२०८३ भाद्र १०

मधेशमा सुरक्षा व्यवस्थापन प्रविधिमैत्री बनाउन प्रहरीलाई आधुनिक उपकरण हस्तान्तरण

काठमाडौं। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई विभिन्न सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्। मधेश प्रदेशको सुरक्षा व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीलाई सिसिटिभी प्रणाली मर्मतसम्बन्धी सामग्री, मेटल डिटेक्टर, वाल थ्रो गेटलगायतका सुरक्षा उपकरण हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री महतोले मधेश प्रदेशमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधन र प्रविधियुक्त उपकरण उपलब्ध गराइएको बताए। हस्तान्तरण गरिएका सामग्रीको उचित संरक्षण, नियमित मर्मतसम्भार तथा पारदर्शी उपयोगमा ध्यान दिन उनले प्रहरीलाई आग्रह गरे।

मन्त्री महतोले मधेश प्रदेश सरकार गठन भएदेखि नै शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको बताए।

उनले सुरक्षा व्यवस्थापन सुरक्षा निकायको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै प्रदेश सरकार, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र, स्थानीय तह तथा सञ्चार क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। सबै पक्षबीचको सहकार्यबाट मात्रै नागरिकलाई सुरक्षित र विश्वसनीय वातावरण प्रदान गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले नेपाल प्रहरीले नागरिक सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए। प्रहरीलाई प्रविधिमैत्री बनाउने सवालमा मधेश प्रदेश सरकारले गर्दै आएको सहयोग सराहनीय रहेको उनले उल्लेख गरे।

Read More

भोटेकोशी भीषण बाढी : चार जिल्ला उच्च जोखिममा, मुग्लिनसम्म सतर्कता

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानीको बहाव भोटेकोशी नदीमा प्रवेश गरेको हो। बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगिसकेको छ। बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए।

मुग्लिनसम्म अति उच्च जोखिम, पाँच घण्टाभित्र बाढी पुग्नसक्ने

विभागका अनुसार त्रिशूली नदी हुँदै मर्स्याङ्दी नदीसँगको दोभान मुग्लिनसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्नसक्ने अनुमान गरिएको छ। त्यसैले आज बेलुकीसम्म नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पराजुलीले आग्रह गरेका छन्।

बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका अन्य प्रमुख सडकखण्डमा आवागमन नगर्न विभागले सुझाव दिएको छ। सम्भव भएसम्म जोखिमयुक्त क्षेत्रमा यातायातसमेत बन्द गर्न विभागले आग्रह गरेको छ।

त्रिशूली नदीमा पानीको सतह बढेसँगै तादी, बूढीगण्डकी र मलेखुलगायतका सहायक नदीमा समेत पानीको बहाव बढ्न वा पानी फर्किन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।

वर्षाका कारण नभई आकस्मिक रूपमा ठूलो बाढी आएको देखिएकाले तिब्बत क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि बाढीको वास्तविक कारणबारे अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।

बाढीको स्रोत र कारणबारे थप जानकारी लिन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको तथा उपग्रहबाट समेत अध्ययन भइरहेको बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीले जानकारी दिए।

Read More

गुल्मीमा ट्रकको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मंगलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरेर राखिएको लु १ ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई ठक्कर दिएका थिए।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मंगलबार राति नै बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो। उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रहरीले ट्रक र चालक खत्रीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

रसुवामा फेरि ठूलो बाढी, टिम्बुरे भन्सारमा राखिएका गाडीमा क्षति

काठमाडौं। गत वर्ष असारमा लेन्दे खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको १४ महिनापछि रसुवामा फेरि ठूलो बाढी आएको छ। बाढीका कारण टिम्बुरे भन्सारमा राखिएका गाडीमा ठूलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

गत असार २३ गते नेपाल–चीन सीमास्थित रसुवागढी क्षेत्रमा भोटेकोसी खोलामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो। लेन्दे खोला उर्लिएपछि भोटेकोसीमा आएको बाढीबाट १९ जनाको मृत्यु भएको थियो। बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगेपछि रसुवागढी नाकाबाट हुने व्यापार अझै सहज हुन सकेको छैन।

हाल भोटेकोसी नदीमा बाढीको बहाव उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान करिब साढे ९ बजे जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा पानीको बहाव उच्च रहेको उल्लेख गरिएको छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

Read More

ओखलढुङ्गामा विद्युत् सर्ट भएर आगलागी, दुई घर जलेर नष्ट

काठमाडौं। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। मंगलबार साँझ भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको थियो। आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। घटनामा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। उनको घरमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

Read More

किशोरमा बढ्दो लामो कपालको मोह, विद्यालयमा व्यवस्थापन चुनौती

काठमाडौं पछिल्लो समय विद्यालय तथा कलेज तहका किशोरहरूमा लामो कपाल राख्ने मोह बढ्दै गएको छ। सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेका छन्। यसले अभिभावक र विद्यालयबीच कपालको विषयलाई लिएर थप चुनौतीसमेत सिर्जना गरेको छ।

चितवनको कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल छोटो बनाओस् भन्ने लाग्छ। विद्यालयबाट समेत छोराको कपाल काट्न आग्रह गर्दै फोन आएपछि उनले छोरालाई सम्झाए। तर छोराले नमानेपछि जबर्जस्ती नगरेको उनी बताउँछन्।

भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडिसकेका उनी कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि आफ्नो आग्रह नटेर्ने बताउँछन्।

यी घटना प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय धेरै अभिभावकको गुनासो छोराहरूले कपाल छोटो बनाउन नमानेको भन्ने हुने गरेको छ। कतिपय विद्यार्थी लामो कपाल राख्न मात्र नभई त्यसलाई कोर्ने वा मिलाउनेभन्दा जस्तो छ त्यस्तै राख्नसमेत रुचाउने गरेका छन्।

विद्यालयले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाउन नपाउने व्यवस्था भएपछि कतिपय विद्यालयले अभिभावकको सहयोग लिन थालेका छन्। तर कपाल काट्न दबाब दिएको भन्दै विद्यार्थीले हेलो सरकार तथा प्रहरीमा समेत उजुरी गर्ने गरेको पाइएको छ।

भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाबमा कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी गरेको जानकारी आफूले पाएका छन्। विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा रहने तथा अभिभावकबाट टाढा रहेका विद्यार्थी कपाल छोटो बनाउन कम इच्छुक देखिएको उनको भनाइ छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले विद्यार्थीलाई कपाल काट्न भन्न छाडिएको बताए। उनका अनुसार देशभर ३५ भन्दा बढी निजी विद्यालयविरुद्ध विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाएको भन्दै हेलो सरकारमा उजुरी परेको जानकारी आफूले पाएका छन्।

विशेषगरी कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीमा लामो कपाल राख्ने प्रवृत्ति बढी देखिएको उनको भनाइ छ। “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था छैन,” उनले भने।

सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनमा विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाउने व्यवस्था गरिएको छ। विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने तथा काट्न लगाउने विषयमा गुनासो बढेपछि यस्तो व्यवस्था गरिएको हो।

नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न वा गराउन नपाइने उल्लेख छ। विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्यसमेत निषेध गरिएको छ।

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार इन्टरनेट तथा सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि भएकाले किशोरमा सेलिब्रेटी तथा विश्वव्यापी फेसनको प्रभाव बढेको छ।

पहिले विद्यार्थीले क्याम्पस पुगेपछि चलचित्र तथा अन्य माध्यमबाट विश्वका गतिविधि थाहा पाएर त्यसको अनुकरण गर्ने गरे पनि अहिले बाल्यकालदेखि नै त्यस्ता सामग्रीमा पहुँच हुने भएकाले अनुकरण गर्ने प्रवृत्ति कम उमेरमै विकास भएको उनको भनाइ छ।

“नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो। जे चिज सेलिब्रेटीले गर्छन्, त्यसको नक्कल उनीहरू गर्न चाहन्छन्,” उनले भने।

उनका अनुसार लामो कपाल राख्नु आफैंमा नराम्रो होइन। तर त्यसको स्याहार–सुधारमा लाग्ने समय र खर्चका कारण पढाइमा असर पर्न सक्ने पक्षलाई पनि ध्यान दिन आवश्यक छ। किशोरावस्थामा घर तथा विद्यालयबाट लामो कपाल नराख्न गरिएको आग्रह नमान्नु कतिपय अवस्थामा आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा पनि बुझ्न सकिने उनको भनाइ छ।

विद्यालय तथा कलेज तहका किशोरहरू परम्परागत छोटो कपालको शैलीभन्दा फरक आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेका छन्। सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले लामो कपाल राख्ने प्रवृत्तिलाई थप बढावा दिएको देखिन्छ।

विज्ञहरूका अनुसार लामो कपाल हुँदा सफा गर्न कठिन हुने, दैनिक हेरचाहमा बढी समय लाग्ने तथा खर्चसमेत बढ्ने गर्छ। उचित स्याहार नगर्दा जुम्रा, चाया तथा अन्य स्वास्थ्य समस्या देखिन सक्छन्।

विशेषगरी धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहोर जम्ने भएकाले गर्मी मौसममा समस्या बढी हुनसक्छ। त्यसैले कपालको लम्बाइभन्दा पनि व्यक्तिगत सरसफाइ, नियमित हेरचाह र विद्यार्थीको स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ।

Read More

नेपाल ‘ए’ले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग खेल्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपाल आज प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले र दोस्रो खेलमा बंगालदेश हाइप्रफरमेन्स–११ सँग ९ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा होबर्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो।

अष्ट्रेलियन क्यापिटल टेरिटोरीले प्रतियोगितामा खेलेका तीनवटै खेलमा पराजय बेहोरेको छ। त्यसैले नेपाल ‘ए’लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रनेछ।

नेपाल तीन खेलबाट दुई अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटोरी भने तीनवटै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा नवौँ स्थानमा रहेको छ।

Read More

हजरत मोहम्मदको १५०१औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायले हजरत मोहम्मदलाई आफ्ना सन्देष्टाका रूपमा मान्ने गर्दछ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना जानुभएको थियो। उहाँको जन्म भएको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको मानिन्छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।

मक्का–मदिना मुस्लिम समुदायका प्रमुख तीर्थस्थल

मक्का र मदिना मुस्लिम समुदायका प्रमुख धार्मिक तथा तीर्थस्थलका रूपमा परिचित छन्। मुस्लिम समुदायको विश्वासअनुसार पैगम्बर मोहम्मदले उपदेश दिने क्रममा मक्कामै कुरान अवतरण भएको थियो। कुरान अवतरणपछि मक्का इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएको मानिन्छ।

यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा मानिँदै आएको थियो। त्यसैले इस्लाम धर्मावलम्बीले आफ्नो जीवनमा कम्तीमा एकपटक मक्का–मदिना पुगेर हज गर्ने इच्छा राख्ने गर्छन्।

इस्लाम धर्ममा महत्वपूर्ण योगदान पुर्‍याएका पैगम्बर मोहम्मदका उपदेशलाई स्मरण गर्दै जन्मजयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। यस अवसरमा ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिने जनाइएको छ।

काठमाडौंस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ। जन्मजयन्तीका अवसरमा सरकारले आज इस्लाम धर्मावलम्बीका लागि सार्वजनिक बिदासमेत दिएको छ।

Read More

प्रधानमन्त्री शाहले आज सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्नेछन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्रीसँग प्रश्न गर्न ११ सांसदको प्रश्न दर्ता

प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। अधिकतम १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो तोकिएको कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।

संसद् सचिवालयका अनुसार रास्वपाका सांसदले सातवटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा प्रश्न मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने तोकिएको कोटाअनुसार नै प्रश्न दर्ता भएको संसद् सचिवालयले जनाएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका थिए। सोहीअनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराएका छन्।

नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ तथा नेकपा (एमाले) बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले पनि प्रश्न दर्ता गराएका छन्।

यस्तै, श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्ने तयारी गरेका छन्।

यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। सोहीअनुसार आजको बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको हो।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश
दिउँसो प्रदेशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति हिमाली भूभागका धेरै तथा पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

मधेस प्रदेश
दिउँसो प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती प्रदेश
दिउँसो सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। राति हिमाली भूभागका धेरै तथा पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

गण्डकी प्रदेश
दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। राति हिमाली भूभागका धेरै तथा पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ। पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश
दिउँसो पहाडी भूभागका धेरै र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। राति पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा वर्षाको सम्भावना छ। पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

कर्णाली प्रदेश
दिउँसो तथा राति पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश
दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। राति पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनसमेत सम्बन्धित सबैलाई अनुरोध गरिएको छ

Read More