२०८३ भाद्र १०

भोटेकोशीमा भीषण बाढीपछि तीन ठूला सडक बन्द गर्न आग्रह

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रमुख सडकखण्डमा तत्काल यात्रा नगर्न आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड र मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो।

भोटेकोशीमा आएको बाढीका कारण नदीको बहाव तीव्र रूपमा बढेको छ। यसबाट सडक क्षेत्रमा पहिरो, कटान तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले सम्भावित दुर्घटना रोक्न यात्रा स्थगित गर्न प्राधिकरणले अनुरोध गरेको हो।

जोखिमयुक्त सडकखण्डमा आवागमन रोक्न सम्बन्धित स्थानीय तह र प्रशासनलाई आवश्यक व्यवस्था मिलाउनसमेत प्राधिकरणले आग्रह गरेको छ। सवारीसाधन तथा यात्रुको आवागमन नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि भनिएको छ।

भोटेकोशीको बाढीको प्रभाव त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्नसक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले चेतावनी दिएको छ।

प्राधिकरणले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ।

बाढी तथा पहिरोका कारण जुनसुकै बेला सडक अवरुद्ध हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र सवारीसाधन सुरक्षित स्थानमा मात्र रोक्न प्राधिकरणले अनुरोध गरेको छ।