काठमाडौं, भदौ १० । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकार तत्काल उद्धार, खोजी तथा राहतमा जुटेको छ। जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला प्रशासन कार्यालयका संयन्त्र प्रभावित क्षेत्रमा परिचालन भएका छन्। उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको सरकारले जनाएको छ।
उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन
मेडिकल टोलीसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकसमेत जारी छ।
प्रधानमन्त्री शाहले बाढीबाट उत्पन्न अवस्थाबारे तत्काल छलफल गरी आवश्यक निर्णय लिन बुधबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।



