२०८३ श्रावण २२

राष्ट्रियसभाको बैठक आज

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रियसभामा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।