२०८३ कार्तिक ८

विपद्को समयमा विदेशमा रहेका नेपालीको सहयोग महत्त्वपूर्ण : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिको यस घडीमा विदेशमा रहेका नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले नेपालमा दुःख तथा प्राकृतिक प्रकोप पर्दा विदेशमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएको स्मरण गरे। यसपटक पनि विदेशमा रहेका नेपालीहरूले सहयोग गर्दै विपद्मा परेका नागरिकको पीडामा साथ दिने विश्वास उनले व्यक्त गरे।

लामिछानेले विपद्को अवस्थाबारे संसद् र आम नागरिकलाई स्पष्ट तथा तथ्यपरक जानकारी गराउनु सरकारको प्रमुख दायित्व भएको बताए। सरकारले पछिल्लो विपद्बारे जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको आफूले सूचना पाएको उल्लेख गर्दै उनले सरकारले जिम्मेवारीपूर्वक तथ्यहरू सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।

विपद्को यस कठिन समयमा सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्ने र आम नागरिक तथा विदेशमा रहेका नेपालीहरूले समेत हातेमालो गर्दै सहयोग गर्नुपर्नेमा लामिछानेले जोड दिए।

Read More

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै बुर्लाकोटीले बाढीका कारण हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको बताउँदै जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठूलो क्षति पुगेको जानकारी दिए। उनले क्षतिको यकिन विवरण अझै पूर्ण रूपमा प्राप्त नभएकाले विपद्को अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताए।

उनका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलगायतका जिल्लामा बाढीको प्रभाव परेको छ। प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा स्वास्थ्य सेवा पुर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए।

बुर्लाकोटीले गोरखाबाट गोसाइँकुण्ड यात्रामा गएका दुई माइक्रोबस र एक बसमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको र त्यसमा मानवीय क्षति भएको जानकारी आफूले पाएको बताए। दोलखाबाट रसुवामा काम गर्न गएका नागरिकसमेत बाढीको चपेटामा परेको सूचना प्राप्त भएको उनको भनाइ थियो।

प्रभावित क्षेत्रका सांसदहरू उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिँदै उनले सरकार, राजनीतिक दल, सरकारी निकाय, विभिन्न संघसंस्था, पूर्वसैनिक तथा पूर्वप्रहरीसहित सबै पक्षलाई उद्धार र राहतमा परिचालन गर्न आग्रह गरे।

बुर्लाकोटीले राष्ट्रिय विपद् कोष सञ्चालन गर्न तथा आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग माग गरे। साथै, विषम परिस्थितिमा मित्रराष्ट्रको सहयोग लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्नेमा उनले जोड दिए।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयअन्तर्गत छलफल जारी छ।

Read More

रसुवाको बाढीले मालवाहक सवारीसाधन र यातायात व्यवसायी प्रभावित

काठमाडौँ । रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुर प्रभावित भएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अनुसार टिमुरे भन्सार यार्डमा पार्किङ गरिएका मालवाहक सवारीसाधन बाढीले बगाएको छ। यस्तै, बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन, व्यवसायी तथा मजदुरसमेत सम्पर्कविहीन रहेको बताइएको छ। महासंघले सम्पर्कविहीन व्यवसायी तथा मजदुरलाई सम्बन्धित संस्था र सुरक्षा निकायको सम्पर्कमा ल्याउन पहल भइरहेको जनाएको छ।

बाढीको जोखिम अझै कायमै रहेकाले नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन महासंघले व्यवसायी, मजदुर तथा सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।

महासंघले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैमा अपिल गरेको छ।

WhatsApp Image 2026-08-26 at 1.53.15 PM

Read More

रसुवामा बाढीपछि १३ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ जना र मैलुङबाट चार जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका हुन्। बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले उनीहरूको अवस्थाबारे यकिन हुन सकेको छैन। सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सिनामङ्गलस्थित विपद् उद्धार गणबाट ६० जनाको टोली रसुवातर्फ प्रस्थान गरिसकेको छ। सशस्त्र प्रहरीको टोली रसुवादेखि नवलपरासीको त्रिवेणीसम्म बाढीजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यमा परिचालित रहेको जनाइएको छ।

सुरक्षा निकायका अनुसार बाढीका कारण रसुवागढी क्षेत्रमा कार्यरत केही कर्मचारी, पर्यटक तथा सर्वसाधारणसमेत सम्पर्कबाहिर रहेका छन्। उनीहरूको अवस्थाबारे पनि खोज तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको छ।

Read More

त्रिशूलीको भीषण बाढीले सडक र पुलमा ठूलो क्षति

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भौतिक पूर्वाधारतर्फ ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार नदी किनारका विभिन्न स्थानमा बाढीले कम्तीमा १९ वटा पुलमा क्षति पुर्‍याएको छ भने ४० किलोमिटरभन्दा बढी सडक भत्किनुका साथै कटान भएको छ।

बाढीका कारण अवरुद्ध सडकखण्डमा यातायात सेवा पुनःसञ्चालनमा ल्याउन सडक विभागले युद्धस्तरमा काम अघि बढाएको जनाएको छ। क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायत हेभी मेसिन परिचालन गरी भग्नावशेष हटाउने, सडक खुलाउने तथा क्षतिको विस्तृत मूल्यांकन गर्ने काम भइरहेको छ।

त्रिशूली करिडोरका विभिन्न सडक तथा पुलमा पुगेको व्यापक क्षतिका कारण समग्र आवागमन ठप्पप्रायः बनेको छ। यातायात सेवा सहज बनाउन तथा प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउन सडक विभागले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ।

हालसम्म प्राप्त विवरण प्रारम्भिक मात्रै रहेकाले स्थलगत निरीक्षण तथा तथ्याङ्क सङ्कलनपछि क्षतिको वास्तविक परिमाण अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Read More

बाढीका कारण रसुवा र नुवाकोटका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन्।

नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे बैंकलगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन्।

प्रारम्भिक जानकारीअनुसार केही शाखामा ठूलो भौतिक क्षति पुगेको छ भने केही संरचना बाढीले बगाएको पाइएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले प्रभावित शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको र त्यसपछि मात्रै क्षतिको विस्तृत विवरण संकलन गरिने बताए।

बैंक तथा वित्तीय संस्था परिसंघले पनि अहिले भौतिक क्षतिको विवरण संकलनभन्दा कर्मचारीको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको उद्धारका लागि समन्वय गर्न प्राथमिकता दिइएको जनाएको छ।

Read More

भोटेकोसी बाढीपछि उद्धार तथा उपचारका लागि ट्रमा सेन्टरको टोली रसुवा प्रस्थान

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको शीघ्र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरको टोली रसुवा गएको छ।

घाइतेहरूको तत्काल उपचारका लागि ट्रमा सेन्टरको टोली हेलिकोप्टरमार्फत रसुवा पुगेको हो। सम्भावित घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै १०० शय्या तयारी अवस्थामा राखिएको छ।

यसैगरी, काठमाडौँका ट्रमा सेन्टर, पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल र नेपाल प्रहरी अस्पताललाई समेत आवश्यक उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

राष्ट्रिय ट्रमा सेन्टरबाट रसुवा खटिएको टोलीमा डा. विवेक भण्डारी, डा. राकेश मिश्र, डा. सुरेन्द्र महर्जन, डा. अविनाश कार्की, डा. विप्लव शर्मा, डा. सुदीप कोइराला, स्टाफ नर्स साधना भट्टराई र स्टाफ नर्स सरस्वती लामा रहेका छन्।

Read More

भोटेकोशी बाढीमा घाइते सात जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रतिनिधि कमल दाहालका अनुसार प्रभावित क्षेत्रबाट छ पुरुष र एक महिलासहित सात जना घाइतेको उद्धार गरी धुन्चे अस्पताल ल्याइएको हो। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

Read More

बाढी उद्धारमा निजी हेलिकप्टरलाई उडान अनुमति नचाहिने

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन निजी हेलिकप्टरलाई विशेष अनुमति नलिई उडान गर्न सकिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उद्धार कार्यमा खटिने निजी हेलिकप्टरका लागि यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार आवश्यक पर्ने भएकाले प्रशासनिक प्रक्रियाका कारण उडानमा ढिलाइ नहोस् भन्ने उद्देश्यले निजी हेलिकप्टरलाई सहज रूपमा परिचालन गर्न बाटो खोलिएको हो।

यसैबीच, उद्धार तथा राहतमा परिचालित हेलिकप्टरलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन नुवाकोटको त्रिशूलीमा इन्धनसहितको ट्यांकर पठाइएको छ।

नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट हवाई इन्धन बोकेको ट्यांकर तत्काल त्रिशूलीतर्फ पठाएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिने हेलिकप्टरमा इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।

Read More

भोटेकोशीमा भीषण बाढीपछि तीन ठूला सडक बन्द गर्न आग्रह

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो।

भोटेकोशीमा आएको बाढीका कारण नदीको बहाव तीव्र रूपमा बढेको छ। यसबाट सडक क्षेत्रमा पहिरो, कटान तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले सम्भावित दुर्घटना रोक्न यात्रा स्थगित गर्न प्राधिकरणले अनुरोध गरेको हो।

जोखिमयुक्त सडकखण्डमा आवागमन रोक्न सम्बन्धित स्थानीय तह र प्रशासनलाई आवश्यक व्यवस्था मिलाउनसमेत प्राधिकरणले आग्रह गरेको छ। सवारीसाधन तथा यात्रुको आवागमन नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि भनिएको छ।

भोटेकोशीको बाढीको प्रभाव त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्नसक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले चेतावनी दिएको छ।

प्राधिकरणले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।

बाढी तथा पहिरोका कारण जुनसुकै बेला सडक अवरुद्ध हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र सवारीसाधन सुरक्षित स्थानमा मात्र रोक्न प्राधिकरणले अनुरोध गरेको छ।

Read More