२०८३ भाद्र १०

पाकिस्तानको सरकारी अस्पतालमा आगलागी, १४ नवजात शिशुको मृत्यु

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) को बाल वार्डमा आगलागी हुँदा १४ नवजात शिशुको मृत्यु भएको छ। अस्पतालका कार्यकारी निर्देशक इमरान सिकन्दरले शिशुहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

इस्लामाबाद जिल्ला प्रशासनका अनुसार आगलागी अस्पतालको एमसिएच वार्डको तेस्रो तलामा भएको हो। आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको थियो।

आगलागी नियन्त्रणमा लिएपछि वार्डमा रहेका शिशुहरूलाई तत्काल सघन उपचार कक्ष (आईसीयू)मा सारिएको प्रशासनले जनाएको छ। दुर्घटनाका बेला उक्त वार्डमा १५ जना नवजात शिशु भर्ना रहेको बताइएको छ।

अस्पतालकी प्रवक्ता डा. अनिला जलिलका अनुसार एसी युनिटबाट आगो सल्किएको र अक्सिजन सिलिन्डर तथा लाइनका कारण आगो तीव्र रूपमा फैलिएको थियो। यद्यपि प्रारम्भिक चरणमा उनले कुनै पनि शिशुको मृत्यु पुष्टि नभएको बताएकी थिइन्।

घटनाको वास्तविक कारण पत्ता लगाउन अतिरिक्त डेपुटी कमिसनर जनरलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले आगलागीको कारण तथा घटनाका अन्य पक्षबारे अनुसन्धान गर्नेछ।

घटनापछि इस्लामाबादका मुख्य आयुक्त र प्रहरी प्रमुखसमेत घटनास्थल पुगेका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Read More

रसुवा बाढीपछि सरकार एक्सनमा, उद्धारका लागि दुई हेलिकप्टर परिचालन

काठमाडौं, भदौ १० । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकार तत्काल उद्धार, खोजी तथा राहतमा जुटेको छ। जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला प्रशासन कार्यालयका संयन्त्र प्रभावित क्षेत्रमा परिचालन भएका छन्। उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको सरकारले जनाएको छ।

उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन

मेडिकल टोलीसहित नेपाली सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकसमेत जारी छ।

प्रधानमन्त्री शाहले बाढीबाट उत्पन्न अवस्थाबारे तत्काल छलफल गरी आवश्यक निर्णय लिन बुधबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

Read More

भोटेकोशी बाढीले विद्युत् आयोजनामा क्षति: कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीबाट रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए र देवीघाटलगायतका विद्युत् गृह प्रभावित भएका छन्। बाढीका कारण आयोजनाका संरचनामा क्षति पुगे पनि क्षतिको विस्तृत विवरण भने संकलन हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था बुझ्न प्राधिकरणले विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

बाढीबाट विद्युत् उत्पादन तथा प्रसारणसम्बन्धी संरचनामा थप क्षति भएको हुनसक्ने भएकाले घटनास्थलको अवस्था यकिन भएपछि मात्र विस्तृत विवरण सार्वजनिक हुने प्राधिकरणले जनाएको छ।

Read More

भोटेकोशी बाढी, सुरक्षाकर्मीसँग सम्पर्कविहीन

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको ठूलो बाढीपछि टिमुरे क्षेत्रमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीसँग सम्पर्क टुटेको छ। बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति भएको आशंका गरिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक अनुमान छ। टिमुरेमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवन भने सुरक्षित रहेको उनले बताए।

तर, कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग भने हालसम्म सम्पर्क हुन सकेको छैन। बाढीका कारण प्रभावित क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको जनाइएको छ।

सम्पर्कविहीन सुरक्षाकर्मीसँग सम्पर्क स्थापित गर्न तथा टिमुरे क्षेत्रको वास्तविक अवस्था बुझ्न प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Read More

रसुवामा भोटेकोशी बाढीपछि मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसबाट भएको क्षतिबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो।

भोटेकोशीमा आएको ठूलो बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ। बाढीका कारण स्थानीय बस्ती तथा भौतिक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले रसुवा, नुवाकोट, धादिङ तथा चितवनका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीबाट थप क्षति हुन नदिन उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने विषयमा कमाण्ड पोस्टको बैठकमा छलफल हुने बताइएको छ।

Read More

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित नापी कार्यालयमा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा साहविरुद्ध आरोपपत्र दर्ता गरेको हो।

आयोगले साहसँग ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरेको छ।

अख्तियारका अनुसार साहले २०४६ माघ १६ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिमा कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ बराबरको वैधानिक आय आर्जन गरेका थिए। तर, अनुसन्धानका क्रममा सो अवधिमा उनको खर्च तथा लगानी ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ पुगेको देखिएको आयोगले जनाएको छ।

जग्गा तथा सेयर खरिद, सवारीसाधनमा लगानी र ऋण–सापटी भुक्तानीलगायतका शीर्षकमा भएको खर्चलाई आधार मान्दा वैधानिक आम्दानीभन्दा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बढी रकम खर्च तथा लगानी गरेको पाइएको अख्तियारको भनाइ छ। उक्त रकमको वैध स्रोत खुलाउन नसकेको भन्दै आयोगले साहविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगले साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा व्यवस्थापन गर्ने उद्देश्यले उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत जग्गा र अन्य क्षेत्रमा लगानी गरेको जनाएको छ। गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमिन्त्रा देवीलाई समेत मुद्दामा प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम बिगोअनुसार कैद तथा जरिवाना, गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत र झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा थप सजायको मागदाबी गरेको छ।

Read More

मधेशमा सुरक्षा व्यवस्थापन प्रविधिमैत्री बनाउन प्रहरीलाई आधुनिक उपकरण हस्तान्तरण

काठमाडौं। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई विभिन्न सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्। मधेश प्रदेशको सुरक्षा व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीलाई सिसिटिभी प्रणाली मर्मतसम्बन्धी सामग्री, मेटल डिटेक्टर, वाल थ्रो गेटलगायतका सुरक्षा उपकरण हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री महतोले मधेश प्रदेशमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन र प्रविधियुक्त उपकरण उपलब्ध गराइएको बताए। हस्तान्तरण गरिएका सामग्रीको उचित संरक्षण, नियमित मर्मतसम्भार तथा पारदर्शी उपयोगमा ध्यान दिन उनले प्रहरीलाई आग्रह गरे।

मन्त्री महतोले मधेश प्रदेश सरकार गठन भएदेखि नै शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको बताए।

उनले सुरक्षा व्यवस्थापन सुरक्षा निकायको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै प्रदेश सरकार, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र, स्थानीय तह तथा सञ्चार क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। सबै पक्षबीचको सहकार्यबाट मात्रै नागरिकलाई सुरक्षित र विश्वसनीय वातावरण प्रदान गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले नेपाल प्रहरीले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। प्रहरीलाई प्रविधिमैत्री बनाउने सवालमा मधेश प्रदेश सरकारले गर्दै आएको सहयोग सराहनीय रहेको उनले उल्लेख गरे।

Read More

भोटेकोशी भीषण बाढी : चार जिल्ला उच्च जोखिममा, मुग्लिनसम्म सतर्कता

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानीको बहाव भोटेकोशी नदीमा प्रवेश गरेको हो। बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगिसकेको छ। बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए।

मुग्लिनसम्म अति उच्च जोखिम, पाँच घण्टाभित्र बाढी पुग्नसक्ने

विभागका अनुसार त्रिशूली नदी हुँदै मर्स्याङ्दी नदीसँगको दोभान मुग्लिनसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्नसक्ने अनुमान गरिएको छ। त्यसैले आज बेलुकीसम्म नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पराजुलीले आग्रह गरेका छन्।

बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका अन्य प्रमुख सडकखण्डमा आवागमन नगर्न विभागले सुझाव दिएको छ। सम्भव भएसम्म जोखिमयुक्त क्षेत्रमा यातायातसमेत बन्द गर्न विभागले आग्रह गरेको छ।

त्रिशूली नदीमा पानीको सतह बढेसँगै तादी, बूढीगण्डकी र मलेखुलगायतका सहायक नदीमा समेत पानीको बहाव बढ्न वा पानी फर्किन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।

वर्षाका कारण नभई आकस्मिक रूपमा ठूलो बाढी आएको देखिएकाले तिब्बत क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि बाढीको वास्तविक कारणबारे अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।

बाढीको स्रोत र कारणबारे थप जानकारी लिन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको तथा उपग्रहबाट समेत अध्ययन भइरहेको बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीले जानकारी दिए।

Read More

गुल्मीमा ट्रकको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मंगलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरेर राखिएको लु १ ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई ठक्कर दिएका थिए।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मंगलबार राति नै बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो। उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रहरीले ट्रक र चालक खत्रीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

रसुवामा फेरि ठूलो बाढी, टिम्बुरे भन्सारमा राखिएका गाडीमा क्षति

काठमाडौं। गत वर्ष असारमा लेन्दे खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको १४ महिनापछि रसुवामा फेरि ठूलो बाढी आएको छ। बाढीका कारण टिम्बुरे भन्सारमा राखिएका गाडीमा ठूलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

गत असार २३ गते नेपाल–चीन सीमास्थित रसुवागढी क्षेत्रमा भोटेकोसी खोलामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो। लेन्दे खोला उर्लिएपछि भोटेकोसीमा आएको बाढीबाट १९ जनाको मृत्यु भएको थियो। बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगेपछि रसुवागढी नाकाबाट हुने व्यापार अझै सहज हुन सकेको छैन।

हाल भोटेकोसी नदीमा बाढीको बहाव उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान करिब साढे ९ बजे जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा पानीको बहाव उच्च रहेको उल्लेख गरिएको छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

Read More