२०८३ भाद्र १०

बाढी उद्धारमा निजी हेलिकप्टरलाई उडान अनुमति नचाहिने

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन निजी हेलिकप्टरलाई विशेष अनुमति नलिई उडान गर्न सकिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उद्धार कार्यमा खटिने निजी हेलिकप्टरका लागि यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार आवश्यक पर्ने भएकाले प्रशासनिक प्रक्रियाका कारण उडानमा ढिलाइ नहोस् भन्ने उद्देश्यले निजी हेलिकप्टरलाई सहज रूपमा परिचालन गर्न बाटो खोलिएको हो।

यसैबीच, उद्धार तथा राहतमा परिचालित हेलिकप्टरलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन नुवाकोटको त्रिशूलीमा इन्धनसहितको ट्यांकर पठाइएको छ।

नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट हवाई इन्धन बोकेको ट्यांकर तत्काल त्रिशूलीतर्फ पठाएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिने हेलिकप्टरमा इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।