काठमाडौं । झापाको कनकाई नगरपालिका–५ तुलसीबारीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली र उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल लगिएको थियो। अस्पतालले बाबु–छोरीलाई मृत घोषणा गरेको हो।
मोटरसाइकलमा सवार ४५ वर्षीया नुरेशसादेवी गम्भीर घाइते भएकी छन्। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार खेतबाट सडकमा निस्कँदै गरेको ट्याक्टर र सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएका थिए। घटनामा संलग्न ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।



