२०८३ असार ५

सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यक्रम यथावत् रहेको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले गरिब तथा सीमान्तकृत समुदायलाई लक्षित सामाजिक सुरक्षा र कल्याणकारी कार्यक्रमहरूको बजेटमा कुनै कटौती नगरेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले अघिल्ला सरकारले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइएको र आवश्यक स्थानमा थप सुदृढ बनाउने प्रयास गरिएको बताए।

विपक्षी सांसदहरूको आलोचनाप्रति प्रतिक्रिया दिँदै मन्त्री वाग्लेले सरकारले कुनै पनि लोककल्याणकारी कार्यक्रम बन्द वा कमजोर नपारेको दाबी गरे। बरु, ती कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने दिशामा काम भइरहेको उनको भनाइ थियो।

उनले सरकारले सामाजिक सुरक्षासम्बन्धी प्रतिबद्धतालाई कायम राख्दै लक्षित वर्गको हितलाई प्राथमिकतामा राखेको समेत उल्लेख गरे।

Read More

कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी साउन २ र ३ गते सञ्चालन गर्ने जनाएको छ।

बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भई अधिकांश विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका तर बढीमा दुई विषयमा नन-ग्रेडेड भएका वा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन सक्नेछन्।

परीक्षा दुवै दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। बोर्डले सम्बन्धित विद्यार्थीहरूलाई समयमै आवश्यक तयारी गर्न आग्रह गरेको छ।

Read More

जर्मन राजदूतसँगको विवादित भेटघाटबारे कूटनीतिक चासो बढ्दो

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सचिवालयमा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जसँग असहज व्यवहार भएको दाबी सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ।

स्रोतहरूका अनुसार, विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्यालयमा राजदूत भोल्ज र केही सहयोगीबीच तनावपूर्ण संवाद भएको बताइएको छ। घटनाप्रति असन्तुष्टि जनाउँदै जर्मन पक्षले यसबारे आफ्नो सरकारलाई जानकारी गराएको दाबी गरिएको छ।

परराष्ट्र मामिलाका जानकारहरूले कूटनीतिक प्रतिनिधिहरूसँगको व्यवहारमा अन्तर्राष्ट्रिय मर्यादा कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, यस्ता विवादले नेपालका विकास साझेदार राष्ट्रहरूसँगको सम्बन्धमा अनावश्यक असर पार्न सक्छ।

विज्ञहरूले घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका छन्। साथै, विषयलाई संवाद र कूटनीतिक माध्यमबाट शीघ्र समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

हालसम्म यस विषयमा प्रधानमन्त्री कार्यालय वा जर्मन पक्षबाट विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Read More

क्यान्सर र स्नायु उपचारमा आधुनिक प्रविधिबारे एपोलो अस्पतालको जानकारी, काठमाडौंमा अन्तर्क्रिया

काठमाडौं । भारतको प्रतिष्ठित एपोलो अस्पतालले क्यान्सर सर्जरी तथा स्नायु (न्युरो) उपचारका क्षेत्रमा विकसित भएका नवीनतम चिकित्सा प्रविधिबारे जानकारी दिएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपीबी) सर्जिकल अंकोलोजीका प्रमुख कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्युरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक शरद काले तथा न्युरोसर्जरी र न्युरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले आधुनिक उपचार विधिबारे विस्तृत छलफल गरेका थिए।

कार्यक्रममा डा. कालेले ब्रेन ट्युमरको उपचारमा प्रारम्भिक पहिचान अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै लगातार टाउको दुख्ने, कारणबिनै बान्ता हुने, दृष्टि धमिलो वा दोहोरो हुने, छारे रोगजस्तो कम्पन आउने तथा हातखुट्टा कमजोर हुने जस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञको परामर्श लिन सुझाव दिए।

उनका अनुसार न्युरोनेभिगेसन, सर्जिकल माइक्रोस्कोप, क्युसा प्रणाली तथा मिनिमली इन्भेसिभ इन्डोस्कोपिक प्रविधिले स्वस्थ मस्तिष्कका तन्तुमा न्यून क्षति पुर्‍याउँदै ट्युमर हटाउन सहयोग गरिरहेका छन्।

त्यसैगरी, स्टेरियोट्याक्टिक रेडियोसर्जरी (ज्याप–एक्स) जस्ता प्रविधिले निश्चित प्रकारका ब्रेन ट्युमरको उपचार शल्यक्रिया बिना नै सम्भव बनाउँदै गएको पनि उनले बताए।

Read More

प्रतिनिधिसभामा विभिन्न विषयमा सांसदहरूको चासो, विद्युतीय राहदानीदेखि सीमासम्म उठाइए प्रश्न

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विद्युतीय राहदानी छपाइ प्रकरणदेखि विश्वविद्यालय स्वायत्तता र सीमा सम्बन्धी अभिव्यक्तिसम्मका विभिन्न विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढालाई बोल्न समय दिएका थिए। सांसद बुढाले विद्युतीय राहदानी छपाइसम्बन्धी सार्वजनिक समाचारबारे सरकारको स्पष्ट धारणा माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले पनि सोही प्रकरणमा सरकारसँग जवाफदेहिता माग गरेकी थिइन्।

नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्नेमा जोड दिँदै विश्वविद्यालयहरूको स्वायत्तता कमजोर पार्ने कुनै पनि कदम अस्वीकार्य हुने बताए।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले गत जेठ १७ गते व्यक्त गरेको अभिव्यक्तिप्रति असहमति जनाए।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिमा नैतिकता र जवाफदेहिताको आवश्यकता औंल्याउँदै रक्षा मन्त्रालयको बजेटसम्बन्धी विवरण आफूले उपलब्ध नपाएको गुनासो गरे। उनले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाइएको भन्ने सार्वजनिक समाचारप्रति पनि सरकारको स्पष्टिकरण माग गरे।

Read More

राप्रपाद्वारा सरकारका नीतिगत निर्णयमाथि प्रश्न, सुशासन र कार्यक्रम कार्यान्वयनप्रति आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठकमा सरकारका विभिन्न नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै तीव्र बहस गरेको छ।

शुक्रबारको बैठकमा बोल्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा कडा र प्रभावकारी कदम चाल्नेमा आफूहरू अझै आशावादी रहेको बताए।

उनले सरकारलाई आवश्यक विषयमा समर्थन जनाउने तर गलत अभ्यास र नीतिगत कमजोरीका विरुद्ध निरन्तर आवाज उठाइरहने स्पष्ट गरे। संसदलाई जनताको समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने मुख्य थलोका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले सत्ता र प्रतिपक्षबीचको बहस संसदीय अभ्यासको स्वाभाविक हिस्सा भएको धारणा राखे।

सांसद शाहीले हालैका सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्युत् सवारी साधन आयात, कर छलीसम्बन्धी प्रकरण, सूचना चुहावट तथा महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनमा देखिएको कमजोरीप्रति प्रश्न उठाए।

त्यसैगरी, उनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको भनाइबारे पनि टिप्पणी गर्दै त्यसप्रति आफूहरूको समर्थन रहेको उल्लेख गरे।

उनले स्वास्थ्य बीमा कार्यक्रम कटौती गरिएको विषय उठाउँदै त्यसले विपन्न वर्ग प्रभावित भएको दाबी गरे। गरिब तथा साना किसान लक्षित अनुदान नीतिमा परिवर्तनप्रति पनि उनले असन्तुष्टि जनाए।

त्यस्तै, भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनका क्रममा भएका केही सरकारी कदमप्रति आफूहरूले समर्थन जनाएको उल्लेख गर्दै उनले नीति र प्रक्रिया अनुसार मात्र काम गर्नुपर्नेमा जोड दिए।

सांसद शाहीले विभिन्न नीतिगत विषयमा सरकारलाई बारम्बार प्रश्न गर्दै सरकारका निर्णय जनमुखी हुनुपर्ने धारणा दोहोर्‍याए।

Read More

विश्वविद्यालय स्वायत्ततामाथि हस्तक्षेप भएको आरोप, सरकारको कार्यविधिप्रति एमाले सांसदको आपत्ति

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुशासनको नाममा गम्भीर नीतिगत त्रुटि गर्दै गएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले हालै जारी गरिएको “विश्वविद्यालयका उपकुलपतिहरूको सिफारिस तथा छनोट सम्बन्धी एकीकृत कार्यविधि–२०८३” ले विश्वविद्यालयहरूको स्वायत्तता कमजोर बनाएको दाबी गरे।

उनका अनुसार देशले सुशासनको अपेक्षा गरिरहेको अवस्थामा सरकारले ल्याएका कतिपय निर्णयहरू त्यसको विपरीत देखिएका छन्। उनले नयाँ कार्यविधिले नियुक्ति प्रक्रियामा राजनीतिक प्रभावलाई अझै बलियो बनाएको टिप्पणी गरे।

बरालले उक्त कार्यविधिअनुसार कुलपतिबाट नै उपकुलपति नियुक्त हुने व्यवस्था गरिएको उल्लेख गर्दै छनोट समितिले सिफारिस गरे पनि अन्तिम निर्णय राजनीतिक नेतृत्व (कुलपति) मै रहने व्यवस्था उचित नभएको बताए। अधिकांश सार्वजनिक विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति हुने भएकाले नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा हट्न नसक्ने उनको तर्क थियो।

उनले यो व्यवस्थाले विश्वविद्यालयहरूको स्वायत्ततामा प्रत्यक्ष असर पार्ने भन्दै उपकुलपति छनोट तथा नियुक्ति प्रक्रिया तत्काल संशोधन गर्न सरकारसँग माग गरे।

सरकारले विश्वविद्यालयहरूमा उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको पनि जानकारी गराइएको छ।

Read More

प्रतिनिधिसभामा सांसद हर्क साम्पाङको आक्रोश: ‘यो देश ढुंगाको हो कि मान्छेको?’

काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्क साम्पाङले संसद्मा सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग लामो समयदेखि उठाइए पनि कुनै सुनुवाइ नभएको बताए। उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट नगर्ने र सभामुखले समेत आवश्यक रुलिङ नगर्ने अवस्थाले संसदीय प्रक्रियामाथि प्रश्न उठेको टिप्पणी गरे।

उनले यस्तो अवस्थाप्रति आक्रोश व्यक्त गर्दै “यो देश ढुंगाको हो कि मान्छेको?” भन्ने प्रश्नसमेत उठाए।

साम्पाङले पद, पोशाक वा भौतिक सुविधाले मात्र मानिसलाई मानवीय नबनाउने भन्दै जिम्मेवारी, नैतिकता र जवाफदेहिताले मात्र नेतृत्वलाई अर्थपूर्ण बनाउने धारणा राखे। उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने आवश्यकता दोहोर्‍याए।

Read More

प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध कायमै, सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्टिकरणको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध शुक्रबार पनि निरन्तर रहेको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

विरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराएका थिए, जसअनुसार उनीहरूले क्रमशः आफ्ना भनाइ राखिरहेका छन्।

प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धमा व्यक्त गरेको भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूले उक्त विषयमा प्रधानमन्त्रीबाट संसद्मै स्पष्ट जवाफ र आधिकारिक धारणा आउनुपर्ने माग राखेका छन्।

विपक्षी दलहरूको अवरोधका बीच सभामुखले दलहरूबीच सहमति कायम गरी संसद्को नियमित कामकारबाही अघि बढाउन आग्रह गरेका छन्।

Read More

कक्षा १२ परीक्षाफलको विस्तृत विवरण सार्वजनिक: उत्तीर्ण दर, ग्रेड र समग्र तथ्याङ्क खुलासा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन्।

सार्वजनिक नतिजाअनुसार समग्र उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ। नियमिततर्फ उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ भने आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

ग्रेडिङ विवरणअनुसार ३.६१ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ६४ हजार ८२१ जना छन्।

२.८१ देखि ३.२० जीपीए श्रेणीमा सबैभन्दा धेरै ९४ हजार २४९ विद्यार्थी रहेका छन्। २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना छन् भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ४ हजार ३०८ जना रहेका छन्।

त्यसैगरी १.६१ देखि २.०० जीपीए श्रेणीमा ९ जना विद्यार्थी रहेका छन्। बोर्डले विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा पोर्टलमार्फत हेर्न सक्ने जनाएको छ।

Read More