२०८३ भाद्र १०

त्रिशूलीको भीषण बाढीले सडक र पुलमा ठूलो क्षति

काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भौतिक पूर्वाधारतर्फ ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार नदी किनारका विभिन्न स्थानमा बाढीले कम्तीमा १९ वटा पुलमा क्षति पुर्‍याएको छ भने ४० किलोमिटरभन्दा बढी सडक भत्किनुका साथै कटान भएको छ।

बाढीका कारण अवरुद्ध सडकखण्डमा यातायात सेवा पुनःसञ्चालनमा ल्याउन सडक विभागले युद्धस्तरमा काम अघि बढाएको जनाएको छ। क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायत हेभी मेसिन परिचालन गरी भग्नावशेष हटाउने, सडक खुलाउने तथा क्षतिको विस्तृत मूल्यांकन गर्ने काम भइरहेको छ।

त्रिशूली करिडोरका विभिन्न सडक तथा पुलमा पुगेको व्यापक क्षतिका कारण समग्र आवागमन ठप्पप्रायः बनेको छ। यातायात सेवा सहज बनाउन तथा प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउन सडक विभागले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ।

हालसम्म प्राप्त विवरण प्रारम्भिक मात्रै रहेकाले स्थलगत निरीक्षण तथा तथ्याङ्क सङ्कलनपछि क्षतिको वास्तविक परिमाण अझै बढ्न सक्ने अनुमान गरिएको छ।