काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित पाँचवटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८३’ तथा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानवअधिकार समिति तथा पूर्वाधार विकास समितिको बैठक पनि बस्दै छ।
बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल गरिनेछ।
बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, बिहान १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् वितरण लाइन तथा विद्युत्का पोल व्यवस्थापनमा भएको ढिलाइका कारण सडक निर्माणमा परेको असरबारे छलफल गर्ने कार्यक्रम रहेको छ।




