२०८३ भाद्र १०

बाढीका कारण रसुवा र नुवाकोटका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन्।

नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे बैंकलगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन्।

प्रारम्भिक जानकारीअनुसार केही शाखामा ठूलो भौतिक क्षति पुगेको छ भने केही संरचना बाढीले बगाएको पाइएको छ। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले प्रभावित शाखामा कार्यरत कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको र त्यसपछि मात्रै क्षतिको विस्तृत विवरण संकलन गरिने बताए।

बैंक तथा वित्तीय संस्था परिसंघले पनि अहिले भौतिक क्षतिको विवरण संकलनभन्दा कर्मचारीको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको उद्धारका लागि समन्वय गर्न प्राथमिकता दिइएको जनाएको छ।