्तिगत विवाद र आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर बनाएको उनको भनाइ थियो।
बैठकमा आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ। साथै, निर्वाचन तथा संगठनात्मक संरचनासम्बन्धी विभिन्न प्रतिवेदनहरू बैठकमा पेश गरिएको पार्टीले जनाएको छ।




